फ्रि भिसा , टिकट लागू गराउन सरकार दृढ : प्रधानमन्त्री

0


2015-12-18 आँधीखोला अनलाइन 

काठमाडौं

प्रधानमन्त्री केपी ओलीले विदेशमा नेपाली कामदार 'फ्रि भिसा र फ्रि टिकट' मा पठाउने सरकारी निर्णय पूर्ण कार्यान्वयन गर्न सरकार दृढ रहेको बताएका छन् ।

'अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस' का अवसरमा शुक्रबार शुभकामना मन्तव्य दिँदै श्रम तथा रोजगारमन्त्रीसमेत रहेका ओलीले यस्तो दृढता व्यक्त गरेका हुन् । डिसेम्बर १८ मा मनाइने 'अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस' नेपालमा सोमबारदेखि आइतबारसम्म साताव्यापी कार्यक्रम गरी मनाइँदै छ ।
सरकारले असार २१ गतेदेखि खाडीका ६ मुलुक र मलेसियामा जाने कामदारलाई फ्रि टिकट र भिसा प्रणाली लागू गरेको छ । तर, त्यो प्रणाली नाम मात्रैको भएको गुनासो बढेपछि सरकारी निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको छ । 'वैदेशिक रोजगारी सुरक्षित र मर्यादित हुन सहज र सुलभ पनि हुनुपर्नेमा सरकार स्पष्ट छ,' उनले भने, '७ देशमा लागू हुने गरी सुरु गरिएको यस प्रक्रियाको पूर्ण कार्यान्वयनमा सरकार दृढ छ ।'
उनले वैदेशिक रोजगारी प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित वनाउन वैदेशिक रोजगार विभागबाट गरिने कार्यलाई अनलाइन प्रक्रियामार्फत गराइने भन्दै ठगी रोक्न र संलग्नलाई कारबाही गर्न तयार रहेको उल्लेख गरे । 'मानव जीवनसँग खेलबाड गर्ने र आफ्नै देशका नागरिकलाई ठगेर धनी हुन खोज्ने जो सुकैलाई पनि कानुनको दायरामा ल्याउने, अपर्याप्त भए थप कानुनी प्रबन्ध गर्ने र तिनीहरूको कार्यान्वयनको प्रभावकारितामा मेरो जोड रहनेछ,' प्रधानमन्त्रीको लिखित सन्देशमा उल्लेख छ ।
ओलीले सम्झौता पालना गर्ने र तय गरिएको न्यूनतम पारिश्रमिक तथा सुविधा प्रदान गर्ने कम्पनीहरूमा मात्र श्रमिकलाई पठाइने पनि बताएका छन् । उनले प्रवासमा कार्यरत नेपालीले आफू कार्यरत मुलुकबाटै निर्वाचनमा मतदान गर्ने वातावरण बनाउन सरकारले निर्वाचन आयोगसँग समन्वय गर्ने पनि बताएका छन् ।
आप्रवासी कामदार दिवसमा शुक्रबार बिहान राजधानीको भृकुटीमण्डमा प्रभातफेरी, कोणसभा, वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका कामदारको सम्झनामा माइतीघर मण्डलामा साँझ दीप प्रज्वलन गरे । श्रम तथा रोजगार मन्त्रालय र आप्रवासी कामदारको क्षेत्रमा कार्यरत संस्था 'सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल' ले साताव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका कार्यक्रम राजधानीलगायत २७ जिल्ला र मलेसिया, कतार, यूएई र साउदी अरबमा गरेका छन् ।

राष्ट्रसंघका महासचिवको आहवान
राष्ट्रसंघका महासचिव बान कि मुनले आप्रवासी कामदार कसैलाई पनि नछुटाउने गरी उनीहरूको हितमा साझा संकल्प गर्न आहवान गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा शुक्रबार सन्देश दिँदै भनेका छन्, 'अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा दिन कसैलाई पनि नछुटाउने गरी अन्तर्राष्ट्रिय कानुन र मापदण्डबाट निर्देशित क्रमबद्ध, बृहत् र मानवअधिकारमा आधारित साझा संकल्प गरौं ।' राष्ट्रसंघले सबै आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यहरूको संरक्षणसम्बन्धी महासन्धि पारित गरेको 'डिसेम्बर १८' को सम्झनामा यो दिवस विश्वभर मनाउने गरिन्छ । राष्ट्रसंघले १९९० डिसेम्बर १८ मा पारित गरेको कामदार तथा परिवारको संरक्षणसम्बन्धी महासन्धि २००३ जुलाई १ देखि लागू भएको छ । नेपाल हालसम्म यो महासन्धिको पक्ष राष्ट्र बनेको छैन ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top