विनोद थापा—२६ साउन/
आज भाद्र कृष्ण प्रतिपदा, गाइजात्रा पर्व । उपत्यका लगायतका देशका विभिन्न ठाउँहरुमा आज गाइजात्रा पर्व धुमधामका साथ मनाईंदैछ । दिवङ्गत आफन्तहरुको सम्झना गर्ने तथा उनीहरुलाई आत्मशान्ति मिल्ने विश्वासस्वरुप गाइजात्रा पर्व मनाउने गरिएको छ । गाइजात्रामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन रहेको छ ।
गाइजात्रामा आज ठाउँ ठाउँमा कलाकारहरुले राजनीतिक दल र नेताहरुप्रति ब्यङग्य कसेर कार्यक्रम गर्दैछन् ।
आज नेताहरुमाथि व्यङग्यको झटारो हानिदैछ । आजका दिन दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुहरुद्धारा दूध ,फलफूल ,रोटी दहीचिउराका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ”जनतालाई आ आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुसार गाइजात्राको प्रचलन चलेको जनविश्वास रही आएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वकामा प्रहसन सामाजिक विकृतिहरुप्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरु पनि गाइनो चलन छ ।