काठमाडौँ , ९ कार्तिक /
काठमाण्डूको त्रिभुवन विमानस्थललाई आगामी दुई वर्षमा आधुनिक र सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ आवश्यक कार्यहरु अघि बढाईएको नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताएका छन्।नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका सेवा सुविधा र छविबारे अन्तर्राष्ट्रिय रुपमा नकारात्मक टिप्पणीहरु हुने गरेका छन्।तर काठमाण्डू विमानस्थलका भौतिक पुर्वाधार सुधारका काम धमाधम भईरहेको र ती सबै सन् २०१६ को अन्त्यसम्ममा सकिने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताए। उनले भने, “आयोजना अन्तर्गतका केही काम सम्पन्न भइसकेका छन् भने केही काम पुरा हुन अझै समय लाग्नेछ। सकिएपछि विमानस्थल क्षेत्र विस्तारित र सुधारिएको हुनेछ।”
हाल चालू विभिन्न आयोजना अन्तर्गत काठमाण्डू विमानस्थलको धावनमार्ग, विमान गुड्ने ट्याक्सीमार्ग, विमानहरु पार्क गर्ने एप्रन, हवाइ ट्राफिक कन्ट्रोल कक्ष र यात्रु आवतजावत गर्ने टर्मिनल भवनहरुको सुधार र विस्तार कार्य जारी रहेको सुमनले बताए।
धावनमार्ग विस्तार गरेर सुधार गर्ने काम पनि सुरु हुन लागेको उनको भनाई छ।उनले थपे, “बनिसकेपछि यो धावनमार्ग अन्तर्राष्ट्रियस्तरको हुनेछ र चालकहरुलाई उडान तथा अवतरण गर्न सजिलो हुनेछ।”उनका अनुसार समग्र नागरिक उड्डयन क्षेत्रको क्षमता अभिवृद्धि गर्ने आयोजना पनि चलिरहेको छ।
एसियाली विकास बैंक र नेपाल सरकारको लगानी रहेको ती सबै आयोजनाको जम्मा लागत करिब १३ अर्ब रुपैयाँ रहेको छ। विमानस्थलको आन्तरिक टर्मिनल विस्तारको काममा केही ढिलाई भएपनि त्यो काम आगामी असार महिनासम्ममा सक्ने प्राधिकरणको योजना छ।
Source:- Image Nepal News