ओखलढुङ्गा : मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई उनकी अभिभावकले ११ वर्षदेखि दाम्लोमा बाँधेर राख्दा नारकीय जीवन जिउँन बाध्य छिन् । ओखलढुङ्गाको केत्तुके गाविस–३ की १८ वर्षीया एक किशोरीलाई ११ वर्षदेखि नाइलनको डोरीले बाँधेर राखिएको हो ।
उनलाई गाउँघरमा घुम्दा देखि विद्यालय जाँदा समेत आमाले पशुलाई झैँ दाम्लाले बाँधेर डोर्याउँछन् । विद्यालयमा अ
न्य साथी कक्षाकोठामा बस्दा उनी भने ढोकामा दाम्लोले बाँधिन विवश छिन् ।
भीमसेनस्थान मावि केतुकेकी कार्यालय सहयोगी समेत युवतीकी आमा मौलिमाया तामाङले १८ वर्षीया छोरी सुन्तलीमायालाई दाम्लोले बाँध्न थालेको ११ वर्ष बितिसकेको छ ।
एघार वर्षअघिसम्म स्वस्थ सुन्तलीको त्यसयता मानसिक सन्तुलन गुमेपछि उनको गलामा दाम्लो परेको हो । उनी जन्मैदेखि बोल्न भने सक्दिनन् । अचानक मानसिक सन्तुलन गुमेपछि आमाले डोरीले बाँधेर राख्ने गरेकी हुन् । घरमा हेर्ने कोही नभएपछि आमाले सुन्तलीमायालाई डोरीले बाँधेर विद्यालय ल्याउँछिन् । विद्यालय विदा भएपछि उनले छोरीलाई डोर्याउँदै लाने गरेको बताइने ।
केही वर्षअघि उपचारका लागि धरानको वीपी मेमोरियल अस्पताल गरिएको उपचारले काम नगरेपछि सुन्तलीको गलाबाट दाम्लो नहटेको हो । चिकित्सकले उपचारका लागि भारत लानुपर्ने भनेपछि उनको जीवन कष्टकर बनेको हो । सुन्तलीलाई मुर्छा पर्ने समस्या समेत छ । सोही समस्याका कारण उनको मानसिक सन्तुलन गुमेको हो ।
मौलिमायाको परिवारमा आमाछोरी मात्रै छन् । अवकाशप्राप्त भारतीय सेना पति मौलबहादुर १६ वर्षअघि बहुविवाह गरेर भारतमै बस्छन् । मौलिमायाले पतिसँग मुद्दा लडेर पेन्सनको एक तिहाइ रकम मासिक ६ हजार पाउँछिन् । १७ वर्षदेखि भीमसेनस्थान माविमा कार्यालय सहयोगी रहेकी उनको तलब ६ हजार २ सय रुपैयाँ छ ।
खानलाउन आर्थिक अभाव नभएपनि छोरीको उपचार गर्ने ठाउँ थाहा नहुँदा दाम्लोले बाँधेर राखेको मौलीमायाको भनाइ छ । ‘परिवारमा भरपर्दा अरु कोही छैनन्, मैले छोरी लिएर हिँडेपछि घरमा ताला लाग्छ’, मौलीमायाले भनिन्, ‘कसैले सहयोग गरेमा छोरीलाई सुविधासम्पन्न ठाउँमा लगेर उपचार गराउने इच्छा छ ।
- Source :- Aanapurna post