"मनसुन" को उपन्यास अंश
सुन्दरे र मेरो मिसनै थियो—
रामेश्वरको बिहेमा कोही न कोही केटी पट्याउने । त्यसैले हामी गिद्धे आँखा लिएर मिसनमा लागिपरेका थियौं ।
मलाई बिहेमा जान मन पर्ने एउटै कारण थियो— राम्री केटी भेटिने सम्भावना ! अक्सर बिहेमा जाँदा मलाई यस्तो लाग्थ्यो— बिहेमा केटाकेटी एक–अर्काप्रति आकर्षित हुन्छन्, चुम्बकको नर्थ पोल र साउथ पोलजत्तिकै ।
बिहेको माहौलमा मलाई मन पर्ने गीतमा नाचिरहेकी जुनसुकै केटी पनि राम्री लाग्थी । जो–जो केटीलाई म हेर्थें, तिनलाई पनि म ठीकठाक लागेको हुँदो हुँ । किनभने तिनीहरू लुकी–लुकी मस्किँदै मलाई हेरिरहेका हुन्थे ।
तर, बिहेको स्यानो माहौलमा टुसाउन खोजेको अव्यक्त प्रेमले ठूलो आकार लिन कहिल्यै सकेको थिएन ।रामेश्वरको बिहेमा उसलाई पहिलोपल्ट देखेको । अरू केटीझैं उसले अनुहारमा धेरै लिपपोत गरेकी थिइन । न उसको शरीरमा थियो गर्हुँगा साडी वा लेहेंगा । न नाक, कान वा घाँटीमा झुन्ड्याइएको थियो सुनौला गहना । ऊ गुलाबी साडी र सुनौलो चोलोमा थिई । आँखामा कालो फ्रेम भएको चस्मा थियो । बिहेमा आएको होइन, स्कुल पढाउन जान लागेजस्ती देखिन्थी ऊ ।
साडी जीउमा टमक्क मिलेको थियो । कपाल फुक्का छाडेकी थिई तर, कुमसम्म मात्र आउने । करिब ५ फिट ५ इन्च हाइट । लौकाजस्तै लरक्क परेकी । एकपटक ऊ निहुरिँदा उसको पनिरको ढिक्काजस्तो स्निग्ध पेटको भागमा मेरो आँखा पुग्यो ।
ऊ जेरी र दहीको लाइनमा हुँदा म दस–पन्ध्र कदम पर प्लेटमा मासु र पुलाउ हालिरहेथें । मलाई प्लेट त्यहीँ छाडिदिएर जेरी र दहीको लाइनमा जान मन भयो, तर बिहानैदेखि पेट यति खाली थियो, केही नखाई उसको पछिपछि लाग्न मनले मानेन ।म प्लेट लिएर उसलाई प्रस्ट देख्न सक्ने टेबलमा गएर बसें । बीचबीचमा मनिसहरू ओहोरदोहोर गर्दा ऊ छेकिन्थी । भोक पनि उत्तिकै लागेको थियो । म कपाकप खान थालें । मासु र पुलाउ पेटमा पुग्न थालेपछि मभित्रको लभ हार्मोन, अक्सिटोक्सिन र भ्यासोप्रेसिनको मात्रा बढ्न थाल्यो ।
म परबाट देखिरहेथें— अलिकति हावा चल्दा पनि फरफर गरिरहेथ्यो उसको साडीको आँचल । त्यति हलुका थियो । त्यति सिम्पल थिई ऊ ।
ब्यान्ड बाजावालाहरू केही पर नेपाली फिल्मका गीतको धुनमा बाजा बजाइरहेका थिए । मलाई बिहेको मन नपर्ने कुरा चाहिँ यही थियो— बाजागाजा † प्याँप्याँ र प्वाँप्वाँको आवाज । यतिखेर बजिरहेको थियो, सिम्पल–सिम्पल कान्छीको... । के ब्यान्डवालाहरू उसैलाई हेरेर त्यही अनुरूपको गीतको धुन बजाइरहेका थिए ?
गीत फेरियो । ब्यान्डवालाहरूले गाला रातै गाला रातै... गीतमा बाजा बजाउन थाले । कतै उसलाई हेरेर त बजाइरहेका छैनन् ? मेरा आँखा उसका गालामा पुगे । पिङ्क कलरको देखियो । रातो होइन रै’छ । ब्यान्डवालाको निसाना अन्तै
कतै रहेछ।
उसलाई नजिकबाट हेर्न पाएको थिइनँ, तर टाढैबाट भए पनि ऊ भीडभन्दा अलग लागी, परीजस्तै लागी । घरीघरी ऊ पनि मतिर नहेर्ने होइन, तर जसै आँखा हाम्रो जुध्थे, उसले नजर मबाट हटाइहाल्थी । उसको छेवैमा जान अप्ठ्यारो लाग्यो, पर बसेर हेर्न खोज्दा भीडले उसलाई छेकिरहन्थ्यो । सुन्दरे वरपर हिँडिरहेको नियालिरहेको थिएँ । मैले हेर्दाहेर्दै उसले दुईवटी केटीसित बोल्न भ्यायो । धन्न, उसको आँखा मैले आँखा लगाएकी केटीमा परेको थिएन । नत्र सुन्दरेले ऊसँग पनि बोल्न भ्याइसक्थ्यो ।
एकछिन ट्वाइलेट गएर फर्कंदा ती केटीलाई कतै देखिनँ । खोज्दै हिँडें । मानिसहरूको भीडभाड पन्छाउँदै । चारैतिर आँखा डुलाउँदै । न निक्लिसकी कि † यताउता कतैतिर देखिइन । हरेक केटीमा गएर आँखा अड्याउँथें, तर आँखाले लगत्तै धोका खान्थे । आँखाले धोका खाए पनि मनले हरेस खाएको थिएन । बिहेको जग्गेतिर गएर चार–पाँच फन्को मारें । हलमा खाना खाइरहेकाहरूको अनुहार चहार्दै गएँ । गेटमा गएर तीन मिनेट उभिएँ । गेटबाहिर पनि गएँ । परसम्म पुगेर फर्किएँ । ट्वाइलेट गै कि भनेर लेडिज ट्वाइटेलको सीधा अगाडि चार–पाँच मिनेट उभिए, तर अहँ उसलाई मैले देखिनँ ।
ऊ मेरा आँखालाई तिख्र्याएर गएकी थिई । मुटुलाई रित्तो बनाएर गएकी थिई । धड्कनलाई जिस्क्याएर गएकी थिई । अक्सर यसरी नै गायब हुन्थे बिहेबाट केटीहरू । कहाँबाट आउँथे अनि कहाँ जान्थे, पत्तै हुन्नथ्यो । ब्यान्ड बाजावालाहरूले नाइँ नभन्नु ल बजाइरहेका थिए । केटी कहाँ अलप भैसकेकी थिई, केही भन्न पाएको भए पो ? के–को नाइँ नभन्नु ल !