यूएईमा नेपाल हुण्डी तथा मानव एवं सुनतस्कर ब्यवसायी संघ, यूएई गठन

0
यूएई / मार्च ६
यूएईमा अनियन्त्रित रुपमा फस्टाएको मानव तस्करी, हुण्डी तथा सुनतस्करीजस्ता २ नम्बरी धन्दामा दशकौंदेखि संलग्न एक समूहको भेलाले छक्कप्रसादको अध्यक्षतामा १५ सदस्यीय नेपाल हुण्डी तथा मानव एवं सुनतस्कर ब्यवसायी संघ गठन गरेको छ ।

एक उपाध्यक्ष, दुई सचिव, दुई कोषाध्यक्ष र एक उच्चस्तरीय समन्वय संयोजक रहेको उक्त समितिमा अन्य भने सदस्य रहेका छन् । संघले समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक नगर्न कडा चेतावनी दिएको छ ।

यूएईबाट विभिन्न सेटिङ्गसञ्जाल मिलाएर पठाइएको तस्करीको ३३ किलो सुन त्रिभुवन विमानस्थलमा पक्राउ परेपछिको उत्पन्न परिस्थितिलाई सामना गर्ने उपायको खोजीका लागि गमक्कप्रसादको संयोजकत्वमा पटक–पटक बसेको गोप्य वैठकले ठोस उपाय निकाल्न नसकेपछि अन्ततः संगठित स्वरुप लिएको हो । भेलाले यस अघि नै अब २ नम्बरी धन्दावालहरु संगठित हुनुको विकल्प नरहेको निष्कर्ष निकालेको थियो । “सुन वरामद भएपछि पनि पटक–पटक सुन विमानस्थल  पास भैरहेको सामान्य अवस्थामा तस्करीको बद्नामका लागि नाम नै सार्वजनिक गरिदिएपछि अकूत आम्दानीको श्रोतको सुरक्षाका लागि एकजूट हुनैपर्ने अवस्था आएको हो ।” भेलामा समितिका नवनिर्वाचित एकजना सदस्यले भने, “प्रहरी प्रशासनले कम्तीमा पनि हाम्रो आत्मसम्मानको ख्याल गरेर नाम सार्वजनिक नगर्नुपथ्र्यो ।”

समितिले आगामी दिनमा विस्तारित ब्यवसायका लागि हाहाहाप्रसादको संयोजकत्वमा अन्तरदेशीय समन्वय परिषद गठन गर्ने पनि जनाएको छ । साथै अवैध धन्दाको सञ्जाललाई मजवूत पार्न हरेक देशमा एकएक संघ गठन गर्ने र काठमाण्डौंमा केन्द्र रहने गरी कार्यालय खोल्ने साथै राजनीतिक दलका शीर्ष नेताहरु सल्लाहकार रहने गरी नेपालमा एक महासंघ गठन गर्ने योजना रहेको बताएको छ । साथै राजनीतिक दलहरुको सहकार्यमा छिटै पक्राउ परेका सहकर्मीहरुलाई रिहाई गरी बरामद सुनको क्षतिपूर्तिको ब्यवस्थाका लागि सरकारलाई दबाब दिन कडा आन्दोलनमा उत्रने र नेपाल बन्द आव्हान गर्ने पनि संघले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिले दबाबस्वरुप सरकारसमक्ष पेश गर्न एक मागपत्र प्रस्तूत गरेको छः

मागपत्रका वुदाहरुः
१. निर्बाध रुपमा हुण्डी, मानव तस्करी तथा सुनतस्करी गर्न पाउन पाउने ब्यवस्था गर ।
२. अवैध ब्यवसायीहरुको पनि ब्यावसायिक हक–हित र अधिकारको सुरक्षा सुनिश्चित गर ।
३. ब्यावसायिक प्रवद्र्धनार्थ हरेक वर्ष राज्यकोषबाट १० प्रतिशत बजेट रकमको ब्यवस्था गर ।
४. सरकार तथा सरकारी जागिरमा अवैध धन्दावालहरुको २५ प्रतिशत सिट सुरक्षित गर ।
५. तस्करीविरुद्ध रहने जोकोहीलाई तुरुन्त निलम्बन गर र सो अख्तियार नेपाल हुण्डी तथा मानव एवं सुनतस्कर ब्यवसायी संघलाई प्रदान गर ।
६. पक्राउ परेका हाम्रा सहकर्मीहरुलाई निःशर्त रिहाई गर ।
७. बरामत भएको सुनको क्षतिपूर्ति दे ।
८. तस्करीको सामानको निःशुल्क बीमा ब्यवस्था गर ।
९. विमानस्थलमा तस्करीका लागि छुट्टै भिआईपि टनेलको ब्यवस्था गर ।
१०. तस्करीको पक्षमा ऐनहरु संशोधन गर ।
११. आदि आदि

(पुनश्चः अब यस्तो समाचार आयो भने अनौठो नमाने हुन्छ । यसलाई ब्यंग्यात्मक रुपमा बुझिदिनुहुन सबैमा अनुरोध छ ।)

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top