नेपालगञ्ज, असोज १८- नेपालगञ्जस्थित नेपाल–भारत सीमाको जमुनाह नाकामा सोमबार पनि भारतीय पक्षले इन्धन तथा अन्य मालबाहक सवारी साधन प्रवेशमा अवरोध गरेको छ ।
भारतले अघोषित नाकाबन्दी गरेको १२ औं दिनमा सोमबार बेलुकासम्म डिजेल बोकेका दुईवटा मात्र ट्यांकर जमुनाह नाका भएर नेपाल प्रवेश गरेको सीमास्थित ईलाका प्रहरी कार्यालयका इन्चार्ज विष्णु गिरीले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थ बोकेका थप केही ट्यांकर रातीसम्म नेपाल प्रवेश गर्न दिने भारतीय पक्षले आश्वासन दिएका छन् । सोमबार बेलुकासम्म आलु, तरकारी तथा अन्य मालसामान ढुवानी भएका एकदर्जन बढि गाडीहरु नाका भएर भित्रिएका छन् ।
सीमामा इन्धनलगायत अत्यावश्यक सामान बोकेका एकसय भन्दा धेरै गाडीहरु लाम लागेका छन् । ती मध्ये पेट्रेलियम पदार्थ बोकेका मात्रै तीन दर्जन ट्यांकर रहेका छन् । यसअघि आइतबार पनि नेपालगञ्ज नाकाबाट डेढ दर्जन बढि मालबाहक सवारी साधन प्रवेश गरेकोमा एउटा पनि इन्धन बोकेका ट्यांकर प्रवेश गर्न पाएका थिएनन् ।