बाढीपीडित सुत्केरीको बिजोग

Unknown
0
२०७१ भदौ, ५ बिहीबार
बर्दिया : बाढीका कारण तीन दिनकी सुत्करी २५ वर्षीया मनसरी बुढाको बिजोग भएको छ। बाढीले घर बगाएपछि विस्थापित भएकी बर्दियाको गुलरिया- २ गौतमबस्तीकी मनसरी अहिले बबई क्याम्पसमामा रहेको शिविरमा भोकै बसेकी छन्।

उनले तीन दिनअघि छोरा जन्माएकी हुन्। उनलाई सुत्करी व्यथा लागेपछि जिल्ला अस्पताल बर्दिया पुर्‍याइएको थियो। बच्चा जन्माएपछि उनलाई बबई क्याम्पसमा नै ल्याइयो। अहिले शिविरमा उनी भुजा र चिउराको भरमा छिन्।

पोसिलो खाएर आराम गर्नुपर्ने बेलामा उनी कसरी बाच्ने भन्ने चिन्तामा छिन्। 'सुख्खा कुरा निल्नै सकिँदैन के गर्ने?, अरू खानेकुरा केही छैन', मनसरीले भनिन्, 'अस्पतालले पठाइदियो, अब कहाँ जाने? फेरि यहीं आइयो।'

'पैसा, गहनादेखि घरमा भएको सबै अन्‍नपात पहिरोमा पुरियो', मनसरीका पति प्रजित बुढाले दुखेसो पोखे, 'सुत्केरी पत्नीलाई पोसिलो खुवाउनेपर्ने बेलामा सुख्खा पनि खुवाउन सकिएको छैन।' मनसरीले पोसिलो खान नपाएका कारण दूध पनि आएको छैन।

अर्की सुत्केरी २४ वर्षीया झरना शाहीको अवस्था पनि उस्तै छ। उनले चिउरा र भुजाबाहेक केही खान पाएकी छैनन्। 'अहिलेसम्म पोसिलो खाना त परै जाओस् पेटभर चिउरा पनि खान पाएकी छैन', उनले भनिन्। एक महिनाकी सुत्करी उषा विक पनि चार दिनदेखि भोकै छिन्। उनको काखको बच्चासमेत बिरामी पर्न थालेको छ। आफू भोकै हुँदा दूधसमेत नआएको उनले बताइन्।

बाढी आउनुअघि २९ गते पत्नीलाई सुत्करी व्यस्थाले च्यापेपछि अस्पताल पु:याएका तेजबहादुर दानीले अस्पातलमै घर बगाएको थाहा पाए। बाढी आएकै बेला उनको छोरा जन्मियो, त्यसपछि अस्पतालले उनकी पत्नीलाई डिस्चार्ज गरिदियो। अहिले तेजबहादुरले सुत्करी र नाबालक छोरालाई होटेलमा राखेका छन्। तर सबै सम्पत्ति बगाएकाले अब कहाँ राख्ने भन्ने चिन्ताले तेजबहादुरलाई सताएको छ।

नौ महिनाकी गर्भवती आशा परियारलाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख डा. अच्युत लामिछानेले बाढीबाट पाँच सयभन्दा बढी सुत्करी विस्थापित भएको बताए। लामिछानेले विस्थापित सुत्करी र बच्चाहरूमा निमोनिया, जन्डिसजस्ता समस्या देखिन सक्ने बताए।

उनले महामारी फैलने आशंकाले जनस्वास्थ्य कार्यालय संवेदनशील रहेको बताउँदै सातजनाको चिकित्सक टोली तयारी अवस्थामा रहेको बताए।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top