विजयमणि पौडेल
गोठालयबाट फर्किँदै छु। बिहान सात बजेतिर। गोठालय एसएलसी दिने विद्यार्थीहरुको लागि गोठमा खोलिएको होस्टेल हो। एक्लै छु बाटोमा। दायाँ र बायाँ सिस्नोको झ्याङ। (अस्ति मिराज सोध्दै थियो, सिस्नोमा पाइने मिथानोइक एसिडबाट विद्युत निकाल्न सकिँदैन सर? मैले विद्युत टेस्ट गर्न ग्याल्भानोमिटर दिएको थिएँ।)
अनायाश म कुनै आवाज सुन्छु। मसिनो आवाज। कसैको क्रन्दनजस्तो। वरिपरि हेर्छु। केही देख्दिनँ। त्यो आवाजलाई वास्ता नगरी हिँड्न खोज्छु। तर पाइला चाल्न सक्दिनँ। (म गाउँमा छु। यहाँ एउटाको पीडाले अर्कोलाई पनि पोल्छ।)
मेरो आँखाले दाहिनेपट्टिको सिस्नोको झ्याङमा छटपटिरहेको एउटा चरा देख्छ। ऊ छटपट गर्दै छ। हिँड्न सकेको छैन। हरियो रङको चरा। म सिस्नोको पात निगालोको सिट्केनोले पन्छाउँदै त्यो चरालाई हातमा लिन्छु। उसको एउटा खुट्टा भाँचिएको छ। अघिल्लो रात आएको हुरी र पानीले गर्दा होला, ऊ गुँडबाट खसेजस्तो छ।
ऊ पानीले निथ्रुक्क भिजेको छ। थरथर काम्दै छ। म उसको शरीर सुम्सुम्याउँछु। ऊ मप्रति कुनै प्रतिक्रिया जनाउन सक्दैन। म छेवैको झ्याङबाट तितेपाती चुँडेर देब्रे हातमा माड्छु। अनि उसको खुट्टामा दलिदिन्छु। ऊ अलिअलि छटपटिन्छ।
म त्यो चरालाई बोकेर मेरो कोठातिर आउँछु। उसको जीउलाई एउटा सुक्खा पहेँलो टालोले पुस्छु। ऊ काँपिरहेको हुन्छ। अनि खाटमा लम्पसार परेको जस्टिन गार्डरको पुस्तक ‘सोफिज वल्र्ड’ माथि राख्छु उसलाई। बाहिर मानिसहरु गफ गर्दै छन्। पल्लो घरको मेमे र राजेश दाइको गफ चल्दै छ। तर मलाई कुनै वास्ता छैन। म विल्कुल अर्को संसारमा छु। मैले एउटा घाइते जीवको उपचार गर्नुछ।
तर कसरी गर्ने ? म अलमलमा पर्छु। एउटा चिनेको भेटेरीनरी डाक्टरलाई फोन लाउँछु। झसँग हुन्छु, ऊ त पाकिस्तान पो गएको छ त। अब फसाद पर्छ। म बच्चा हुँदा आमाले घाइते हाँस र परेवाको उपचार गर्नुभएको सम्झन्छु। अनि एउटा कागजमा बेसार हाल्छु। त्यसमाथि तेल हाल्छु। अनि चराको देब्रे खुट्टामा दलिदिन्छु। ऊ छटपटिन्छ। सायद पोल्यो कि। तर अहिले पोलेर के भो र। उसको खुट्टा ठीक भै हाल्छ नि।
अनि उसको अगाडि केही चामलको दाना राखिदिन्छु। तर ऊ टिप्दैन। अब ऊ आँखा चिम्लिन थाल्छ। सायद अलिक बिसेक भयो कि।
म आफू भने चिया पकाएर खान्छु। अनि सानो आवाजमा नारायण गोपालको गीत बजाउँछु : मन्दिरमा छ की मूर्तिमा माया, पत्थरमा छ की धूलोमा माया....।
आफू भुइँमा बसेर अचम्म मान्दै म त्यो पंक्षीलाई हेर्छु। एउटा चरा, मेरो बिछ्यौनामा बसिरहेछ। निदाइरहेछ। सायद पचास ग्राम पनि छैन उसको जीउ। तर मभित्र एउटा महासागर उर्लिरहेछ। संवेदनाको।
उसलाई कोठामा छाडेर म बाहिर निस्कन्छु। तरकारी खोज्न। लसुनको पात टिप्छु। बकुल्ला र धनियाँ टिप्छु। पैयुँको बोटमा एउटा चरा कराउँदै छ। मौरीको भुनभुन आवाज सुन्छु। मेरो कोठाको घाइते चरालाई पनि त्यसरी नै छाडिदिने रहर पलाएर आउँछ।
कोठाभित्र आउँछु। यतिबेला मेरो म्युजिक प्लेयरमा क्रिस्टिना पेरीको ‘अ थाउजेन्टस् इयर’ गीत बजिरहेछ। खाटमा हेर्छु, चरा छटपटिरहेछ। थाहा पाउँछु, उसको अर्को खुट्टा पनि भाँचिएको रहेछ। ऊ अहिले जोडसँग काम्दै छ। ऊ पूरै उत्तानो परेर ढल्छ। म फेरि कागजमा बेसार हाल्छु। अनि त्यसमाथि तेल।
उसको दाहिने खुट्टामा तेल र बेसार दल्न भनेर आउँछु। मेरो मुटु चिरिन्छ। त्यो चरा मरिसकेछ। जीउ छाम्छु। चिसो छ। खुइया.... गर्छु। कस्तो कस्तो डर लागेर आउँछ। आँखाबाट आँशु झर्न खोजेजस्तो हुन्छ। त्यो तेल र बेसार उसकै जीउमा दलिदिन्छु। पहेँलो गाता भएको ‘सोफिज वल्र्ड’ माथि पहेँलै टालोमा गुटमुटिएर मरेको छ त्यो चरा। त्यो लाश।
आफैँलाई प्रश्न गर्छु, मेरै कोठामा आएर किन मर्यो त्यो चरा? जीवन दिन नसक्ने भए मैले किन त्यो चरालाई आफूसँग ल्याएँ? बरु उसकै हालतमा छाडेको भए बाँच्थ्यो कि? त्यो चरालाई त्यत्तिकै फाल्न मन लाग्दैन। उसलाई असुरोको बोट छेउमा लगेर जलाउँछु।
मन खिन्न हुन्छ। शहरमा भएको भए एउटा चराको मृत्युले मेरो लागि भुसुने अर्थ पनि राख्दैन थियो होला। सयौँ घाउहरू नांगो आँखाले हेर्दै मौन बस्ने मैले एउटा चरालाई त्यसरी टिपेर ल्याउन्न थिएँ होला। तर यो गाउँमा आज एउटा चराले मलाई रूवाएको छ। यस्तो लाग्छ, मैले कुनै आफन्त गुमाएको छु।
चराको मृत्युप्रति संवेदना शून्य हुन खोज्छु। तर सक्दिनँ।
सवा नौ बजे कोचिङ कक्षामा पुग्छु। सुकुलक्ष्मी, शान्ता, सिर्जना र सविनाबाहेक सबै छन्। खै किन आएनन् यिनीहरु ? एसएलसी आइसक्यो। छटपटिबीच कक्षा १० लाई बिहानको घटना सुनाउँछु। उनीहरु भावविभोर हुन्छन्। टेलिमायाको आँखामा पानी छचल्किन्छ। पातलीको अनुहार रातो हुन्छ। राहुल भन्छ, 'सारै नरमाइलो भयो सर।' थुप्देन सरले बनाउन लाउनुभएको क्लाइनोमिटर समाउँदै फूलमान भन्छ, 'सरले चिन्ता लिनुपर्दैन। त्यो सरको गल्ती होइन।' चन्द्रबहादुर सम्झाउँछ, 'सरले त सहयोग गर्न खोज्नुभएको थियो। उसको दिन आएको थियो, मर्यो।'
म छक्क पर्छु, आज यी भाइबहिनीहरु मलाई सम्झाउँदै छन्। मेरो मनको पीडा कम गर्न खोज्दै छन्। मेरो अन्तर्मनको अदालतमा हाम्रो सरले कुनै गल्ती गरेको छैन भन्दै बयान दिँदै छन्। साँच्चै मेरा भाइबहिनीहरु ठूला भइसकेछन्। बिस्मातसँगै उब्जिएको खुसीबीच कक्षा सुरु गर्छु, 'आज हामी हरित गृह प्रभावबारे फेरि छलफल गर्ने है।'
पहिलो कक्षा।
फाराडे कक्षाको क्लास टिचर म। विद्यार्थीहरु ‘यो मन त मेरो नेपाली हो’ गाएर कक्षाको सुरुवात गर्छन्। म सेतोपाटीको सबैभन्दामाथि आजको नेपाली र अंग्रजी मिति लेख्छु। अनि महात्मा गान्धीको एउटा भनाइ लेख्छु, तिमी शालिन तरिकाले संसार हल्लाउन सक्छौ।
गान्धीको भनाइमा एकछिन छलफल चलाउँछु। कक्षाको भित्तामा गान्धीको पोरबन्दरको घरको फोटो टाँसिदिएको छु। एकछिन गान्धीका केही रमाइला प्रसंगहरु सुनाउँछु। ती कथाहरु मैले कांग्रेसी प्रदीप गिरीबाट सुनेको थिएँ।
फाराडे कक्षामा आज हामी प्रतिध्वनि र गुन्जायमानबारे कुरा गर्छौँ। कान्लामा लगेर सबैलाई चिच्याउन लाउँछु। पहाडमा ठोक्किएर त्यो आवाज फर्किएर आउँछ। उनीहरु प्रतिध्वनि सुनेर छक्क पर्छन्। उत्तिसको बोटमा अडेस लाग्दै अशोक प्रश्न गर्छ, 'अनि सम्म ठाउँमा प्रतिध्वनि किन नसुनिएको नि सर?'
कक्षाको अन्तिमतिर वर्षको पत्रकार घोषित भएको सुरवीर भन्छ, 'आज ‘नाम्सा नाम्सा ’ गाउने नि सर।'
('नाम्सा नाम्सा' गाउँ गाउँबाट उठ गीतको तामाङ भाषामा गरिएको उल्था हो। हुन त तामाङ भाषामा यो गीत रामेशले पनि गाएको सुनेको थिएँ। तर कक्षा १० का विद्यार्थीको सहयोगमा यो म आफैँले गरेको अनुवाद हो।) र, उनीहरु नेपाली, तामाङ र मैथिली भाषामा गाउँ गाउँबाट उठ गाउन सुरु गर्छन्,
नाम्सा नाम्सा ग्याम्से रेगो
बस्ती बस्ती ग्याम्से रेगो
चु ह्युलला लि शोवादा रेगो......
चराको सम्झना अलिकति कम हुन्छ। दोस्रो घण्टीमा कक्षा ८ मा जान्छु। साइन्स विषयको लागि यो अक्सिजन कक्षा हो। गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य’ गाएर उनीहरु कक्षाको सुरुवात गर्छन्।
वर्षको वैज्ञानिक घोषित विषम आफ्नो घरमा गरेर ल्याएको काम देखाउँदै भन्छ, 'सर हेर्नुस् त, मेरो सर्किटमा त बत्ती बल्यो।' उसले थोत्रे स्वीच खोजेछ। एउटा टर्च लाइटको बल्ब निकालेछ। अनि सर्किट बनाएछ। होइसल बोल्छ, 'सेलहरुलाई श्रेणीक्रम जडानमा राख्यो भने उज्यालो बढ्दोरैछ सर।'
पहिलो बेन्चमा बसेकी संगितालाई म प्रश्न गर्छु, 'यदा लाना समयसम्म बत्ती तोजिविषम् हाजिवा जडान लाला ?'
हामी कक्षामा विद्युतका विभिन्न प्रयोगहरु गर्छौ। कक्षाको अन्त्यमा म उनीहरुलाई अब्दुल कलामको केही प्रेरणादायी प्रसंगहरु सुनाउँछु।
अब फ्लोरिन कक्षाको पालो। अर्थात् कक्षा ९। पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर। उनीहरु बुद्दिकृष्ण लामिछानेको गीत गाएर कक्षा सुरु गर्छन्। उनीहरुको आवाजले मलाई भावुक बनाउँछ। फेरि त्यो चराको लाशलाई सम्झन्छु म। उनीहरुलाई पनि बिहानको कथा सुनाउँछु । कथा सुनेपछि उनीहरु एकै लयमा ‘ला......’ भन्छन्।
कक्षा ९ मा हामी डार्विनका क्रमविकासका सिद्दान्तहरुबारे छलफल गर्दैछौँ। आज उनीहरुलाई आफ्नो रुचीअनुसार डार्विनको सिद्दान्तको व्याख्या गर्न दिन्छु। केहीले चित्र बनाउँछन्। केहीले कथा लेख्छन्। केहीले गीत र कविता लेख्छन्। केहीले दोहोरी पनि लेख्छन्।
‘लालुपाते नुह्यो भुँइतिर’ को भाकामा मिममायाले लेखेको दोहोरी हामी सबैले गाउछौँ :
प्रकृतिले छानेन उसलाई
हराएर गयो है बिलाई
डाइनोसर झर्यो भुइँतिर
कि लाउ माया देउतातिर कि लाउ डार्विनतिर
नि र नलाउ दुईतिर।
खालि घण्टीमा सल्लोको बोटमा अडेस लाग्दै चिसो हावा खाएर बस्छु। मौसम चिसो छ। तर मलाई चिसो बतासले जिउ भिजाउन मन लाग्छ।
यसो स्कुल वरिपरि घुम्छु। कक्षा ५ का विद्यार्थीहरु चौरमा गुच्चा खेलेर बसेका छन्। त्यो क्लासको टिचर बाहिर घाममा आफ्नो बच्चा खेलाउँदै बस्नुभएको छ। उहाँले कहिल्यै राम्रोसँग पढाएको देखेको छैन मैले। यहाँ हाम्रा विद्यार्थीहरुमाथि अन्याय भएको छ। हेडसर आँखा चिम्लेर बस्नुभएको छ। आफ्नो अख्तियारको प्रयोग गर्न उहाँ डराउनुभएको छ।
स्रोतव्यक्ति र विद्यालय निरीक्षकको ताल पनि उस्तै छ। यी दुई पद एकै जनाले ग्रहण गरेका छन्। स्रोतहिन यी स्रोतव्यक्ति जम्मा दुई पटक आएका छन् विद्यालयमा। एकपटक नयाँ शैक्षिक सत्रको कक्षागत तथ्यांक संकलन गर्न। अर्कोपटक यो ठाउँको जिपीएस नाप्न। स्रोतव्यक्ति निर्देशिकामा भएको कुनै काम पनि गरेको देखेको छैन मैले। यिनी त आफ्नो व्यक्तिगत व्यापार गर्दै हिँड्छन्।
नैतिकता नभएको मान्छे निर्लज्ज हुन्छ। थुइक्क।
त्यो नपढाउने टिचरको क्लासमा म पस्छु। हुन त कक्षा ५ मैले पढाउने कक्षा होइन। तर म नैतिक रूपले बाँधिएर यो कक्षामा पस्छु। निर्लज्जहरुलाई लाज लागोस् भनेर। निधारमुनिको दुईटा प्वालमा गतिलै लेन्स भए पनि दृष्टि गुमाएका यी कुम्भकर्णहरुले आँखा देखून् भनेर।
मदन भन्छ, 'कक्षा ६ मा सुनाउनुभएको बादलपारिको देशको कथा सुनाउनु न सर।' यशोधरा भन्छे, 'कक्षा ७ मा सुनाउनुभएको जस्तो विज्ञानको कथा सुनाउनु न सर।' बास्नामायाको अर्कै फर्माइस छ, कक्षा ९ मा सुनाएको भगतबहादुरको कथा सुन्ने।
‘बादलपारिको देश’ नारायण ढकालले लेखेको कथा हो। यो कथा पुरै थाहा छैन मलाई। तर आफैँले बढाएर धारावाहिक रुपमा भनिरहेको छु। बादलपारिको देश एउटा असल राज्यको कल्पना हो। लोककल्याणकारी। म विद्यार्थीहरुलाई उत्प्रेरित गर्न आफैँ बनाएर कथा सुनाउँछु। असल, नैतिकवान र प्रजातान्त्रिक चरित्र निर्माणको लागि। विद्यार्थीहरु सोध्छन्, 'कहिले सकिन्छ सर यो कथा ?' म जवाफ दिन्छु, '२ वर्षमा।' उनीहरु थप्छन्, 'तपाईँ बसुन्जेलमा सकेर जानु है सर।'
विज्ञान कथाचाहिँ स्टेफेन हकिङ र उनकी छोरी लुसी हकिङले लेखेको ‘अ सेक्रेट कि टु युनिभर्स’कथा हो। यसलाई पनि मैले मौलिकिकरण गरेर सुनाउँदै आएको छु। अन्तरिक्षको गुरुत्वहिन कथा सुन्दा विद्यार्थीहरु छक्क पर्छन्। झन् जिरो ग्राभिटीको भिडियो देखाउँदा उनीहरुको आश्चर्यको सीमा हुँदैन।
भगतबहादुर कथा चाहिँ म आफैँले लेखेको एउटा बालकको संघर्षको कथा हो। मैले लेखेको यो कथाको भाव हिन्दी फिल्म ‘आइ एम कलाम’ सँग ठ्याक्कै मिलेछ।
अँ, कक्षा ५ मा बादलपारिको देश सुनाउन सुरु गर्छु। उनीहरु मेरो आवाजको तालमा अनुहारको रंग बदल्छन्। मेरो हात र जीउको तालमा आँखा घुमाउँछन्।
टिफिनको बेला कृष्ण धरावासीको कथा ‘झोला’ बजाइदिन्छु कक्षा ८ मा। रेडियोकर्मी अच्युत घिमिरेको आवाजमा।
पाचौँ घण्टी फेरि कक्षा १० मा पुग्छु। सुभाषचन्द्र बोसको एउटा प्रेरणादायी प्रसंगबाट कक्षाको सुरुवात गर्छु। अहिले हामी ब्रम्हाण्डबारे रिभिजन गर्छौँ।
अब न्यूटन कक्षाको पालो। अर्थात् कक्षा ६। ‘हामी धेरै साना छौँ, हाम्रो मुटु सानो छ’ गाउँदै उनीहरु कक्षाको सुरुवात गर्छन्। आज प्रकाश संश्लेषणबारे सिक्ने पालो छ। म उनीहरुलाई बाहिर पाखामा लान्छु र बिरुवा देखाउँदै बिरुवाले खाना कसरी बनाउँछ भन्दै अनुमान गर्न लाउँछु। उनीहरु आआफ्नो तर्क दिन्छन्। उनीहरुको साझा तर्क हुन्छ, बिरुवाले आफ्नो खाना आफैँ बनाउँछ।
म सोध्छु, 'बिरुवाको खाना बनाउने अँगेनो खै त ?'उनीहरु गलल्ल हाँस्छन्। म स्टोमाटा, जाइलम र फ्लोयमबारे बुझाउँछु।
कक्षाको अन्त्यमा सबैले आआफ्नो डायरी मलाई देखाउँछन्। अमृतको अक्षर हेर्दै भन्छु, 'तिम्रो अक्षर त धेरै मोटाएछ। अलिक पातलो बनाउ है।'
नोर्साङले डीको नतानी लेखेको अक्षर हेर्दै भन्छु,' अक्षरमाथि डीको तान्नु भनेको घरमा छाना लाएजस्तै हो। होइन भने त अक्षरभित्र पानी पसिहाल्छ नि।'आफ्नै तालमा हाँस्तै नोर्साङ भन्छ, 'सर पनि हँसाउनुहुन्छ।'
कोचिङ कक्षासमेत आफ्नो आजको ७ वटा कक्षा सकेर थकित हुँदै बाहिर निस्कन्छु। चिसो बतास। चिया खान मन लाग्छ। तर यो मात्र एउटा सपना। सबै सपना कहाँ पूरा हुन्छ र केटा, आफैँलाई सम्झाउँछु।
कक्षा १० का केही विद्यार्थीलाई बाहिर देख्छु। अर्थशास्त्र पढ्नेहरुको क्लास रैनरैछ। सर हुनुहुन्न रैछ। मेरो मनले मान्दैन। थकान भाग्छ। फेरि उनीहरुलाई कक्षामा लगेर प्राक्टिस गराउँछु।
यसरी ८ वटा घण्टी पढाएपछि आजको मेरो दिन सकिन्छ। स्टाफ रुममा पोइल गएकी एउटी विद्यार्थीको कुरा चल्दै छ।
कोठा फर्किन्छु। मनमा अनेक कुरा खेल्छन्। सुन्तली किन भागी होली ? खबर थाहा पाउँछु, ऊ आफैँ भागेकी होइन। विदेशबाट फर्किएको आफ्नै भाउजूको भाइसँग घरबाटै उसलाई पठाइएको हो। तामाङ जातिमा प्रायः यस्तै हुँदोरहेछ यतातिर। सुरुमा भगाइदिने र बिहे पछि गरिदिने। नेपालमा राजनीतिक क्रान्ति त भयो। तर, सांस्कृतिक क्रान्ति हुन अझै बाँकी छ। मेरो निश्कर्ष।
बेलुका गाउँ घुम्न निस्कन्छु। म बाटोमा हिँड्दै गर्दा आश्विनको बुबाले बोलाउनु हुन्छ। जान्छु। सोध्नुहुन्छ, 'सर बिफ लिनुहुन्छ ?'
म लिनेगरेको छैन भन्छु। उहाँ भन्नुहुन्छ, 'आज माथितिर एउटा ढाल्या रैछ। अलिकति ल्याको त्यहीँबाट।'
आश्विनको ममीले चिया बनाएर दिनुहुन्छ। उहाँहरु भने छ्याङ खानुहुन्छ। दाजु भन्नुहुन्छ, 'के गर्नु र सर। बाउआमाले बच्चैदेखि खान सिकाए, पछि छोड्न सकिएन।'
दाजु भन्नुहुन्छ, 'दुई वर्षपछि पनि बस्न मिल्दैन र सर ? तपाईँहरु बसे हाम्रो गाउँलाई धेरै राम्रो हुने थियो।'
दाजुको प्रश्न भुइँमा खस्न नपाउँदै दिदी भन्नुहुन्छ, 'हामीलाई मात्र राम्रो भएर भयो र। सरलाई पनि राम्रो हुनुपर्यो नि। जाबो पानी त छैन यो गाउँमा।'
मलाई केही बोल्न आउँदैन। अँगेनोमाथि झुन्डिरहेको गाईको सुकुटीलाई टोलाएर हेरिरहन्छु।
साँझमा खाना खाएर फेरि गोठालयमा पुग्छु। ज्यामेङले एक मुठो रायोको साग र एउटा लामो उखुको लाँक्रो ल्याएर मलाई दिन्छ। प्रदीपले सेदे (बोझो) ल्याइदिएछ। उनीहरुलाई प्राक्टिस गराउँछु। म्याथ, साइन्स, इंगलिस र सोसल स्टडिजको।
मैले बिर्सिरहेको चराको फेरि याद आउँछ। सामुदायिक स्कुलका यी विद्यार्थीहरु र त्यो चराबीच समानता पाउँछु म। चरालाई हूरी र पानीले घाइते पार्यो। यी विद्यार्थीहरुलाई राज्य र शिक्षकहरुले घाइते बनाएका छन्। थाहा छैन, कसले उपचार गर्ने हो राज्य र शिक्षकहरुको आक्रमणबाट घाइते भएका यी भाइबहिनीहरुलाई। तर जसले उपचार गरे पनि मैले चरालाई गरेको जस्तो निरर्थक उपचार नहोस्।
मध्यरातमा अल्वर्ट क्यामसको ‘फिलोसफिकल सुसाइड’ बारे एक पाना पढेर सुत्छु। गोठमा। तोरीको भुसको छेउमा। आज राति पनि एकतमासले पानी परिरहेको छ।
(पौडेल टिच फर नेपालमा आवद्द छन्)
Source: Setopati