मृत्यु भइसकेकाको नाममा सामाजिक सुरक्षा भत्ता

Unknown
0
जाजरकोट, असोज २८ – जाजरकोटको लहँ गाँउ विकास समितिमा ५ सय ६ जनाको नाममा नक्कली भरपाई गराएर सामाजिक सुरक्षा भत्ता तथा दलित बाल अनुदान भत्ता ठगी गरेको पाइएको छ । सामाजिक सुरक्षा भत्तामा भएको अनियमितताबारे स्थलगत अध्ययनका लागि लहँ पुगेको अख्तियारको एक टोलीले १ सय ५६ जनाको सामाजिक सुरक्षा भत्ता र ३ सय ५० जनाको दलित बालअनुदान रकम वितरण गरेको नक्कली कागजात फेला पारेको हो ।
रकम हिनामीनाको स्थलगत अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतबाट अनुसन्धान अधिकृत खीम खड्का र पूर्ण बहादुर गुरुङसहितको टोली लँह पुगेको थियो । ‘नागरिकता प्रमाणपत्र नभएका, उमेर नपुगेका, मृत्यु भैसकेका र गाउँमा हुँदै नभएका ब्यक्तिको नाममा फर्जी भरपाई बनाएर भत्ता घोटाला गरेको पाइयो’ अख्तियारका अनुसन्धान अधिकृत खीम खड्काले भन्नुभयो, ‘२७ वर्षअघि मृत्यु भैसकेका ब्यक्तिको नाममासमेत भत्ता बुझेकोे भरपाई फेला परेको छ ।’ 
टोलीले एक साता लगाएर लहँ गाविसको ९ वटै वडाका बासिन्दासँग जानकारी लिएपछि रकम हिनामीना भएको फेला परेको हो । गएको १२ वर्षदेखि भत्ताको रकम घोटाला हुँदै आएको पाइएको हो । लहँ गाविसमा सामाजिक सुरक्षा भत्ता घोटाला प्रकरणमा १२ वर्ष अघिदेखिका गाविसका कर्मचारी छानबीनको दायरामा परेको अख्तियार सुर्खेतका क्षेत्रीय प्रमुख डिल्लीराम शर्माले बताउनुभयो । ढिलै भएपनि दोषीलाई कारवाही गरेर छाड्ने शर्माको अठोट छ । 
गाविस सचिव लगायतका कर्मचारीले फर्जी नाममा लाखौँ रकम सामाजिक सुरक्षा भत्ता हिनामीना गरेको पुष्टी भैसक्दा पनि कारवाही नभएको लहँ १ भारगाउँका हरिबहादुर नेपालीले गुनासो गर्नुभयो । तत्कालीन गाविस सचिवहरु सबैलाई छानबिनको दायरामा ल्याउनु पर्ने स्थानीय बासिन्दाले बताएका छन् । 
स्थानीय विकास मन्त्रालयले गत वर्ष लह“ गाविसको स्थलगत अनुगमन तथा निरीक्षण गरीे भत्ता हिनामीना भएकोे प्रतिवेदन सम्बन्धित निकायमा पेश गरेको थियो ।
वर्ष दिन वित्दा पनि दोषी उपर कुनै कारबाही नभएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् । भष्ट्राचारीलाई तत्काल कानुन बमोजिम कारबाही हुनुपर्ने उनीहरुले माग गरेका छन् । बालअनुदान रकम अन्तर्गत ३ सय ५० दलित बालबालिकाको फर्जी भरपाई भेटिएको टोलीले जनाएको छ । 
लहँ गाविसमा १८ जना वास्तविक ज्येष्ठ नागरिकले भने अझै भत्ता रकम नपाएको र उनीहरु नाममा गएको रकमसमेत गाविसका कर्मचारीले हिनामिना गरेको पाइएको छ ।
अख्तियारले तत्कालीन गाविस सचिवहरु शान्तबहादुर ढकाल, मोहन प्रकाश ढकाल, श्रीबद शाक्य, शंकर ढकाल, दोर्ण पौडेल, लमबहादुर खड्का, दीपक सुनार, तत्कालीन प्राविधिकसहायक महेन्द्र बुढा र लेखा सहायक टकबहादुर खड्का, हालका लेखा सहायक खमानसिंह र प्राविधिक सहायक गणेश खत्री तथा कार्यालय सहयोगी रेशम बुढा अनियमिततामा संलग्न रहेको पाइएकोले उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा चलाउने तयारी गरिरहेको छ ।
जाजरकोटमा जेष्ठ नागरिक ४ हजार ८ सय ३८ जना, एकल महिला ४ हजार ३ सय २७, अपांगता भएका ३ सय ४१ र दलित बालबालिका ९ हजार ७ सय २७ जनालाई सरकारले सामाजिक सुरक्षा भत्ता वापत वार्षिक ७ करोडभन्दा बढी रुपैयाँ खर्च गर्ने गरेको छ । लहँमा जस्तै जिल्लाको ३० वटा गाविसमा सामाजिक सुरक्षा भत्ताको घोटाला हुँदै आएको भन्दै छानबिन गरी कारवाही गर्नुपर्ने स्थानीय बासिन्दाले माग गरेका छन् । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top