असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो छ

0
काठमाडौ, श्रावण १३ - प्रेमीसँगको सम्पर्कबाट बसेको गर्भ फाल्न १९ वर्षीया शर्मिलाले नजिकैको पसलबाट औषधि किनेर खाइन् । बिहेअघि नै पेटमा हुकर्ंदै गरेको तीन महिने गर्भ तुहाउन औषधि खाएपछि तल्लो पेट जोडसँग दुखेर रक्तस्रावसँगै भ्रूण नष्ट भयो । तर त्यस दिनदेखि सुरु भएको पेट दुख्ने र रक्तस्राव हुनेक्रम १० दिनसम्म रोकिएन । पछि गुप्तांग चिलाउनुका साथै पीप पनि बग्न थालेपछि अस्पताल पुगेकी उनलाई चिकित्सकले भ्रूणको केही अंश गर्भमै रहेकाले कुहिएर गम्भीर संक्रमण भएको बताए ।

गर्भपतन गराउने औषधि आफूखुसी खाँदा स्थिति जटिल भएर अस्पताल पुग्ने उनी एक प्रतिनिधि पात्र मात्र हुन् । 'गर्भ रहे केको चिन्ता, तुहाउने औषधि पाइहालिन्छ नि' भन्दै असुरक्षित यौनसम्पर्क गर्ने र पछि जथाभावी गर्भपतनका औषधि प्रयोग गर्ने बढिरहेका छन् ।

 पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, निजी अस्पताल र क्लिनिकमा गर्भपतन गराउने औषधि खाएर स्वास्थ्य बिगि्रएपछि उपचारका लागि अस्पताल पुग्नेको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रमेशराज अधिकारीले बताए । 'परिवार र छिमेकीले थाहा पाउँछन् कि भनेर सुटुक्क औषधि खाँदा जटिल समस्या भोग्न बाध्य हुनेहरू बढेको जानकारी विभिन्न अस्पतालले दिएका छन्,' उनले भने, 'सुरक्षित गर्भपतनका लागि तोकिएको स्वास्थ्य संस्थ्ाामा नजाँदा पैसा पनि धेरै तिर्छन्, ज्यान पनि संकटमा पार्छन् ।'

असुरक्षित गर्भपतन गराएकै कारण तल्लो पेट र ढाड दुख्ने, रक्तस्राव भइरहने र संक्रमणको समस्या पालेर खप्नै नसक्ने भएपछि मात्र चिकित्सककहाँ पुग्नेको संख्या थपिँदो छ ।

'गर्भपतन गराउने औषधि खाएपछि बगेको रगत नथामिएर मरणासन्न भई हामीकहाँ थुप्रै बिरामी आउने गरेका छन्,' क्षेत्रीय अस्पताल पोखराका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. रवि रेग्मीले भने, 'कतिपयलाई त बल्ल-बल्ल बचाएका छौं ।' कारण खोतल्दै जाँदा गर्भ रहेको समय, औषधिको मात्रा, खाने तरिका र शारीरिक अवस्था नमिलेकाले यस्तो हुने गरेको उनले बताए ।

अवैध गर्भ रहेपछि घर र समाजमा बेइज्जत हुने डरले त्यसलाई फ्याँक्न जतिसुकै रकम खर्चने भएकाले पसलेले पनि चरम ठग्ने गरेका छन् । 'तीन सय रुपैयाँमा पाइने औषधिलाई पाँच हजार रुपैयाँमा बेच्ने र किन्ने गरेको पाइयो,' उनले भने, 'जीउ र धनमाथि खेलबाड भइरहेकाले रोक्न राज्यले विशेष ध्यान दिनुपर्छ ।'

गर्भपतनका लागि 'मेडावोन, मिस्टोल' लगायत औषधि तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीले चलाउन पाउने भए पनि बजारमा अनेक थरी औषधि पाइन्छन् । लुकीछिपी औषधि बेच्ने पसलेले ग्राहक हेरेर सक्दो ठग्ने गरेका छन् । गर्भवतीको स्वास्थ्य परीक्षण गरेर नौ सातासम्मको भ्रूण फाल्न सकिने भए पनि हचुवाका भरमा बढी समयको गर्भ फाल्न खोज्दा ज्यानै जोखिममा पर्ने क्रम पनि बढको छ । यसैगरी कलिलो र बढी उमेर, उच्च रक्तचाप, न्यून रक्तचाप, जन्डिस, शल्यक्रिया गरेर बच्चा जन्माएकालाई औषधि प्रयोग गर्न हुँदैन । तर मागेकै भरमा औषधि बेच्ने र किनेर खाने चलनले समस्या बढ्दै गएको जनस्वास्थ्य प्रमुख अधिकारीले बताए ।

'परिवार नियोजनका साधन प्रयोग गर्न झन्झट मान्नाले पनि गर्भ रहने र पतन गराउने बढेका छन्,' उनले भने, 'कास्कीमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरू ३७ प्रतिशत मात्र देखिन्छ ।' औषधि र औजारबाट सुरक्षित गर्भपतन गराउने करिब २० वटा केन्द्र कास्कीमा छ, तर लाज र अरूले चिनेर पोल खुल्ने डरले सुटुक्क औषधि किनेर खाने बढेका छन् ।

म्याग्दीका गाउँ-गाउँका स्वास्थ्य केन्द्रमा समेत गर्भपतन सेवा सुरु भएपछि संख्या बढेको छ । तर यसो गर्नेमा १५-१६ वर्षका युवती बढी छन् । १० वटा सुरक्षित गर्भपतन केन्द्रमा आव ०७०/७१ मा ७ सय ८० जनाले १२ हप्ताभित्रको गर्भपतन गराए । अघिल्लो वर्षभन्दा यो शतप्रतिशत बढी हो । सदरमुकामबाहिर ग्रामीण क्षेत्रमा समेत गर्भपतन गराउने बढेका छन् । दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आव ०६९/७० मा ६२ जनाले सुरक्षित गर्भपतन गरेकामा आव ०७०/७१ मा दुई गुणा बढी एक सय ५८ पुगे । भुरुङ-तातोपानीमा ५ जना रहेकामा १३ गुणा बढी ६८ जनाले गर्भपतन गराए । चार महिनादेखि गर्भपतन सेवा सुरु गरेको निजी क्षेत्रको बेनी हस्पिटल तथा रिसर्च सेन्टरमा पनि ३४ जनाले गर्भपतन गरेका छन् ।

'गर्भपतन गर्न आउनेमा २५ वर्षमुनिका युवतीको संख्या आधा बढी हुन्छ । जिल्लामा बालविवाह अधिक रहेकाले कलिलै उमेरमा गर्भपतन गर्नेको संख्या बढेको हो,' बेनी हस्पिटलका प्रमुख डाक्टर पुकार घिमिरेले भने, 'मैले जिल्ला अस्पतालमा काम गर्दा भेटिएको तथ्यअनुसार प्रायः महिलाले कम्तीमा दुईवटा गर्भपतन गराउँछन्, केही ५-६ पटकसम्म गर्भपतन गराउँछन् ।'

गैरकानुनी रूपमा गर्भपतन गराएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले सिंगा तातोपानीस्थित लाङघाली मेडिकलका वीरे डाक्टर र बाबियाचौरका गोकर्ण भण्डारीलाई कारबाही गरेको थियो ।

कन्डमले यौनसन्तुष्टि नमिल्ने, निरोधक औषधिले बढी रगत बग्ने, मोटोपन आउने, नियमित सेवनले गर्भाधानमा समस्या आउनेलगायत 'साइड इफेक्ट' हुने 'हल्ला' का कारण नियोजनको सट्टा असुरक्षित सम्बन्ध बढेको छ ।

'बिहेको पहिलो रात श्रीमान्सँग नियोजनका साधन वा औषधि माग्न नसकिने रहेछ । सुरुमा खालि सम्बन्ध राखेपछि भोलि, पर्सि भन्दाभन्दै महिनावारी रोकिएपछि पो झल्यास्स भइयो,' एक युवतीले सुनाइन्, 'पहिलो गर्भ फाल्न पनि गाह्रो हुँदोरहेछ ।'

मेला, जात्रा, रोधी र दोहोरीहरूमा बेलाबखत 'हतारको मायाप्रेम' जोड्ने अवसर प्राप्त हुँदा नियोजनको साधन प्राप्त गर्न सम्भव नभएकाले पनि गर्भ रहने गरेको छ ।  

जिल्ला जनस्वास्थ्य अधिकृत गणेश बरुवालले असुरक्षित यौनसम्पर्क गर्नेहरूबाटै बढीजसो असुरक्षित गर्भपतन हुने गरेको बताए । 'महिलाको स्वास्थ्यमा समस्या भएको खुलासापछि केही औषधि पसललाई कारबाहीसमेत गरेका छौं,' उनले भने ।

'स्वास्थ्य चौकीबाट नियोजनको साधन लैजाऊ भन्यो मान्दै मान्दैनन् । १५-१६ वर्षमा बच्चा जन्मायो अनि एक वर्ष नहुँदै गर्भपतन गर्दे भन्न आउँछन्,' जिल्लाको दुर्गम बस्ती लुलाङस्थित सवहेल्थ पोस्टकी प्रमुख अहेव भीमसरा पुनले सुनाइन् ।

पाल्पामा सूचीकृत स्वास्थ्य संस्था नेपाल परिवार नियोजन संघको शाखामा अघिल्लो एक वर्षमा ५ सय २८ जनाले गर्भपतन गराएका थिए । यो वर्ष ६ महिनामै ५ सय ३९ जना पुगिसकेका छन् । नचाहेको गर्भ रहेपछि पतन गराउने क्रम बढ्दो छ । स्वास्थ्यकी पब्लिक हेल्थ नर्स कल्पना पौडेल भन्छिन्, 'काउन्सिलिङ गर्दा सबै सम्झाउछौं ।' संघका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेका अनुसार एउटै महिलाले चार पटकसम्म गर्भपतन गराएका छन् ।

स्वास्थ्य कार्यालयकी पहेन पौडेलका अनुसार सामग्री पहुँचको अभाव छैन, प्रयोगको विधि नजान्ने भन्ने हुँदैन, तर हेलचक्र्याइँ बढको छ । 'गर्भ रहे के भो र पतन गराउन पाइहालिन्छ भन्ने सोच छ,' उनले भनिन्, 'असुरक्षित गर्भपतनले ज्यानै गुम्ने र दीर्घकालीन रोगी बन्न सक्नेबारे चेतना जगाउनु आवश्यक छ ।'

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले १६ जिल्लामध्ये सबैभन्दा बढी गर्भपतन गराउनेमा कास्की पहिलो र त्यसपछि तनहुँ, रूपन्देही, बागलुङ, म्याग्दी, गोर्खा पर्छन् । पश्चिमाञ्चलमा १ हजार ८ सय ९३ केन्द्रमा गत वर्ष १२ हजार ६ सय ५६ जनाले गर्भपतन गराएका थिए । नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष यमनाथ पौडेलले स्वीकृति नलिई पसल खोल्नेहरू र तालिम नलिएकाले औषधि बेच्दा समस्या भएको बताए । 'गर्भपतन गराउने औषधि कति बेचिन्छ भन्ने कुनै रेकर्ड छैन,' उनले भने ।


Source: Kantipur
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top