सदरमुकामदेखि दक्षिणका १६ गाविसलाई
सुविधा पुग्ने गरी निर्मित देशकै अग्लो झोलुंगे पुलबाट आउजाउ सुरु भएको छ ।
नारायणस्थान-९ कैयाबाट पर्वत सदरमुकाम कुस्मा जोड्ने पुल बनेपछि डेढ
घन्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिएको हो । निर्वाचन क्षेत्र नम्बर २
का अधिकांश गाविसवासी सजिलै कुस्माको बाटो भएर सदरमुकाम र पोखरासम्म पुग्न
सक्ने भएका छन् ।
कालीगण्डकी नदीमाथि बनाइएको पुलको लम्बाइ तीन सय ४६ मिटर र उचाइ एक सय ५६
मिटर छ । यसअघि पर्वतको कुस्मा-ज्ञादी एक सय ३५ मिटर अग्लो पुल देशकै अग्लो
थियो । वागलुङको दक्षिण क्षेत्रका बासिन्दा नवनिर्मित पुलबाट सजिलै बजार
आउजाउ गर्न सक्ने भएको निर्माण समितिका अध्यक्ष मिनप्रसाद श्रेष्ठले बताए ।
जिविस पर्वत मार्फत स्थानीय विकास मन्त्रालयको झोलुंगे पुल महाशाखा
डोलिडारले एक करोड ९६ लाख रुपैयाँ लागत अनुमान गरेपछि ठेकेदार गीता निर्माण
सेवाले १ करोड ६४ लाखमा निर्माण गरेको हो । २०७२ भदौसम्मको म्याद भए पनि
एक वर्षअघि नै पुल निर्माण भएको श्रेष्ठले बताए । लट्ठा भने नेपाल सरकारले
झोलुंगे पुल महाशाखा डोलिडारबाट अनुदानमा दिएको थियो ।
चार वर्षअघिदेखि कुस्मावासीले उक्त पुल निर्माणका लागि पहल गरेका थिए ।
तीन वर्षअघि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले शिलान्यास गरेका थिए ।
कुस्मा बजारको व्यापारिक भविष्यका लागि व्यवसायीको सक्रियताले निर्माण सहज
भएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले बताए । पुल
निर्माणले कुस्माको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने स्थानीय
व्यवसायीले विश्वास लिएका छन् । 'नेपालकै सबैभन्दा अग्लो र दोस्रो अग्लो
पुल एउटै नगरमा देख्न र यात्रा गर्न पाउने भएपछि पर्यटक पनि भित्र्याउन
सकिन्छ,' कर्माचार्यले भने, 'केबुलकार प्रकारको यान्त्रिक पुल पनि कुस्मा
बजारदेखि बलेवा जोडिएकाले पर्यटकले एउटै नगरभित्र तीनथरी पर्यटकीय अनुभव
लिन सक्छन् । १६ लट्ठाले निर्मित पुल सदरमुकाम देखि तित्याङ जोड्ने र
पर्वतको ज्ञादी जोड्नेभन्दा आकर्षक देखिएको छ ।
यो पुल निर्माणले सामान्यज्ञानमा सोधिने नेपालको अग्लो र लामो झोलुंगे
पुलको परिचय पनि फेरिएको छ । हालसम्म अग्लो पुलका रूपमा चिनिएको
कुस्मा-ज्ञादी झोलुंगे पुललाई उछिनेर अर्को झनै अग्लो निर्माण भएपछि
सामान्यज्ञानको प्रश्नसमेत फेरिने भएको हो । 'पैदल हिंडा डेढदेखि दुई घन्टा
लाग्ने बाटो पुलले ५ मिनेटको छोटो बनाएको छ,' श्रेष्ठले भने, '१६
गाविसवासीले बिरामी पर्दा सजिलै अस्पताल लैजान सक्ने भए ।' पर्वत जिल्ला
अस्पताल र पुल नजिकको दूरीमा छ । कुस्मा बजारमा व्यवसायसमेत बढ्ने आसले
स्थानीय व्यवसायी उत्साही भएका छन् । पुलले बलेवामा रहेको हवाई मैदानलाई
नजिकबाट जोडेको छ । बलेवा पुग्न वागलुङ बजारदेखि जिपमा गए पनि दुई घन्टा
समय लाग्छ । झन्डै दुई सय रुपैयाँ भाडा तिरेर मात्र पुग्न सकिने बलेवामा
पुग्न अब सदरमुकामदेखि कुस्माको ४० रुपैयाँ र बढीमा १० मिनेटको हिंडाइमा
पुग्न सकिने भएको नारायणस्थान ९ का राजेन्द्र ढकालले बताए । बलेवावासीले
केही वर्षदेखि माग गरेको विमानस्थल सञ्चालनको मागलाई थप मद्दत पुग्ने उनले
बताए ।
यसअघि कुस्मा-ज्ञादी जोड्ने गरी मोदीखोलामा १ सय ३५ मिटर अग्लो र तीन सय
४४ मिटर लामो झोलुंगे पुल देशकै अग्लो थियो । उक्त पुल निर्माणले पूर्वी
पर्वतका दुई दर्जन गाविसलाई सदरमुकामसँग प्रत्यक्ष पहुँच पुगेको थियो ।
बन्जीजम्पसमेत राखिने
यसैबीच उक्त पुलमा बन्जी जम्प खेलका लागि पनि सम्भाव्यता अध्ययन गरिसकिएको
छ । नेपालमै दोस्रो स्थानका रूपमा यो पुललाई प्रयोगमा ल्याउने तयारी
गरिएको हो । पर्यटन मन्त्री भीमप्रसाद आचार्यले पनि पुलको स्थलगत निरीक्षण
गरेर बन्जीको व्यवस्थापन गर्न सरकारी पहल गर्ने आश्वासन दिएका छन् ।
'तपाईंहरू मन्त्रालयमा आउनुहोस्, आवश्यक प्रक्रिया पुर्याएर सहयोग गर्छु',
आचार्यले भने, 'पर्यटन प्रवर्द्धनका लागि यो अवसरलाई उपयोग गर्नुपर्छ ।'
पर्यटन प्रवर्द्धनमा सरकारले सबैखाले अवसरको खोजी गरेको पनि उनले बताए । यो
पुलमा बन्जी राखिएमा भोटेकोसीपछिको दोस्रो गन्तव्य पनि बन्ने विश्वास
व्यवसायीले लिएका छन् ।
पर्यटन प्रवर्द्धनकै लागि व्यवसायीकै अगुवाइमा रकम संकलन गरी ५ करोडमा
बलेवालाई कुस्मा जोड्ने केबुलकारजस्तै यान्त्रिक पुल पनि निर्माण भएको छ ।
डेढ वर्षअघि निर्मित यान्त्रिक पुलबाट पनि दैनिक पाँच सय यात्रुले सेवा
लिइरहेको यान्त्रिक पुल कम्पनीका सचिव केदारनाथ शर्माले बताए ।