नवलपरासी, असोज २२ – सामाजिक सुरक्षा भत्ता लिएर नवलपरासीका गाविस सचिवहरु गाउँ पसेका छन् । सदरमुकाम परासी र कावासोतीमा बस्दै आएका गाविस सचिबहरु असारपछि बल्ल गाउँ छिरेका हुन् ।
जिल्ला विकास समिति नवलपरासीका लेखा अधिकृत शंकर बस्यालका अनुसार ५६ गाविस र पाँच नगरपालिकाका लागि १० करोड ८६ लाख ५५ हजार रुपैयाँ सामाजिक सुरक्षाका लागि निकासा भइसकेको छ । यो रकम गाउँमा बाड्ने काम गाविस सचिव र नगरपालिकाका कर्मचारी गर्ने उहाँले जानकारी दिनुभयो ।
कावासोती र गैडाकोट नगरपालिकालाई सोझै निकाशा आउने भएकाले उनीहरुले झण्डै दुई करोड रुपैयाँको हाराहारीमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्छ । सामाजिक सुरक्षा अन्तरगत एकल महिला, जेष्ठ नागरिक, अपाङता भएका व्यक्ति, लोपोन्मुख जाति, पाँच बर्षमुनिका दलित बालबालिकाहरुलाई प्रदान गरिने छ । ४० हजार ९ सय ५१ जनालाई जिल्ला विकास समितिले गाविस कार्यालय र नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पठाएको छ ।
दसैंका बेलामा बृद्धबृद्धाहरुलाई र असाहयहरुलाई सामाजिक भत्ता उपलब्ध गराउन उनीहरुलाई पायक पर्ने ठाउँ अथवा घरमै लगेर दिने ब्यवस्था गरेको कावासोती नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्कालले बताउनुभयो ।