सन्दीप राना |
मुलुकमा भएको ताजा सत्ता ढाल्ने तथा बनाउने घटनाक्रममा जुन गतिविधि देख्न पाइएको छ, यसबाट पक्कै पनि देशको हित भइरहेको देखिन्न । देशमा राजनीति त खुब भयो तर राजनैतिकता भएन । विशेष परस्थितिबाहेक हिजोको गठबन्धन साझेदारीले आज विपक्षसँग मिलेर समर्थन फिर्ता लिनु, आजको विपक्षसँग भोलि गएर सत्ताका लागि हात मिलाउनु जस्ता क्रियाकलापले जनताको मतलाई कहाँ न्याय गर्छ ? यो बुझ्न कठिन भएको छ । सत्ताप्राप्तिका लागि राजनीतिक नैतिकताविपरीत भएका खेलले मुलुकलाई अस्थिरतातिर लगेको मात्र छैन, बाह्य शक्तिलाई नेपालमा खेल्ने पर्याप्त स्थानसमेत उपलब्ध हुने सम्भावना बनाएको छ । मुलुकले बृहत्तर संविधान पाओस्, जसको माध्यमबाट राजनीतिक संक्रमणबाट पार पाइयोस्, मुलुकमा शान्ति र समृद्धि बढोस् भन्ने चाहनाको साथ नेपाली जनताले दुई–दुईवटा महँगो संविधानसभा चुनावको भार खेपे । बुलेटबाट ब्यालेट सिस्टमको विश्वासमा आएको माओवादी पार्टीदेखि लिएर सबै पुराना–नयाँ, ठूला–साना दल आ–आफ्ना नीति, सिद्धान्त र घोषणापत्रसहित जनतासामु मत माग्न पुगे । जनताले ती पार्टीका नीति, सिद्धान्त र घोषणापत्रका आधारमा नै मताधिकारका माध्यमबाट दलहरूलाई चुनेर पठाए । कुन पार्टीले नेतृत्व गर्ने, कुन दलले प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्ने चुनावको नजिताले किटान गरिसकेको थियो । लोकतन्त्रको पद्धति पनि यही नै हो र अभ्यास पनि । तर, जनताको माझबाट राजधानी आइसकेपछि जनताको मतलाई उपहासको विषय बनाउँदै लोकतान्त्रिक अभ्यासका नाममा नेपालमा सत्तातन्त्र अभ्यास हुन थाल्यो, जुन दुर्भाग्यपूर्ण हो । यो सरासर लोकतन्त्रको दुरुपयोग हो । साथसाथै जनताको मतमाथि धोका पनि । राष्ट्रिय सहमतिको नाम लिएर पटक–पटक सरकार ढाल्नु एवंं बनाउनु राष्ट्रहित होइन । वर्तमान समयमा संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति जरुरी हो । तर, राष्ट्रिय सहमतिको सरकार नै भन्ने जरुरी छैन । राष्ट्रिय सहमति जुटाउने कार्य सत्तापक्षको हो र कार्य गर्न पनि दिनु पर्छ । यसमा प्रमुख विपक्षी दलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यही नै लोकतन्त्रको सच्चा अभ्यास हो । प्राकृतिक स्रोतले सम्पन्न नेपालका लाखौँ युवा रोजगारका लागि बिदेसिनु परेको छ । कृषिप्रधान देशको कृषिनीति र अवस्था निराशाजनक छ । प्राकृतिक सौन्दर्य र अनेक इतिहास बोकेको मुलुकको पर्यटन उद्योग धराशयी अवस्थामा छ । हाम्रो अमूल्य जलस्रोतले सदुपयोगको बाटो हेरिराखेको छ । अनगिन्ती जडीबुटी अलपत्र छन् । यो सम्पूर्ण साधनस्रोतलाई व्यवस्थित गरेर मुलुकलाई समृद्ध बनाउने सार्थक सपनासहितका नेपाली जनता निकास खोज्दै छन् । कुनै पनि मतदाताले मताधिकार प्रयोग गर्नुअघि कुन नीति, सिद्धान्त र घोषणापत्र आफ्ना लागि योग्य छन् भन्ने पक्कै सोच्छ । यो उसको पूर्ण अधिकार पनि हो । आउँदो समयमा लोकतान्त्रिक पद्धतिद्वारा चुनाव जितेर सदनमा पुग्ने दलले लोकतन्त्रको सही अभ्यास अपनाउनु जरुरी छ । अंकगणतीय आधारमा नीति र सिद्धान्तविपरीत पार्टीसँग गठजोड गरी पटक–पटक सरकार बनाउने र ढाल्ने परिपाटीको अन्त्य होस् । यो आमजनचाहना हो । बहुदलीय व्यवस्थामा कुनै एक दलले मात्र बहुमत या सरकार बनाउन पर्याप्त मत हासिल नगर्ला तर कमसेकम यस्तो परस्थितिमा चुनावी मैदानमा जनतासामु मत माग्न जानुपूर्व नै केही नैतिक रेखा बन्नु आवश्यक छ । नीति सिद्धान्तका आधारमा सहयोगी दल या गठबन्धनको अभ्यास होस् ताकि जनताको मतको उचित सम्मान हुनेछ । कुनै पनि राजनीतिक दलले आफ्नो नीति, सिद्धान्त र घोषणापत्रलाई आधार बनाएर सत्ता अभ्यास गर्ने परिपाटी बनोस् । राजनीतिमा राजनैतिकता र राष्ट्रनीति सर्वोपरि होस् । स्वदेश र विदेशमा रहेका आमनेपालीको चाहना यही हो । यसका लागि सबैले खबरदारी गरे मात्रै लोकतन्त्र सुदृढ र जीवित हुनेछ ।
(हाल नयाँदिल्लीमा रहेका राना नेपाली कांग्रेससँग सम्बद्ध छन्)