बुटवल, १८ भदौ ।
सैनामैना नगरपालिका मुर्गीयामा बस्ने शोभा सापकोटालाई सोमबार एक्कासी टाउको दुखेर छटपटि भयो । प्रेसर बढेको अनुभव भएपछि उनी बुटवल–१२ रामनगरमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा गईन् ।
िअस्पतालको ईमरजेन्सीमा भर्ना गरेर उनलाई रक्तचाप २ सय ४० पुगेको भन्दै चिकित्सकले चेकजाँच गरेर करिब चारघन्टा रेखदेखमा राखी घर पठाईदिए । थप चेकजाँच गर्नुपर्छ भनि चिकित्सकले उनलाई बुधबारको समय दिए । दिएको समय अनुसार भदौ ९ गते बुधबार अस्पतालमा आएर उनले चिकित्सकको सल्लाह अनुसार इको र अन्य चेकजाँच गराईन ।
चिकित्सकले चेकजाँच सकेर नियमित औषधी सेवन गर्नुपर्ने सल्लाह दिए । सन्चो हुने आशामा उनी औषधी लिएर घर फर्किइन् । घर पुगेपछि उनले औषधि खाईन, तर कमी भएन । बिरामी परेपछि उनलाई भेट्न छिमेकी आए । छिमेकीले के रोग रहेछ भनेर जानकारी लिन रिपोर्ट मागेर हेरे ।
अस्पतालमा चेकजाँचपछि दिईएको मुटुको इको गरेको रिपोर्ट हेर्दा अर्काको नामको भेटियो ।
चिकित्सकले रिपोर्ट अनुसारको औषधी दिएको पाइयो । त्यसपछि उनी झन् तनावमा परिन । उनले भनिन–‘उपचार गराउन गएको त झण्डै मरिएन ।’ उनी पुनः अस्पताल पुगीन् र आफूले लगेको औषधी र रिपोर्ट देखाईन । उक्त रिपोट देखेपछि अस्पताल प्रशासन र चिकित्सकहरु झस्कीए । बिरामी शोभा सापकोटाको मुटुको इको एक्सरे गरेका अस्पतालका चिकित्सक डा। उमेश यादवले रुपन्देहीका बुद्विराम हरिजनको इको रिपोर्ट दिएर पठाएका थिए । हरिजनको रिपोर्ट अनुसार सापकोटालाई औषधी दिइएको खबर आजको बुटवल टुडेले छापेको छ ।
अस्पताल प्रशासनले घटना ठूलो हुन्छ भनी माफी मागेर घटनालाई टालटुल पार्न खोजे । तर मुटुजस्तो संबेदनशील कुरामा अस्पतालले यति ठूलो लापरबाही गरेपछि सापकोटाले दोषीलाई कारबाही गर्नुपर्ने बताएकी छन् । आफूले अस्पताल ब्यवस्थापनलाई यस विषयमा जानकारी गराएको उनले बताईन । बिरामीका भाइ तोया लम्सालले अस्पताल व्यवस्थापनले उपचारमा लापरबाही गरेको बताए ।
पाँच घन्टासम्म चिकित्सकको निगरानीमा राखेर आठ गते घर पठाएको बिरामीलाई भोलिपल्ट गरिएको ईकोको गलत रिपोर्ट दिएको भन्दै अस्पताल ब्यवस्थापनले गल्ति लुकाउने भन्दा पनि यस्ता गल्ति गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।
‘मेरो दिदीको अवस्था सामान्य भएकाले कुनै समस्या देखिएन तर जटिल अवस्था भएको भए के हुन्थ्यो रु’ उनले प्रतिप्रश्न गरे । अस्पताल ब्यवस्थापनले यसको जिम्मेवारी लिएर गल्ति गर्नेलाई कारबाही गर्न माग गरे ।
अस्पताललाई यस विषयमा जानकारी गराउँदा सामान्य तरिकाले लिएको बताए । यता चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरेका वुद्धिराम हरिजनले एक हप्ता सम्म औषधी सेवन गरेपश्चात थप औषधी लिनको लागी रिपोर्ट हेर्दा शोभा सापकोटाको नामको रिपोर्ट भएको पत्तो पाए ।
उनले भने– ‘अस्पतालको लापरबाहीले एक हप्ता गलत औषधी खानु पर्यो । मेरो भन्दा शोभाको रिपोर्ट खराब रहेछ सोही अनुसार औषधी खाएँ ।
राम्रो उपचार होला भनेर गएको त अस्पताल भित्र चरम लापरबाही हुने रहेछ ।’ मुटुजस्तो सबेदनशील विषयमा अस्पतालले गरेको लापरबाहीले मानिसको ज्यान समेत जान सक्छ । एउटा विरामीको रिपोर्ट अर्कालाई दिएर उपचार गर्दा बिरामी सन्चो हुनुको साटो थप रोग बढ्ने र मानिसको मृत्युसमेत हुन सक्ने चिकित्सकहरु बताउँछन ।
बुटवलमा मुटु अस्पताल संचालन हुँदा बुटवलबासीले ठूलो आशा र अपेक्षा लिएका थिए । तर अस्पताल प्रशासन र चिकित्सकहरुले मुटु जस्तो संवेदनशील अंगको उपचारमा दिनानुदिन लापरबाही गर्दै जानुले यसको विश्वसनियतामाथि प्रश्न चिन्ह उब्जीएको छ ।
सामुदायिक र गैरनाफामुखी अस्पतालको नाममा प्रचारप्रसार गर्दै आएको सो अस्पतालले अन्य नीजि क्लिनिकभन्दा बढि शुल्क तथा औषधीमा समेत बढि मूल्य लिँदै आएको सेवाग्राहीले गुनासो गरेका छन् । सामान्य चेक जाँच गर्दा पनि ५०(६० हजार रुपैयाँ शुल्क तिर्नु पर्ने सेवाग्राही बताउँछन् ।
एक बिरामीको आफन्तका अनुसार सामान्य चेकजाँच गराउन गएको अवस्थामा अस्पतालले १५ दिन सम्म भर्ना गरी राखेको र विभिन्न चेकजाँच र औषधि उपचारको नाममा ९ लाख बढि रकम खर्च गराएको भएपनि बिरामीको अवस्था जस्ताको तस्तै रहेको गुनासो गरे ।