काठमाडौं, कात्तिक २ – दसैँको टीकाको दिन नजिकिएसँगै गाउँघर फर्कनेको घुईंचो बढ्न थालेको छ । एकातिर इन्धन अभावमा गाडी कम चल्दा यात्रु छतमा र झुण्डिएर यात्रा गर्न बाध्य छन भने यातातात व्यवसायी र मजदुर पनि इन्धनको टुंगो नलाग्दा सास्ती खेप्न बाध्य छन् ।
तर यही बाध्यताका बीच पनि घर फर्किने यात्रु र यात्रु लैजाने गाडी दुःख सुख चलिरहेका छन् । गएका वर्षको भन्दा यो वर्षको दसैँको यात्रा यात्रुका लागि असजिलो र जोखिमपूर्ण बनेको छ भने यातायात व्यवसायीका लागि पनि अभावमा गाडी चलाउन सजिलो भने छैन । दाङ जाने टिकट नपाएर काठमाडौंको नयाँ बसपार्कमा दाङका टीका प्रसाद शर्मा भौंतारिरहनु भएको छ । उहाँले घर जानका लागि टिकट लिन खोजेपनि पाउनु भएको छैन । उहाँ जस्ता धेरै यात्रु घर जान हतारिएका छन् । तर इन्धन अभावले गाडी कम चल्दा घर जानेहरुले निकै सास्ती खेप्नु परेको छ ।
गन्तव्यमा पुग्न नपाएर यात्रुले जति सास्ती खेपेका छन् उत्तिकै सास्ती गाडी धनी र चालकले पनि भोगेका छन् । २र४ दिनसम्म भोक र निद्राको माया मारेर तेलको लाइनमा बस्दा पनि तेल नपाएको चालक बताउँछन् । काठमाडौं–पोखरा रुटमा बस चलाउने नरेश गुरुङ्ग पनि तेल लिन लाइनमा बस्नुभयो, तर पाउनु भएन । उहाँ भन्नुहुन्छ ‘एकदमै समस्या छ, बसभित्रै चाउचाउ खाएर बस्नुपरेको छ भोक तिर्खाको मतबल छैन ।’
यात्रुलाई गन्तव्यमा पुर्याउनको लागि गाडी चालक तेल पाइने आशमा दिनरात लाइनमा बस्छन् । रातभरी गाडी चलाउँदा थाकेका चालकलाई काठमाडौंमा यात्रु ओराल्ने वित्तिकै तेलको आसामा पम्प कुद्न हतार भैसकेको हुन्छ । यसरी भोक निद्राको प्रवाह नगरी तनावमा गाडी चलाउँदा दुर्घटनाको डर भएको चालकले बताउने गरेका छन् ।
काठमाडौं–पोखरा–लमजुङ रुटमा गाडी चलाउने चालक विजय पौडेल भन्नुहुन्छ ‘गाडी त सचेत भएर पो चलाउनु पर्छ । तर हामीले न आराम गर्न पाएका छौं, न त राम्रोसँग खान नै पाएका छौं । मैले लगातार ३८ घण्टासम्म गाडी चलाएको छु । यसरी त दुर्घटनाको डर हुन्छ नै । इन्धन अभावले अति नै समस्या परेको छ ।’
गाडी चालकलाई इन्धनको लाइन बस्ने र रातदिन नभनी गाडी हुईंकाउने तनाव मात्र होइन तराइको बन्दमा त ज्यान हत्केलामा राखेर गाडी कुदाउनुपर्छ । धेरै चालकले त हेल्मेट लगाएर बस चलाएका छन् । कतिपय बसमा त तोडफोड र आगजनी भएका छन् । तर पनि व्यवसायीले जोखिम मोलेरै दसैँमा धेरै परिवारको मिलन गराएका छन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले दसैँ रमाइलो बनाउन व्यवसायीले ठूलो जोखिम र दुःखका साथ गाडी चलाएपनि सरकारले कुनै सहयोग नगरेको बताउनुभयो । सरकारले भनेजस्तो सहयोग नगरेपनि यातायात व्यवसायी र मजदूरले यात्रुलाई सेवा दिइरहेका छन् । यात्रुले पनि जोखिम मोलेर यात्रा गरिरहेका छन् ।