राज्यबाट लुटिएको परदेशी “म”

0

उज्यालिएका आशाहरु बोकेर आएको बिहानी ढल्किदै थियो ! सुर्यले पश्चिमको डाँडो काटेर ओराली झरी सकेको थियो ! रात्रीकालिन पर्दाले धर्ति-आकाश छोप्दै थियो ! एक्कासि टिट…टिट… आवाज आयो, म झस्किए, खोइ कुन्नि सहायत मलाई अतितका सपनाहरुले एकोहोरिएको हुनु पर्छ ! ट्याक्सी ड्राइभरले मलाई बोलाएको रहेछ, किन कि मेरो हातमा प्रदेशीले बोक्ने एउटा झोला थियो र उस्ले चिने छ, म प्रदेश जाँदै छु भनेर ! त्यहि ट्याक्सीमा चढेर सिधै एरपोर्ट हान्निए ! अफ्ट्यारा र असहजका पोल्टाहरुले मेरो मनलाई चिमोठी रहेका थिए ! यस्तै चिमोठिएका मनहरुले नचाहेर पनि एउटा यात्रा रोज्नु बाध्यता थियो, त्यहि यात्रा नै “धनयुद्द्का लागि अरब तिरको यात्रा” थियो !


हिजो असमानता र वर्ग विभेद प्रणालीका बिरुद्द झुपडी बाट सुरु भएको क्रान्ति, शहरको कुनै आलिशान महल भित्रै बिलिन हुँदै थियो ! क्रान्तिका कमान्डरहरु सिंहदरबार भित्र सुट-बुटमा सजिएका थिए र प्रतिक्रान्तिका ठेकेदार बन्दै थिए ! हिजोको सर्बहारा चेतना र बिचारले आज सदन भित्र कुर्सिको भाग-बण्डा खोज्दै थियो ! मानौ त्यहाँ मानबिय व्यापारको थलो छ, जहाँ एउटा कुर्सि पनि छ ! त्यहि कुर्सीमा बस्ने र बसाउनेहरुले मानब बेच-बिखनको व्यापार सम्हाल्ने छन् ! हिजो यहि व्यापारका बिरुद्द गाँउ-गाउँबाट राँको बालेर उठेका थिए, त्यहि राँको बाल्ने सदस्यता मैले पनि पाएको थिए ! तर आज उनै सर्बहाराहरु, मानब व्यापारको लागि बिक्रि-वितरण गर्न पाउने हक खोजि रहेका थिए ! मान्छेले मान्छे बेच्ने दलाल बन्दै ठेक्का-पठ्ठा गर्दै थिए ! यस्तो व्यापारले आफ्नो वा पराइ भन्दैनथ्यो र त संगै लडेको सहकर्मी योद्दालाई (आफ्नै लाई) पो बेची रहेका रहेछन ! आफै पो बेचिदै रहेछु ! बेचिरहेका मेरा लाचारीपनहरुलाई मन भित्र जबर्जस्त घुम्टो भित्र बाँधी जिउनका लागि जिन्दगीको रित “धनयुद्द” लाई पछ्याउदै प्रदेश पस्दै थिए !

बेचिएको मान्छे म, मन सम्हालिने त कुरै भएन, बरु आँखा बाट आँसु पो झरे छन, तर बाँच्नु थियो मलाई ! म संग सानो परिवार छ, त्यहि परिवारका लागि भए पनि जिउनु छ ! त्यसैले झरी रहेका आँसु हरुलाई पुछ्दै अड्कि रहेका मेरा पाईलाहरुलाई जबर्जस्त धकेले र त्यहि अधर्मी एरपोर्ट भित्र छिरे, जहाँ हजारौ मान्छेहरु बेचीरहेका थिए, जो हाम्रो देशको राज्य ब्यबस्थाका कारण बेचिन बिबस थिए !

बस्तु परिस्थितिले बर्ग विभेद (सानो-ठुलो) को चेतना जन्माउदो रहेछ ! यस्तो लाग्थ्यो, अमेरिका, जापान, युरोपमा धन कमाउन जानेहरुको सान-मान ठुलै देखिन्थ्यो, खाडी मुलुकमा जानेहरुको उही निन्याउरो र उपेक्षित बर्ग झैँ तल्लो बर्गको दर्जा दिएको भान हुन्थ्यो ! आफु पनि उही खाडीका लागि संघर्ष गर्ने हुलमा परेको थिए ! आफै भित्रका भाबना र विचार बिचका संघर्षका चोटहरु सम्हाल्दै “चिल गाडीमा” चढे ! उड्दै गरेको चिलगाडीमा (हवाईजहाज) बाल्याकालको सम्झनामा बहकिए छु ! अशिक्षा र गरिबीको रेखा मुनि अचेट्टीएका (चेपिएका) मेरा बाबा आमाले घरको आगनी बाट आकाश तिर देखाउदै हवाईजहाज उड्दा “ऊ चिलगाडी आयो भन्थे” ! आज त्यहि चिलगाडीमा बसेर, उनै बाबा-आमालाई बेसहारा बनाउदै आफ्नै छोरो खाडी मुलुक धनको सपना बोकी उडी रहेको थियो ! साहुको ऋणी तमशुक बोकेर सुन्य आकाशमा उडिरहेको थियो ! उडी रहेको गाडी बादल भित्र कतै ठोकिदा आउने घट्याक-घटकले मलाई तर्साउथ्यो ! सुनसान रातमा गन्तब्य बिहिन उडी रहेको जहाजको झ्याल बाट बाहिर हेरे ! धेरै गहिराईमा कहिँ कतै टिलपिल- टिलपिल बत्तिहरु देखिन्थे ! तिनै तिल-पिल बल्ने बत्तिहरुले फेरी उज्यालो फिर्ने संकेत दिएको आभास हुन्थ्यो ! जहाज भित्र धेरै जसो मान्छेहरु मस्त निन्द्रामा देखिन्थे ! मेरो निन्याउरो थुतुनो देखेर होला, होस्टेजले शोध्ने गर्थी, “वुड यु लाइक समथिंक" ? मैले मुन्टो हल्लाएर “नो” भन्थे !

सवा ४ घन्टाको हवाई यात्रा पछी यु.ए.ई.को सारजाहा सहरमा पुगेछु ! जुन देश असल शासन र प्रणाली भित्र सजिएर चकमन्न बलि रहेको थियो ! नेपालमा एउटा तानाशाही राजतन्त्र ढालेर प्रदेश हुइकिएको मान्छे, ! राजाको नाम सुन्दा नै असुभ लाग्थ्यो ! राक्षेसको आभाष हुन्थ्यो तर त्यहि राजतन्त्र भएको देश यु.ए.इ.को असल शासनमा मानबहरु समयको महत्वलाई बुझ्दै, समयको एक पललाई उपयोग गरेका देखिन्थे ! झिनो समयको पल नै उनीहरुको अमुल्य जिन्दगी थियो ! मानौ त्यहाँ जस्ले गर्छ काम उसैलाई मिल्छ माम ! काम नगरी केवल दलाल गर्नेहरुलाई त झुन्ड्याईन्छ ! झुट बोल्नेको जिब्रों नै काटिन्छ ! बलात्कारिहरुलाई चौबाटोको सडक छेउमा जिउदै गाडेर हिड्ने मान्छेहरुले डुङ्गा टिपेर हानि –हानि मार्छन ! त्यस्तो देशमा मान्छेहरु राजालाई नै भगवान वा अल्लाह ठान्दथे, तर त्यो जबर जस्त मनाइएको होइन ! त्यहाँ त प्रजाहरुलाई गास, बास, कपासका लागि रोजगारको ग्यारेन्टी रहेछ ! अनि के को बिद्रोह ? के को असान्ती ? सबै साम्य हुँदो रहेछ र त मान्छेहरु कानुनमा हिड्दा रहेछन ! कानुन लाइ नै धर्म ठान्दा रहेछन !

एउटा युबक स्वदेशमा बेरोजगार हुँदा रोजी-रोटीका लागि प्रदेश पस्छ तर त्यो युबकलाइ हाम्रै देशको राज्य ब्यस्थाका बंगुरहरुले प्रणाली र प्रकृयाका अंकुश लगाउदै यसरी खोप्दा रहेछन, यसरी लुट्दा रहेछन !
यस्तो लाग्छ, हाम्रो राज्य भित्र मानब बस्तीका मुखियाहरु नै मानब बस्तीलाई भोकमा तड्पाएर रोजी रोटी खोज्नका लागि बाध्य पारिन्छ र जाने बाटो भरि फजुलका पसलहरु थापेर उसैलाई लुटिन्छ ! त्यहि मानब बस्तीमा जन्मेर हुर्केको मनुवा हुँ म ! अच्चम त यो छ, म यो देशको नागरिक हुँ भनेर प्रमाण बनाउदा तिनै फजुलका (लुटेरा) पसलेहरुले प्रणाली र प्रक्रियाका अंकुशहरुले खोपेर खोक्रो बनाउदा रहेछन ! मैले बोकेर हिडेको तमसुक मेरा बाबा-आमाले भिराएको होइन, त्यो त केवल रोजी रोटी खोज्न जाँदा फजुलका पसलेहरुले भिराई दिएको तमशुक हो !

म फलानाको छोरो, फलानो ठाउमा बस्ने सहि साँचो हो भनि सदर गर्न गाबिस सचिप-अध्यक्ष देखि फजुल पसलका आसे-पासेहरुलाई बोतल र कुखुराको साँप्रोको भेटि चढाएर सुरु हुँदो रहेछ ! त्यसपछि नागरिक कार्यालयमा जसो तसो नागरिकता बनाई फेरी पासपोर्ट बनाउनका लागि आर्को चार-धाम गर्नु पर्ने, छिटो र छरितो हुने लाभ देखाउदै फजुल पसलको आडमा दलालीहरु १० हजार लिएर पासपोर्ट बनाई दिदा रहेछन ! दलाली संग साँठ-गाँठ गरेका मेडिकल र डाक्टरहरुको पनि उही चर्तिकला, केजाते-कुजाते चेक भन्दै ५/७ हजार भन्दा बढी नै लुट्दा रहेछन ! मेडिकल फिट नभए त घुस-पिसको कुरा पनि चल्दो रहेछ, तर वास्तबमा विदेश पुगी सकेपछी नेपालको मेडिकल रिपोर्टको कुनै मान्नेता हुँदैन रहेछ ! केवल स्वास्थ्य ठिक छ वा छैन भनेर पक्का गर्नका लागि मात्र रहेछ ! अब भिजा प्रोसेसको लागि पैसाको साँछी फड्के किनारामा होइन उनैको झोलीमा एडभान्स स्वरुप २०-३० हजार रुपैया राख्नु पर्ने रहेछ ! भिजा आईसके पछी नजाने हुनसक्छ भनेर, इमान-जमान हराएको देशमा पैसाको साँछी राख्नु पर्दो रहेछ ! उता शहरको बसाई अनि महँगी, दिशा-पिसाब गर्दा पनि पैसा तिर्नु पर्ने रहेछ भने खान, बस्न, हिड्न कति खर्च लाग्छ होला ! भिजा आज आउला खोई, भोलि आउला खोई आउदैन, उल्टै तिम्रो योग्यता, क्षमताले भ्याएन, सके सम्म १२ पढेको नभए SLC त हुनै पर्ने, अंग्रेजी लेख्न, बोल्न जानेको मान्छे चाहिएको रहेछ भन्दै दलालीहरुले दोषी बनाउदै टालटुल गर्दा रहेछन ! जसो तसो बिल्डिंग कन्ट्रक्सनमा भिजा आउदो रहेछ, किन कि अशिक्षित नेपाली कामदारको सिप र क्षमताले पनि त्यस्तै काम र भिजाको निर्धारण गर्दो रहेछ !

यसरी फजुलका पसलहरु बाट लुटिएर थलिएको युबक केहि झिनो आशा र सपनाहरु बोकेर जब विदेश पस्छ ! उ ठुलै छाँगा बाट खसे सरि हुन्छ ! किन कि उसले कामगर्ने भुमि मरुभूमिको नाङ्गो बालुवाघारी हुन्छ ! खाडीको ५० डिग्रीको चर्को घाम ! उसले गर्ने काम सयौ तला भन्दा अग्ला बिल्डिंग बनाउनेमा हुन्छ ! तलब पनि दलालीले भने जति हुँदैन ! घर फर्किने उपाए पनि छैन ऋणले चुर्लुम्म डुबेर तमसुक बोकेर प्रदेश पसेको त्यो मानब अब कसरि फर्किन सक्छ ! मर्नु नबाँच्नुको दोसाँधमा उभिएर कतिले त आत्महत्या पनि गर्दा रहेछन ! नमिल्दो हावा-पानि र कामको चापले सुतेको मान्छे बिहान उठ्न नपाई सुतेको सुतेई पनि हुँदो रहेछ ! जिन्दगीको के भर भोलिको बिहानि लाइ देख्न नपाइने पो हो कि भन्दै मन भरि पिडा भरेर सुत्दा रहेछन ! सुत्ने गर्दछु !

जसो-तसो जिन्दगीलाई बचाएर २/४ पैसा जोगाएर केहि बर्ष पछी आफ्नै भूमिमा फर्किन्छ प्रदेशी ! सधै लुट्न पल्केकाहरु फेरी त्यहि प्रदेशीलाई लुट्न तल्लिन हुन्छन ! रातको समय हुन्छ, आफन्त लाई फोन गर्नै पर्यो, फोन गर्न खोज्दा एरपोर्ट भित्रको पब्लिक फोनले काम गर्दैन, अनि त्यहि काम गर्ने कर्मचारी, पुलिशहरु आउछन र मेरो मोवाई बाट गर्नुस भन्छन ! एक मिनेट पनि कुरा हुँदैन होला, कति भयो भन्दा २०/२५ रुपिया बिदेशी पैसा दिनु न भन्छन ! अच्चम छ २०/२५ बिदेशी पैसा नेपाली रुपैया ५०० देखि ७०० सम्म हुन्छ ! एक मिनेटलाई यति महंगो तिर्नु पर्ने, नतिरे धेरैको सामु त्यहि बेजत गरिदिने ! अब एरपोर्ट बाहिर निक्लियो हरे भगवान !.... ड्राइभरहरुको चर्तिकला हेर्नलाएक हुँदैन ! लाग्छ त्यहाँ दशैँ आउदैछ ! दशैका लागि राँगा-खसीको खरिद बिक्रि भै रहेको छ ! मेरो गाडीमा जाउँ दाई भन्दै ताना–तान, एउटा ड्राइभर संग कुरा भैरहेको हुन्छ, आर्को ट्याक्सी ड्राइभरले सामानको ट्रली लगेर आफ्नै ट्याक्सीमा हाली सकेको हुन्छ ! उस्तै परे जबर्जस्ति पनि चल्दो रहेछ ! काठमाण्डौ भ्यालीमा भित्र भाडा सोध्यो कि ८ सय देखि १००० भन्छन ! त्यो प्रदेशी घर पुग्दा सम्म कति लुटियो होला ! अब आफै भन्नुहोस, कुनै सिस्टम र प्रणाली नभएको राज्यलाई के भन्ने ? लुटतन्त्रको राज्य नभन्ने ? मानब व्यापारको राज्य नभन्ने ?

छुट्टी सकियो देशमै बस्ने आधार पनि छैन, फेरी फर्किनु पर्ने, गएकोसाल मेरी आमाले संसार छोडी सक्नु भयो ! ८० बर्ष पुग्नु भएको बाबा हुनु हुन्छ, उहाँ लाइ फेरी पनि बिदेशमै फर्किनु बाध्यता छ ! कतै म मरे भने पनि मेरो जिबन बिमा बाट मेरो परिवार लाइ केहि आर्थिक राहत मिल्ला र देशलाई पनि बैदेशिक आय करको लागि सानो सहयोग होला भनि कोटेश्वर स्थित श्रम मन्त्रालयमा श्रम अपडेट र जिबन बिमा गर्न जाँदै थिए ! सरकारी कार्यालय पुग्नु भन्दा केहि अगाडी चोकमा हातमा फर्म र कलम बोकेर फर्म भरौ दाइँ छिट्टै हुन्छ भन्दै पिछा गर्ने मान्छे भेटिए ! यस्तो लाग्थ्यो सरकारी क्षेत्रको कुनै पनि कार्यालय बाहिर सहयोगको बहानामा भेटिने मान्छेहरु (दलाली) देख्दा गणतन्त्रको लुट्ने परम्परा बनेछ ! यस्तो परम्परा यु.य.इ.को नेपाली राजदूतावासमा पनि देखियो ! MRP पासपोर्ट बनाउन जाँदा बाटो मै पछ्याउदै आउदा म रिसाए पनि ! केहि पढे-लेखेकाहरुलाई उल्लु बनाउदै सामान्य फर्म भर्दा पनि दलाली लागेर लुट्छन ! अशिक्षितहरुलाई सहयोगको बहानामा पैसा लुट्ने गर्छन ! कुनै पनि सरकारी कार्यलयमा ब्यबस्थित सिस्टम र आबश्यकीय जन शक्तिको अभाबले निम्त्याएको बस्तुस्थितिलाई प्रयोग गर्दै कर्मचारीतन्त्र जन्मेको रहेछ ! मेरो आफन्त कुनै राजनीतिमा वा कर्मचारिमा नभैदिदा, कि तिनै दलालीहरुलाई छिचोल्दै लामो लाइनमा बस्नु पर्यो, कि यिनै दलालीहरुलाई उपयोग गर्नु पर्यो ! यस्तै दलाली परम्परा बाट ग्रसित मेरो देश छ र मेरो देशको कानुन छ !

बेरोजगारले भैतारी रहेका युवाहरुलाई मौकामा चौका हान्दै, युबाहरु लुटिरहदा राज्यको कुनै मापन र अनुगमन हुँदैन, बरु ति फजुलका पसलहरु दिन दुइ गुणा, रात चौ-गुणा भएर बढेका हुन्छ ! यो देशको कानुन किन सुति रहेको होला ? पुलिस प्रसासनको काम के होला ? एउटा प्रदेशी यति सम्म लुटिदा र अब्यबस्थित प्रणालीको मारमा पिल्शीरहदा, हाम्रो देशको राज्य ब्यबस्था मुख-दर्शक भएर किन बसी रहेको होला ? खोइ त हाम्रो देशको कानुन, खोइ त हिजोको महान क्रान्ति ?

एउटा तानाशाही ढाल्दा, सयौ तानाशाहहरु जन्मिन छन् भने युद्दको के अर्थ भयो ? १९ दिने आन्दोलनको के काम रह्यो ? हिजो कै रहिथाने लुटेरा पुराना पार्टीहरुलाई मेरो भन्नु केहि छैन, तर सर्वहारावर्गको भन्निने पार्टीको उही चाल, उही ढाल देख्दा, १७००० सहिदको बलिदानी र लाखौ जनताको त्याग र तपस्याले सिन्चिएको पार्टीले आम सर्बहारा जनतालाइ नै लुटी रहेको छ, राज्यको सिस्टम र प्रणालीले लुटिरहेको छ ! त्यसैले सर्बहारा राजनीतिको अनुहारलाई बैमान र अनैतिकताको कु-रुपले पोति दिए, रगतको मूल्य बाट जन्मिएको पार्टी उही भ्रस्ट र दलाली बन्दा, राजनीति बाट हात धुनु शिवाय उपाए नै रहेन ! त्यसैले अब प्रतिक्रान्ति खोज्न कुनै लिम्प्याओको इतिहास पल्टाउनु पर्दैन यहाँ, आफ्नै शहिद परिवारजन भित्रबाट प्रतिक्रान्तिका संखहरु फुकिन सक्छन, हिजोको साम्यवादी पाइलो आज प्रदेशमै अडिएको छ, त्यही प्रदेशी पाइलो भोलि तिम्रा दाससंस्कारको खाडल खन्न फेरी चालिन सक्छन, यो पनि केवल बिबस्थामा, बाध्यतामा ‼

धन्यबाद !!
- के.बि. गुरुङ- (हाल यु.ए.ई.)
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top