महिलाको अगुवाइमा जुम्लाको हियाँखोला गाउँलाई छाउपडीमुक्त घोषणा।
December 13, 2016
0
December 13, 2016
जुम्ला, २६ मङ्सिर - यहाँको लाम्रा गाविस वडा नं ६ र ७ को हियाँखोला गाउँ छाउपडीमुक्त घोषणा भएको छ। स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा भएको हो।
हियाँखोला तथा बाइस्थाप्ला सामुदायिक संस्थामा आबद्ध ७० घरधुरीका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा गरिएको छाउपडीमुक्त मूल आयोजक समितिका अध्यक्ष देवीकन्या आचार्यले जानकारी दिनुभयो । यो कुप्रथाबाट सिर्जित समस्याले महिला नै बढी पीडित भएकाले यसबाट मुक्ति पाउन छाउमुक्त गाउँ घोषणा गरिएको उहाँले बताउनुभयो।
"हिजो गोठमा बस्थ्यौँ, आज घरमा बस्ने भएका छौँ, यो घोषणाले झनै हामीलाई बलियो बनाएको छ" – खुसी व्यक्त गर्दै माया कामीले भन्नुभयो । रुप्सी न्यौपानेले यहाँका महिलाले रोग, शोक र अपहेलनाबाट मुक्ति पाएको बताउनुभयो । उहाँले लाम्रा गाविस, एक्सन वक्र्स, क्याड नेपाल, बि–ग्रुप/सर्वोदय नेपालले पाँच वर्षदेखि सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमले महिलालाई यो स्थानमा पुर्याएको बताउनुभयो।
लाम्रा गाविस सचिव सुरतबहादुर रावतले महिलाको अगुवाइमा नमुना कार्य भएको भन्दै सबै अगुवा महिलालाई धन्यवाद दिनुभयो । स्वास्थ्य चौकी इञ्चार्ज गुरुप्रसाद चौलागार्इंले घोषणा कार्यक्रमलाई जीवन्त राख्न सबैले लाग्नुपर्नेमा जोड दिनुभयो।
स्थानीय राजनीतिक दल, एक्सन वक्र्स, बि–ग्रुप/सर्वोदय नेपालको सहभागितामा विधिवत् रुपमा हियाँखोलालाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको एक्सन वक्र्स नेपाल, जुम्लाका जिल्ला संयोजक केशव धितालले जानकारी दिनुभयो । परम्परागत रुपमा जरो गाडेको कुप्रथा अन्त्यको घोषणा गरिरहँदा यहाँका महिलाले आजको दिनलाई निकै ठूलो खुसियाली र सुखको दिनका रुपमा लिएका थिए ।
Tags
