मलेसियामा बिरामी भएपछि कामबाट निकालिँदै नेपाली

Unknown
0
कात्तिक ९ – मलेसियाको नेम नामक सुरक्षा कम्पनीमा कार्यरत कास्कीका कृष्णप्रसाद ढकालको गर्धनमा पिलो आयो । उहाँले शल्यचिकित्सा गर्नुपर्ने भयो । मालिकले उपचार खर्च दिएर आराम गराउने त कहाँ कहाँ उहाँलाई जागिरबाट हटायो । भिसा अवधि बाँकी रहँदै ढकाल घर फर्कन बाध्य हुनुभयो ।
ऋण गरेर आठ महिनाअघि कामदारका रुपमा मलेसिया आएका ढकाललाई मधुमेहको पनि समस्या छ । पिलोको शल्यचिकित्सापछि घाउ निको भएपनि मधुमेह दीर्घ समस्या हुन सक्ने भएकाले कम्पनीले हटाएको गुनासो गर्दै कात्तिक ४ गते उहाँ नेपाल फर्कनुभएको हो । भाषा बुझिन्न । काम गर्न सजिलो छैन । नेपालबाट कामदार आउने सङ्ख्या बढिरहेकाले हप्तामा २८ घन्टाभन्दा बढी काम गर्न पनि मिलिरहेको छैन । जसका कारण उनीहरुको मासिक आम्दानी ३० हजारको हाराहारीमा मात्र हुन्छ ।
एउटै कोठामा २० जनासम्म बस्नुपर्ने बाध्यता कामदारको छ । काममा जानका लागि पोसाक किनेको रकम पनि मालिकले तलबबाट कटाउने गर्दछ । सुरुमा भनेको जति तलब नपाउने र भनेको भन्दा अर्कै काम गर्नुपर्ने नेपालीका पीडा पनि धेरैपटक सार्वजनिक भइसकेका छन् । चालक भिसामा गएकालाई रुख काट्ने काममा लगाएका उदाहरण पनि छन् । कामका लागि परदेश जानेहरु आफ्ना लागि भन्दापनि परिवारका लागि भन्दै दुख गर्ने गर्छन् । नवलपरासीका दलबहादुर कुमाल पनि विचमै नेपाल फर्कनुभयो । ‘के भएको हो ? अझै पत्तो छैन । रोगी भएपछि साहुले निकाल्यो’ लामो खोकीका बीच कुमालले भन्नुभयो ।
काम छाडेर घर फर्कनुपरेकाको पीडा एउटा छ भने काममा खटिइरहेकाका समस्या पनि चिन्ताजनक छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय सरसफाइ गर्दै रहँदा भेटिनुभएका सिरहाका योगेन्द्र ठाकुर पहिला भनिए जति तलब नपाएको गुनासो गर्नुभयो । मलेसिया छिरेको पहिलो दिनमै उहाँलाई अत्यास लगेको थियो । विमानस्थलमा अवतरण गरेपछि कहाँ जाने ? के गर्ने ? भन्ने समस्या भयो । कामदार माग गर्ने कम्पनीले विमानस्थलमा लिन आउँछ भन्ने म्यानपावर कम्पनीको जानकारी त्यहाँ काम लागेन । उहाँलाई दुई दिनसम्म सोही विमानस्थलमा भोकै सुत्नुपरेको थियो ।
सफाइ कामदार नै रहेका नुवाकोट काउलेका शेरबहादुर तामाङले यहाँस्थित समस्यामा परेका सबै कामदार एकजुट भएर शोषण गर्ने कम्पनीको विरोधमा आवाज उठाउने तयारीमा रहेको बताउनुभयो । तामाङले भन्नुभयो ‘सबै नेपाली कामदार एक भएमा साहूले हेप्न सक्दैन, कतिपय साथीहरु जागिरबाट हटाउँछ कि भनेर डराउँछन्, त्यसरी हाम्रो अधिकारको रक्षा हुन सक्दैन ।’

Source :- Ujaalo Online
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top