पाँचै विकास क्षेत्रमा कम्पनी रजिस्ट्रार

Unknown
0
काठमाडौं-राजधानीमा रहेको कम्पनी रजिस्ट्रारको कार्यालयलाई उपत्यकाबाहिर पनि विस्तार गरिने भएको छ। सरकारले त्रिपुरेश्वरमा सीमित यस कार्यालयलाई उपत्यकाबाहिर पाँच ठाउँमा विस्तार गर्न लागेको छ। शाखा स्थापनापछि उद्योग स्थापनासम्बन्धी कामका लागि काठमाडौं आइरहनु पर्दैन।

उद्योग मन्त्रालयका अनुसार एक महिनाभित्र उपत्यकाबाहिर विराटनगर, वीरगन्ज, बुटवल, नेपालगन्ज र धनगढीमा कार्यालय स्थापना हुनेछ। ‘छिट्टै शाखा कार्यालय विस्तार हुँदैछ,' मन्त्रालयका सहसचिव जीतबहादुर थापाले भने, ‘राजधानीबाहिरका सेवाग्राहीलाई सजिलो होस भनेर यसो गर्न लागिएको हो।'
तत्कालका लागि सम्बन्धित जिल्लाका घरेलु कार्यालयमा यसको कार्यालय राखिने छ। थापाका अनुसार अहिलेलाई घरेलुमा कार्यालय राखेर काम गर्ने र पछि छुट्टै व्यवस्था गर्ने योजना छ। ‘कम्पनी ऐन नआउन्जेल घरेलु कार्यालयको परिसरमै राखिने छ,' थापाले भने, ‘कम्पनी ऐन आएपछि छुट्टै ठाउँमा कार्यालय राखिने छ।'
मन्त्रालयले कम्पनी ऐन २०६३ संशोधन गर्न लागेको छ। ऐन संशोधन गरेर देशका विभिन्न ठाउँमा कम्पनी रजिस्ट्रारको कार्यालय खोल्न सरोकारावालाले सुझाव दिएकोे मन्त्रालयले जनाएको छ। त्यसैअनुसार ऐन संशोधन गरी शाखा विस्तार गर्ने बाटो खोलिने छ।
देशभरको काम गर्न राजधानीमा एकमात्र कार्यालय हुँदाको असुविधालाई ध्यानमा राखेर शाखा विस्तार गर्न लागिएको हो। मन्त्रालयका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयसँग समन्वय गरेर शाखा स्थापना गरिने छ। काठमाडौं, त्रिपुरेश्वरमा रहेको कम्पनी रजिस्ट्रारले कम्पनी ऐन २०६३ अनुसार कम्पनी दर्ता, कर संकलन, नवीकरण, खारेजी, वार्षिक प्रतिवेदन बुझ्नेलगायत काम गर्छ।
केहीअघिदेखि अनलाइनबाट काम हुन थालेपछि राजधानी धाउनुपर्ने बाध्यता केही हटेको थियो। नयाँ दर्ता हुने उद्योगको सम्पूर्ण काम अनलाइनमार्फत हुन थालेको मन्त्रालयले जनाएको छ। अनलाइनमार्फत काम गर्दा कम्पनी दर्ता गर्दा बुझाउनुपर्ने दस्तुर र प्रमाणपत्रको लागि त्रिपुरेश्वरनै धाउनुपर्ने बाध्यता छ। पुरानो उद्योगको हकमा भने अहिले अनलाइन र म्यानुअल दुवैमा काम भइरहेको मन्त्रालयले जनाएको छ। केही समयपछि दर्ता भइसकेका सम्पूर्ण उद्योगको काम अनलाइनबाटै गर्ने मन्त्रालयको योजना छ।
कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइनमार्फत काम गर्दै आए पनि यसलाई ऐनमा समेट्न सकिएको छैन। अनलाइन सेवालाई कम्पनी ऐनमा समावेश गर्न सरोकारवालाबाट सुझाव आएका छन्। हाल ललितपुरको जिल्ला घरेलु कार्यालयमा कम्पनी रजिस्ट्रारको कार्यालय सञ्चालन गरिएको छ। ललितपुरको जस्तै एकाइ कार्यालय उपत्यकाबाहिरका अन्य ठाउँमा पनि विस्तार गर्न लागिएको हो।

Source :- Nagarik news
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top