सराेज काफ्ले -

काठमाडौं : दिल्लीबाट काठमाडौं आउन लागेका १९ जना यात्रु इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा उनीहरु चढ्नुपर्ने विमान उडिसकेको रहेछ। टिकटमा उल्लेख भएअनुसार ३ः१० मा उड्नुपर्ने नेपाल एयरलाइन्सको बोइङ ७५७ दुई घन्टा ३० मिनेट अघि नै उडिसकेको थियो।
आर्थिक रुपमै लामो समयदेखि धराशायी रहँदै आएको नेपाल एयरलाइन्सको व्यवस्थापन कस्तो छ भन्ने बुझ्न यो घटना काफी छ। एकातिर १९ यात्रु अलपत्र परे भने विमान खाली सिट नै दिल्लीबाट काठमाडौं फर्कियो। एउटा समयको टिकट बेचेर अर्को समयमा उडान गर्दा यात्रु त अलपत्र परे नै सँगै निगमको थेगिनसक्नु खर्चमा थप बोझ बढ्यो। टिकटमा गलत समय उल्लेख गरेका कारण यात्रुलाई पाल्नुपर्ने वाध्यता एकातिर रह्यो भने यात्रुले समयमै सेवा नपाउँदा गिरिरहेको एयरलाइन्सको शाख थप तलतिर धसियो।
निगमको विमान आइतबार दिल्लीबाट १२ बजेर ४० मिनेट जाँदा काठमाडौंका लागि उड्यो। अनौठो के थियो भने केही यात्रुलाई दिउसो तीन बजेर १० मिनेट जाँदा उडान भर्ने समय सहितको टिकट बिक्री गरिएको रहेछ। परिणाम : यात्रुहरु काठमाडौंतर्फ उड्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा नेपाल एयरलाइन्सको विमान भने नेपाल उत्रिसकेको थियो।
कुनै पनि विमान कम्पनीहरुको उडान तालिका पहिले नै निश्चित गरिएको हुन्छ। उडान तालिका अनुसार नै एजेन्टहरुले टिकट बिक्री गर्छन्। टिकटको समय तालिका सिस्टमले नै देखाउँछ। तर निगमले आइतबार ३ः१० मिनेटको उडान तालिका सहितको टिकट यात्रुलाई दियो। निगमको बोइङ ७५७ बाट हुने उडान नम्बर आरए २०६ को टिकट ग्राहकलाई गलत समयमा उड्ने भन्दै दिइएको थियो।
व्यवस्थापनकै त्रुटी हो, विमानको टिकट ३ः१० बजेका लागि दिइँदा निगमको बेव साइटमा भने दिल्लीबाट २ः१० मा उडान हुने लेखिएको थियो। अनि विमान उड्न चाहि १२ः४० मै उड्यो। टिकट बिक्री, बेवमा भएको जानकारी र विमान उडानमा कुनै सन्तुलन रहेन।
निगमले हालसम्म साताको छ दिन काठमाडौं–दिल्ली–काठमाडौं उडान गर्दै आएको छ। आगामी बिहीबारदेखि लागू हुने तालिकाअनुसार भने निगमले यो रुटमा हरेक दिन उडान गर्नेछ।
‘नेपालतर्फ उड्न विमानस्थलको अध्यागमन पार गरेका थियौं,’ दिल्लीबाट नेपाल आउन लागेका यात्रु विनोद कार्कीले टेलिफोनमा भने, ‘विमान त नेपाल गइसकेको रहेछ। केही यात्रुलाई ३ः१० मिनेटकै टिकट दिइएको रहेछ। यो समय दिइएका सबै यात्रु दिल्लीमै छुटे।’
निगमले १९ जना यात्रुलाई दिल्ली विमानस्थल नजिकै महिपालपुरको होटल सप्तगिरीमा राखेको छ। यो होटल विमानस्थलबाट करिब चार किलोटिरको दुरीमा छ।
निगमका कर्मचारीले छुटेका यात्रुहरुलाई सोमबार बिहान नेपाल पठाउने जानकारी दिएका छन्। के कारणले उडान तालिका नै नभएको समयको टिकट बिक्री भयो भन्ने जानकारी निगमले दिएको छैन। निगमका दिल्ली स्थित कर्मचारीले यात्रुलाई प्राविधिक कमजोरीका कारण यो समस्या आएको बताएका छन्।
दिल्लीमा रहेका यात्रुको बस्ने र खाने खर्च नेपाल एयरलाइन्सले नै व्यहोर्नुपर्छ। १९ जना यात्रुका लागि कोठा, बेलुकाको खाना र ब्रेकफाष्टको व्यवस्था निगमले गरेको जानकारी यात्रुले दिए।