नेपालगञ्ज, कात्तिक १६ - भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल–भारत सीमास्थित जमुनाह नाका सोमबार बिहानदेखि एकतर्फी रुपमा बन्द गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकका अनुसार एसएसबीले माथिको आदेश भन्दै बिहान ११ बजेदेखि जमुनाह नाका बन्द गरेको हो । एसएसबीले नेपाली नम्बर प्लेटका कुनैपनि गाडीलाई रुपैडिया प्रवेश गर्न दिएको छैन ।
तर काम विशेषले पहिले नै सीमापारी रोकिएका नेपाली नम्बर प्लेटका गाडीलाई भने नेपाल आउन दिएको सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरिक्षक विष्णु गिरीले जानकारी दिनुभयो ।
पूर्व सूचनाबिना एक्कासी सीमा नाका बन्द गरेपछि औषधि उपचार तथा अन्य काम विशेषले भारत जान आएका सयौं नेपालीहरु सीमामा अलपत्र परेका छन् ।
यसअघि भारतीयपक्षले मुलुकका अन्य नाकाबाट इन्धन आयातमा कडाई गरेपनि नेपालगञ्ज नाकामा भने केही खुकुलो गरेको थियो । नेपालगञ्जस्थित जमुनाह नाका भएर सवारी साधनको आवागमन नभएपनि पैदल आवगमन भने भइरहेको सीमास्थित नेपाली सुरक्षाकर्मीले जनाएका छन् ।
