- शिव प्रकाश -
मोदी आए राजनीतिमा ऋषिमन चाहिन्छ भनेर उपदेश दिएर गए । मोदीलाई के थाह ? किसुनजीको बोधीमनले काम नगरेको देश हो नेपाल भनेर !
‘फोर ह्विल ड्राइभ सिष्टम’मा चलेको हाम्रो देशको ‘पावरफुल’ राजनीतिको ‘टु ह्विल’ धनवादले चलाएको छ ‘टु ह्विल’ डनवादले चलाएको छ ।
यस्तो ‘पावरफुल’ राजनीति भएको देशमा न मोदीको ऋषिमनको काम छ ? न किसुनजीको बोधीमनको काम थियो ? ऋषिमन र बोधीमन हैन मूल राजनीतिमा चरीमनको चलखेल देखियो । चरीको चमत्कार बाँचुन्जेल त थियो–थियो मरेपछि झन् बढी भयो ।
जुन चरीलाई राज्यले ‘अपराधी’ घोषित ग¥यो । त्यही चरीलाई एमालेले ‘धर्मवादी’ ठान्यो । त्यही ‘ धर्मवादी’ मारिदा सडक अबरुद्ध् भयो । आन्दोलन भयो । संदसमा हंगामा भयो । चरीले रुखको हाँगोसम्म त लहल्लाउथ्यो तर यो चरीले त एमालेका मूल जरै हल्लायो । वनचरी र धनचरी बीचको फरक पनि यही होला !
चरी म¥यो पुलिसको गोलीले । पुलिस प¥यो फन्दामा ओलीको बोलीले ।
राजनीतिक वृत्तमा सबैभन्दा पहिला एमालेका अध्यक्ष केपी ओली कुर्लिए । छापामा झापाको बोली आउने बित्तिकै अरु एमालेले पनि औंला ठड्याए । ‘जिम्मेवार भनिएका नेता’ले चरी आन्दोलन चलाए । चरीको ‘हत्या’ गरिएको अर्थ लगाए । विरोध गरे । छानबिनको माग गरे । शहीद घोषणा गर्नु पर्छ भने ।
अनेक शंका उपशंकाका कुरा गरे । ठूलै राजनीतिक खैलाबैला मच्चियो । बुझेर गरे ? नबुझेर गरे ? बुझे पनि नबुझे जस्तो गरेर गरे ? नबुझे पनि बुझे जस्तो गरेर गरे ? नूनको सोझो गरे कि गुनको सोझो गरे ? तर गर्न चैं गरे, गरी नै रहे र गरी नै रहेका छन् !
चरीको मृत्युले देशमा एकाएक नयाँ हुरी बतास ल्यायो । एमाले मात्र हैन देशै हल्लायो । डनको शोकमय राजनीति सुरु भयो । एउटा अपराधीको मृत्युले पनि यतिसारो राजनीतिक मान्यता पाउला भन्ने कसैले सोचेको थिएन । डनका पछाडि नेतामन यतिसारो भावविह्वल भएर छाती पिट्ला भन्ने पनि सायद कसैले अनुमान गरेको थिएन । तर पनि नयाँ केही भएन, हाम्रो देशमा सोचेको जस्तो कहिल्यै हुदैन । हुने भए नेताले अपराधीलाई आत्मामा राखेर किन हिड्थे ? डनका लागि किन भिड्थे ? छाती पिटीपिटी किन मरिहत्ते गर्थे ?
देशभरी बाढी पहिरोले गरीबगुरुवाको बिचल्ली बनाएको छ । रुवाबासी चलाएको छ । यस्तामा ओली जस्ता नेताको बोली फुट्दैन । अभिव्यक्ति मनोविज्ञानले भन्छ– मस्तिष्कमा जे बसेको छ बोलीमा त्यही अभिव्यक्त हुन्छ ।
अनुमान गरौ, कस्तो रहेछ हाम्रो देशको राजनीति ? कस्तो हरेछ नेताहरुको मनस्थिति ?
हुन त हिजो चितवन तिरको तरुणदलको एउटा ‘झिँगेगुण्डो’ मारिदा पनि शहीद घोषणा गरिनु पर्छ भने केही कुर्लेका थिए । ठगी, डकैती, चोरी–चकारी, हत्या, बलत्कार गर्ने झिनामसिना गुण्डा–फटाहा त शहीद घोषित भए भने यी चरी त ठूलै डन हुन् । कत्राकत्रा ठूला काम गरेका छन् । अरुलका लागि नगरे पनि नेताको भाँडो भरेका छन् । नेताका लागि गर्नु भनेकै देशका लागि गर्नु हो । नेता भनेकै देशका लागि हो । र त नेता बचाउन देशले अरबौं झ्वाम पारिरहेछ । सबैलाई वैतरणी तारिहरेछ ।
चरी जस्ता ठूला मान्छेलाई शहीद घोषणा नगरेर के जोगीलाई गर्ने त ? नगरे राज्यले चरीको योगदानको मात्र हैन नेताको अपमान पनि गरेको ठहर्छ । नेताको अपमान भयो भने देशको शान मर्छ ।
चरीको मृत्यसँगै एउटी ‘प्रेमचरी’को नाम पनि जोडिएर आयो । हिन्दी सिनेमाका कहानी जस्ता कथा–कथुङ्ग्रीले छापामा प्रसस्त ठाम पायो । ‘चरी र प्रेमचरी’को कहानी नेपाली छापालाई पापा पाए जस्तो भयो ।
तर ती ‘प्रेमचरीले’ डनचरीको पक्षमा मात्रै वकालत गर्नु भन्दा अस्कफोर्ड युनिभर्सिटिको वौदिकतालाई देशका तमाम् युवाको पक्षमा उपयोग गर्दा कति बेस हुन्थ्यो होला ?
चरीको गैर न्यायिक हत्या भयो । कुरा अहिले सर्वोच्च अदालतसम्म पुग्यो । राम्रो भयो, कसैको पनि गैर न्यायिक हत्या हुनु हुदैन । देश, कानुन हिन र न्याय बिहिन बन्नु हदैन । चरी अपराधी होलान् तर अपराधीलाई पनि कानुनले अख्तिायर गरेको बाटोबाट कारबाही हुनु पर्छ । सिधैं सफाई गर्नु हुदैन ।
‘वृटिस मोरलिष्ट’ भनेर चिनिने राजनीतिक तथा नैतिक विचारवादी चिन्तक डी डी राफेल भन्छन्– ‘न्यायले एकसाथ दुई अनुहार देखाउँछ तर दुबै अनुहार वैधिक र नैतिक हुन्छ ।’ न्यायको त्यो वैधिक र नैतिक अनुहार सधैं उज्यालो हुनु पर्छ ।
चरीको ‘हत्या’ वा ‘पुलिस इन्काउन्टर’को प्रसंगसँगै केही प्रश्न उब्जिएका छन् । निष्ठा र नैतिकता कुब्जिएका ठाउँमा यी प्रश्नको अर्थ त छैन, तर पनि यी प्रश्नसँगै ओली लगायतका नेता सामु नैतिक चुनैतिको चुली पनि चुलिएको छ ।
१) राज्यले अपराधी मानेको दिनेश अधिकारी उर्फ चरी उर्फ डनचरीलाई एमाले लगायत राजनीतिकवृत्तले अपराधी मान्ने कि नमान्ने ?
२) मान्ने भए अपराधीलाई राजनीतिक संरक्षण किन दिने र किन दिइयो ?
३) नमान्ने भए चरी अपाराधी होइनन् भनेर भन्न किन नसक्ने ?
४) चरी अपराधी हैनन् भने निरपराध मान्छेलाई अपराधी घोषित गर्ने राज्य प्रशासनलाई सबैभन्दा पहिला कारबाही किन नगर्ने ?
५) के नेपालमा चरीको मात्र गैर न्यायिक हत्यो भयो ? चरीका बारेमा एमालेको उपल्लो तहमै यत्रो ‘दिलचस्पी’ किन भयो ?
६) एउटा कुख्यात डन मारिदा आन्दोलन गर्ने, जनता मारिदा ती नेताहरुको बोली नफुट्ने कारण के हो ?
७) ‘एमाले भट्टी’ (तपाइँको शब्दमा) गुण्डालाई खारेर झन् ठूलो गुण्डा बनाउने हो कि मारेर गोहीका आँशु चुहाउने हो ?
८) “चरी पुलिस इन्काउन्टरमा मारिएको हो” भनेर तपाइँकै पार्टीका तपाइँकै लविका, तपाइँकै छविका उपाध्यक्ष तथा गृहमन्त्री श्री वामदेव गौतमले स्पष्ट शब्दमा भन्नुभएको छ । पुलिसमाथि खनिनुभन्दा पहिला यिनलाई कारबाही गर्नु तपाइँको नैतिक दायित्व हो कि हैन ?
९) तपाइँले प्रश्न पुलिसलाई सोध्ने कि तपाइँकै पाटीका गृहमन्त्रलाई ?
सर्व श्री ओलीज्यू, चरी आन्दोलनसँगै यी प्रश्ने जवाफ खोजेका छन् । जवाफ दिनुस् । त्यसपछि बढाउनुस् चरी आन्दोलन र गराउनुस् न्यायिक छानबिन।
नेपालमा एउटा डनचरी मात्र हैन, जनप्रिय नेता मनद भण्डारी पनि मारिए । डन चरीको घटना तरोताज भयो विस्मिृतिमा जाने कुरै भएन । मदन भण्डारीको मृत्यु विस्मृतिमा गै सकेको छ भने स्मरण गराउन चाहन्छु– २०५० साल जेठ ३ गते उनी ‘मारिएका’ (तपाइँकै शब्द) थिए ।
त्यसको दश वर्ष पछि २०६० साल साउन १ गते मदन भण्डारीको कथित जीप दूर्धटनाका जिउँदा साक्षी अमर लामा पनि मारिए ।
नेपालका राजतन्त्रको इतिहासमा सर्वाधिक प्रिय बनेका राजा वीरेन्द्र पनि २०५८ साल जेठ १९ गते मारिए ।
राजा, नेता र डन मारिएको देशमा अरु सर्वसाधरण कति मारिए त्यसको तथ्यांक बनाउने हो भने ठूलै ठेली बन्न सक्छ ।
यी प्रसंगसँगै थप प्रश्न पनि उब्जिएका छन् । यी थप प्रश्नसँगै तपाइँहरुसामु नैतिक चुनैतिको त्यही चुली फेरी चुलिएर आउँछ ।
१) नेता मदन भण्डारीको अवसानलाई मुलतः तपाइँले के भन्नु भएको थियो, याद छ ?
२) “हामीले हत्यारा चिनेका छौं । हामी सरकारमा गएको भोलिपल्टै हत्यारालाई हथकडी लाउँछौ” भनेको हो कि हैन ? (तिनताक तपाइँ लगायतका नेताको बोली नेपाल टेलिभिजनका थोत्रा टेपमा अझै होलान्, खोजेर सुन्नुस् ।)
३) पहिलो मध्यावधी निर्वाचनसँगै २०५१ साल मंसिर १४ गते प्रिय नेता मनमोहन अधिकारी नेतृत्वको गठित सरकारमा तपाइँ चौथो वरियताम रहेको शक्तिशाली गृहमन्त्री भएको हो कि हैन ?
४) भन्नुस, त्यतिबेला तपाइँ र एमालेलाई केले रोक्यो जननेता मदन भण्डारीको हत्याको छानबिन गर्न ? सत्तामा गएपछि किन चुइँक्क बोल्नु भएन त्यो हत्याका बारेमा ? र अहिलेसम्म किन मौन हुनुहुन्छ तपाइँ र किन मौन छ एमाले ?
५) डन मारिदा बोल्ने मुख अमर लामाको हत्यामा किन बोलेन ? देशको गद्दिनसिन राजा मारिदा तपाइँको त्यही मुख किन खोलिएन ?
६) यी सबै घटनाको न्यायिक जाँचबुझ हुनु पर्छ भनेर तपाइँहरुको ज्ञानचक्षुले किन ठम्याउन सकेन ?
७) नेताहरु सत्ताहिन हुँदा जे पनि बोल्ने सत्तासिन हुँदा त्यही कुरा ‘बोकाका मुखमा कुभिण्डो’ हुने कारण के हो ?
८) एउटा कुख्यात अपराधी डनको पक्षमा एउटा जिम्मेवार पार्टीको अध्यक्षले खुलेरै बोल्दा नैतिक धरातलको किंचित ख्याल नहुनु दुःखदायी हो कि हैन ?
९) यसले राजनीतिमा डनवाद र धनवादको समिश्रण कति गाढा रहेछ भनेर स्पष्ट पार्छ कि पार्दैन ?
यी प्रश्नको जवाफ तपाइँहरुसँग छैन र राजानीतिमा नैतिकताको कुनै स्थान हुदैन भने डनचरीलाई शहीद घोषणा गर्नै पर्छ । सरकार नर्कटको बार भएर तगारो बन्छ भने ढालेर भए पनि, फालेर भए पनि, गालेर भए पनि गर्नै पर्छ । अविलम्ब होस् । विलम्ब नहोस् ।
Source: My Sansar