भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणको भारतीयलगागत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि महत्त्वका साथ ‘कभरेज’ गरे । यसमा चीनका सञ्चारमाध्यम पनि अगाडि देखिए । भारतका अधिकांश सञ्चारमाध्यम सकारात्मक देखिए पनि केहीले मोदीको आलोचनासमेत गरेका छन् ।
धेरैजसो भारतीय सञ्चारमाध्यमले भारतीय प्रम मोदीले नेपालीको मन जितेको चर्चा गरेका छन् । भारतको सरकारी समाचार एजेन्सी ‘प्रेस ट्रस्ट अफ इन्डिया’ले मोदीले नेपाली भाषाको माध्यमबाट नेपालीको दिल र दिमाग जितेको उल्लेख गरेको छ । नेपालको व्यवस्थापिका संसद्मा मोदीले सुरुवाती केही मिनेट नेपालीमा भाषण गरेका थिए ।
‘द हिन्दुस्तान टाइम्स’ले सन् १९९० मा संसदीय व्यवस्थाको पुनस्र्थापना भएपछि कुनै विदेशी सरकारप्रमुखले नेपालको संसदमा सम्बोधन गरेको पहिलो अवसर भएको उल्लेख गर्दैै आफ्नो ४५ मिनेट लामो सम्बोधनमा दुई छिमेकी राष्ट्रको सम्बन्धका सबैजसो विषयवस्तुलाई छोएको लेखेको छ ।
‘नवभारत टाइम्स’ले भने मोदीले प्रोटोकल तोडेर पूर्वनिर्धारित कार्यक्रमविना नै सर्वसाधारणसँग हात मिलाएको र कुराकानी गरेको भनी उल्लेख गरेको छ । पत्रिकामा अगाडि लेखिएको छ, ‘मोदीले भीडतर्फ हात हल्लाएर अभिवादन गरे र केही मानिससँग हात पनि मिलाए । मोदीको यो कदमबाट उनका सुरक्षाकर्मी पनि हैरान भए । मोदी आफ्नो बुलेटप्रुफ गाडीबाट उत्रे र सडकको दुवै किनारमा उभिएका मानिसको अभिवादन स्वीकार गरे ।’ भुटान भ्रमणका क्रममा पनि मोदीले यस्तै गरेका थिए ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले पनि मोदीको नेपाल भ्रमणलाई अभीरुचिपूर्वक हेरेको देखिएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाले काठमाडौंले मोदीको भ्रमणलाई नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ दिशा दिने दुर्लभ मौका र नयाँ मोडका रूपमा हेरेको उल्लेख गरेको छ । सिन्ह्वा अगाडि लेख्छ, ‘नयाँदिल्लीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यको उम्मेदवारीमा नेपालबाट समर्थनको अपेक्षा राखेको छ ।’
चिनियाँ पत्रिका ‘चाइना डेली’ले भारतीय प्रधानमन्त्रीको दुईदिने नेपाल भ्रमणको एजेन्डा स्रोतहरूमाथि गुमेको आफ्नो वर्चश्व पुन: प्राप्त गर्ने रहेको उल्लेख गरेको छ । चाइना डेली अगाडि लेख्छ, ‘नयाँदिल्लीले यहाँको अपार जलस्रोतमा भारतीय लगानीका लागि प्रोत्साहित गर्न धेरै वर्ष खर्च गर्यो । तर, भारत र नेपालका संयुक्त परियोजना नेपालको सार्वभौमसत्तामाथि हुनसक्ने खतराको कारण देखाउँदै रोकिएका छन् र उक्त खाली ठाउँमा चीनलाई अनुमति दिइएको छ ।’
फ्रान्सेली समाचार संस्था एएफपीले मोदीको भ्रमणको मुख्य एजेन्डा ऊर्जा सहमतिहरूलाई गति दिन र यो क्षेत्रमा मुख्य प्रतिद्वन्द्वी चीनको प्रभावलाई काउन्टर दिन केन्द्रित रहेको उल्लेख गरेको छ । मोदीको भ्रमणसम्बन्धी आफ्नो समाचारमा एएफपीले लेखेको छ, ‘दक्षिणपन्थी राष्ट्रवादी नेता मोदी गत मेमा शक्तिमा आएयता यो क्षेत्रमा चीनको बोलवालालाई कम गर्न भारतका छिमेकीहरूबाट समर्थन खोजिरहेका छन् ।’
एएफपीको यो समाचारलाई विश्वका विभिन्न प्रतिष्ठित सञ्चारमाध्यमले पुन: प्रकाशन
गरेका छन् । न्युयोर्क टाइम्समा गार्डिनेर ह्यारिस ‘भारतीय प्रमको भ्रमणबाट नेपाल मन्त्रमुग्ध’ शीर्षकको समाचारमा लेख्छन्, ‘मोदीको आर्थिक विकास र सुशासनको अभियानको सन्देश नेपालमा जोडदार रूपमा प्रतिध्वनित भयो । यी दुवैबाट यो देश दशकौँसम्म वञ्चित थियो ।’
अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’ले मोदीले घोषणा गरेको एक अर्ब अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋणको उल्लेख गर्दै यसलाई दक्षिण एसियामा आफ्नो क्षेत्रीय शक्ति पुनस्र्थापित गर्ने प्रयास भएको बताएको छ । पछिल्लो समय यो क्षेत्रमा चिनियाँ प्रभाव बढेको उल्लेख गर्दे जर्नलले अगाडि लेखेको छ, ‘सीमा विवाद तथा नीतिमाथि विविध द्वन्द्वका कारण पछिल्लो समय यो क्षेत्रमा भारतका केही सम्बन्ध तिक्त भएका छन् । यति नै वेला चीनले भने श्रीलंका, पाकिस्तान तथा बंगलादेशमा बन्दरगाह तथा नेपालमा जलविद्युत् आयोजनामा लगानी गरेर आफ्नो प्रभाव बढाएको छ ।
बेलायती समाचार संस्था रोयटर्सले मोदीको नेपाल भ्रमण क्षेत्रीय कूटनीतिलाई अघि बढाउन केन्द्रित भएको उल्लेख गरेको छ । रोयटर्सले लेखेको छ, ‘प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै मोदीले यो क्षेत्रका साना देशसँगको समर्थन हासिल गर्न प्रयत्न गरिरहेका छन् ।’ ‘द इकोनोमिक टाइम्स’ले प्रम नरेन्द्र मोदीको नेपाल भ्रमणले उनको सरकारको फोकस आफ्ना निकटतम छिमेकीहरूप्रति रहेको पुन: उजागर भएको उल्लेख गरेको छ । टाइम्सले आफ्ना छिमेकीप्रतिको फोकस स्वागतयोग्य भए पनि उनले पश्चिमलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ ।
दीपक सापकोटा
Souce: Naya Patrika