बाँके, असोज १७-भारतले अघोषित नाकाबन्दी खुलाउने घोषणा गरेकै भोलिपल्ट आइतबार नेपालगञ्ज नाका भएर पेट्रोलियम पदार्थ बोकेका कुनैपनि ट्याङ्कर नेपाल भित्रिन सकेनन् । तीन दिनपछि नेपालगञ्जस्थित नेपाल–भारत जमुनाह नाकाबाट इन्धन बोकेका ट्याङ्कर भित्रिन नसकेका हुन् । यसअघि बिहीबार, शुक्रबार र शनिबार नेपालगञ्ज नाका भएर ३० भन्दा ट्याङ्कर भित्रिएका थिए । शनिबार राती पनि पेट्रोल बोकेका १० वटा ट्याङ्कर नेपालगञ्ज भित्रिएका थिए ।
सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार आइतबार बेलुकासम्म सिमेन्ट, कुखुराको दाना, फलफूल तथा तरकारी बोकेका झण्डै दुईदर्जन सवारी साधन नाका भएर नेपालगञ्ज प्रवेश गरेका छन् । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालका अनुसार आइतबार पनि भारतीय पक्षले नेपाल भित्रिने मालबाहक सवारीसाधनमा कडाई गरेको छ ।
ुआइतबार बेलुकासम्म पेट्रोलियम पदार्थ बोकेका कुनैपनि गाडी भित्रिएका छैनन्ु प्रमुख हमालले भन्नुभयो, ुसामान छोड्न आग्रह गर्दा पुरानै कुरा दोहोर्याईरहेका छन् ।ु आइतबार भारतमा सार्वजनिक बिदा भएपनि त्यसकै कारण सीमामा रोकिएका अत्यावश्यक गाडीहरु प्रवेश नभएको भनेर मान्न नसकिने नेपाली पक्षले जनाएको छ ।
आइतबार सीमा नाकामा मधेस केन्द्रित दलहरुको अवरोध पनि थिएन् । सीमामा धर्ना दिन पुगेका तीनजनालाई प्रहरीले पक्राउ गरेपछि सीमाक्षेत्रमा आन्दोलनकारी थिएनन् । भारतको विदेश मन्त्रालयले नेपालमा सामान ढुवानीका लागि सहज गर्न मातहतको निकायलाई निर्देशन दिएको भनिएपछि आइतबार त्यसखालको अवस्था नदेखिएको नेपाली अधिकारीहरुको बुझाई छ ।
सीमामा कुनैखालको अवरोध नभएपनि अघिल्ला दिनका भन्दा कम सवारी साधन भित्रिएको र त्यसमा पनि पेट्रोलियम पदार्थ नआएपछि थप समस्या देखिएको छ । भारतको भन्सार कष्टमले प्रक्रिया पूरा गरेका मालबाहक गाडीहरु समेत एसएसबी कार्यालय अगाडि लाम लागेका छन् । सीमापारी इन्धन लगायत अन्य अत्यावश्यक सामग्री बोकेका गाडीहरु ११ दिनदेखि रोकिएका छन् ।