संगीता लामा
नेपालको सबैभन्दा जेठो वीर अस्पतालको इमजेन्सीमा केही दिनअघि सेतो कोट लगाएको एकजना अधवैँसे हट्टा कट्टा देखिने व्यक्तिलाई चार–पाँचजनाले काउन्टर पछाडिको कोठातिर धकेल्न खोज्दै थिए तर त्यो व्यक्ति बल लगाएर उनीहरूबाट फुत्कने प्रयास गर्दै थियो। ‘जिजस क्राइस्ट, जिजस क्राइस्ट..’, धोद्रो स्वरमा ऊ चिच्याउँदै थियो । यतिबेला ऊ झाँक्री वा दय् मयजुको शरीरमा ‘देउता चढ्दा’ जस्तै अर्धचेत थियो । इमरजेन्सी काउन्टर पछाडिको कोठामा उसलाई थुन्न हम्मे हम्मे परेको देखिन्थ्यो । कोही चाहिँ ‘रुम बाहिरबाट लक गरिदेउ’ भनेर कराइरहेका थिए।
त्यो दिन म इमरजेन्सी रहेको साथीलाई भेट्न गएकी थिएँ । मेच नभएकोले साथीको बेड नजिकै उभिरहेकी थिएँ । अचानक होहल्ला र भीड बढेपछि काउन्टर नजिकै गएर सोधेँ ‘के भो?’
एकजना विरामीको कुरूवा भीडको माझमा उभिएर भन्दै थियो, ‘यहाँ मेरो अक्सिजन लगाएको सिरियस विरामी छ, बुभ्mनुपर्छ नि ! इमरजेन्सीमा पनि यति ठूलो हुल आएर होहल्ला गर्ने हो । नगर भन्दा डाक्टर नै उनीहरुको पक्षमा लाग्ने, के हो यो?’ मेरो कौतुहलता झन बढ्यो–आखिर भएको के रहेछ ?
इमरजेन्सीमा विरामी र कुरूवाको भीड थियो । भीडमा एक हुल विदेशी किशोर किशोरीहरु र केही नेपालीहरु पनि थिए । तनाव बढेपछि सुरक्षा गार्डले उनीहरुलाई इमरजेन्सी हलबाट बाहिर निकाले । म पनि उनीहरुसँगै निस्किएँ । एकैछिनमा भीडका सबैले इमरजेन्सीको ढोका वाहिर आपसमा हात समाएर गोलो घेरा बनाई प्रार्थना गर्न थाले।
बुझ्दै जाँदा थाहा भयो – एकजना क्रिश्चियन विरामीलाई इमरजेन्सीमा भर्ना गरिएको रहेछ । उनका शुभचिन्तकहरुले निको होस् भनेर इमरजेन्सीभित्रै प्रार्थना गर्न खोज्दा अन्य विरामीका कुरूवाले विरोध गरेकाले झडपको स्थिति आएको रहेछ।
केहिरबेर पछि मैले नर्ससँग सोधेँ, ‘अघि काउन्टर पछाडिको कोठामा थुनिने मान्छे को हो?’ उनले छोटो जवाफ दिइन्, ‘डाक्टर हो।’ उनले बताए अनुसार इमरजेन्सीमा प्रार्थना गर्न खोज्नेहरुलाई समर्थन गर्ने डाक्टर पनि झगडामा मुछिएछन् र तनाव बढेपछि उनलाई अरु डाक्टर तथा स्वास्थ्यकर्मीहरुले कोठाभित्र थुनेका रहेछन्।
वीर अस्पताल त्यसै त दयनीय अवस्थामा छ । यहाँ भन्ने वित्तिकै न डाक्टर पाइन्छ न सेवा। बेडमा छटपटाइरहेका विरामीका कुरुवाले डाक्टर नर्सलाई बोलाउँदा कठोर जवाफ दिन्छन्, ‘एकछिन पख्नुसन्, बिजी छौँ ।’ उनीहरु आइहाले पनि अनुहारमा हाँसो र बोलीमा मिठास हुँदैन । झन इमरजेन्सी वार्डमा भएको यो धार्मीक भीड देख्दा एउटा पुरानो भनाइ सम्झना आयोे –उँधै गति उँधै मति।
वीर अस्पतालको इमरजेन्सीमा देखिएको यो दृश्यले मेरो मनमा केही विचारहरु सलबलाए, साथमा केहि प्रश्नहरुले घेरे। धर्म नितान्त व्यक्तिगत मामला हो । नेपालको अन्तरिम संविधानमा नै हरेकलाई आफूले चाहेको धर्म रोज्ने अधिकार छ। हिन्दु, बौद्ध या अन्य कुनै धर्म मान्नेले धर्म परिवर्तन गरेर क्रिश्चियन वा जुनसुकै धर्म पनि अपनाउन सक्छ। तर, अस्पताल धार्मीक वा सांस्कृतिक आस्था प्रकट गर्ने स्थल होइन। डाक्टर र बिरामी जुनसुकै धर्म वा संस्कृतिका मान्ने हुनसक्छन् उपचार सबैका लागि मेडिकल विज्ञानको ज्ञान, सूचना र अनुभवका आधारमा नै गरिनुपर्छ । पुजा पाठ, धामी झाँक्री, प्रार्थना आदिले नै रोग निको हुने भए विरामीलाई अस्पताल लैजानुको के औचित्य भयो र? धार्मीक र सांस्कृतिक अभ्यास गर्नका लागि त मन्दिर, मस्जिद, गुम्वा र चर्चहरु छँदैछन्।
आज कुनै क्रिश्चियन समूहलाई बिरामी निको होस भनेर अस्पतालभित्रै प्रार्थना गर्न दिइयो र डाक्टरले समेत सो समूहमा बसेर प्राथर्ना गर्न थाले भने भोलि पण्डितले पनि त्यहीँ बसेर रूद्री चण्डी पाठ गर्न दिने कि नदिने? यदि धामी झाँक्री र दय् मयजुले पनि इमरजेन्सी र अस्पताल परिसरभित्रै काम्दै ढयांग्रो ठटाउन थाले भने अस्पताल, डाक्टर र नर्सको के काम?
Source: Setopati
Source: Setopati