काठमाडौं, कात्तिक १५-म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
असोज २७ गते पक्राउ परेका राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, अन्जान केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्रीविरुद्ध विरुद्ध प्रहरीले विशेष अदालतमा राज्यविरुद्धको मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले उनीहरुलाई थप ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि गत १० गते अदालतले उनीहरुलाई १७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । त्यो अनुमति १३ गते नै सकिएको भएपनि त्यसपछि सार्वजनिक विदा भएकाले प्रहरीले म्याद थपका लागि खेलाडीलाई आइतबार अदालतमा पेश गरको हो ।
पहिलो पल्ट म्याच फिक्सिङको मुद्दा परेको र त्यसबारेमा स्पष्ट कानुन नभएकाले प्रहरीले उनीहरुमाथि राज्यविरुद्धको मुद्दा लगाएको छ । राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दा विशेष अदालतलले हेर्ने भएकाले उनीहरुलाई विशेष अदालतमा लगिएको हो ।
