जाजरकोट, असोज २६ – प्रहरीले जाजरकोटको मजकोटबाट अवैध रुपमा निकासी भैररहेको बहुमूल्य पत्थरसहित ६ जनालाई पक्राउ गरेको छ ।
अवैध रुपमा पत्थर निकासी भैररहेको सुचनाका आधारमा जाजरकोटको मजकोटमा साढे दुई क्वीन्टल टुर्मालिन र काईनेट पत्थर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ती पत्थर ३ जना भरिया र पाँच ओटा खच्चडमा बोकाएर जाजरकोटबाट दैलेख लाँदै गर्दा इलाका प्रहरी कार्यालय पञ्चाला दह र दशेराबाट गएको प्रहरी टोलीले उनीहरुलाई जाजरकोट र दैलेख सिमानाको जंगलबाट पक्राउ गरेको हो । कोर्तागं – २ का बालकृष्ण शाही , कोर्तागं – ३ का हरिबहादुर शाही र गर्खाकोट – २ का जगतबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । बहुमूल्य टुर्मालिन र काईनेट लगायतका पत्थर निकासी गर्ने अनुमति नलिई राजश्व छलि गरेर निकासी गरेकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।
उनीहरुसँगै तीन जना भरियालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको नायव उपरीक्षक मल्लले बताउनुभयो ।
प्रहरीले पक्राउ परेकालाई पत्थर अर्काको खानीबाट चोरी गरेको, राजश्व छली गरेको, निकासी अनुमति नभएको र नक्कली कागजात पेश गरेको आरोप लगाएको छ । पक्राउ परेकाहरुले भने आफूहरुले १ सय ५० रुपैयाँमा मजदुरबाट किनेर केही नाफा खाएर दैलेख लालीकाँडाका जयबहादुर विसीको घरसम्म पुरयाइदिने काम गरेको बताएका छन् ।
पक्राउ परेका हरिबहादुर शाहीका अनुसार जाजरकोटका दह, कोर्तागं, मजकोट, गर्खाकोट, पजारु, अर्छानी, टालेगाँउ, पैक लगायतका गाविसबाट बर्षेनी ५० देखी ७० क्वीन्टल सम्म बहुमूल्य पत्थर चोरी निकासी भैरहेको छ ।
चोरी गरेको पत्थर कोर्तागंकै बाटो प्रयोग गरेर तस्करहरुले भारत, चीन लगायतका देशमा निर्यात गर्ने गर्दछन् । कच्चा पदार्थको रुपमा प्रयोग हुने पत्थरलाई शुद्धीकरण गरेर विभिन्न सौन्दर्यका सामानहरु निर्माण गर्ने गरिन्छ ।