हमासले गाजामा एकतर्फी रूपमा २४ घन्टे युद्धविराम घोषणा

0
गाजासिटी (बीबीसी), श्रावण १२ - प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा एकतर्फी रूपमा २४ घन्टे युद्धविराम घोषणा गरेको छ। १२ घन्टाको युद्धविरामपछि इजरायलले पुनः आक्रमण थालेलगत्तै हमासको नयाँ घोषणा आएको हो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने हमासले यसअघि आफैंले घोषणा गरेको युद्धविराम उल्लंघन गरेको पछिल्लो घोषणा विश्वसनीय नभएको बताए। हालसम्म १ हजार प्यालेस्टिनी इजरायली आक्रमणमा परी मारिइसकेका छन्। तीमध्ये अधिकांश सर्वसाधारण छन्। यस्तै, इजरायलका ४३ सैनिक र ३ सर्वसाधारण पनि मारिएका छन्। इजरायलमा रहेका थाइल्यान्डका नागरिक समेत मारिएका छन्। हमासले लगातार रकेट आक्रमण गरेपछि इजरायलले उक्त समूहविरुद्ध सैनिक कारबाही थालेको हो। गत जुलाई १८ देखि स्थलगत आक्रमण पनि तीव्र बनाएको छ। आफ्नो देशमा घुसपैठका लागि हमासले खनेको सुरुङ नष्ट गर्न स्थलगत आक्रमण थालिएको इजरायलको दाबी छ।

संयुक्त राष्ट्रसंघले थप २४ घन्टे युद्धविरामका लागि शनिबार गरेको आग्रह इजरायलले स्वीकार गरेको थियो तर सुरुङ नष्ट गर्ने अभियान जारी रहने जनाएको थियो। इजरायली सेनाले आइतबार बिहान हमासविरुद्ध हवाई, स्थल र जल क्षेत्रबाट कारबाही जारी रहने जनाएको छ। आक्रमण रोक्न हमास नियन्त्रित क्षेत्रबाट भइरहेको निरन्तरको रकेट आक्रमण बन्द हुनुपर्ने इजरायली सर्तलाई उक्त समूहले अस्वीकार गरेको छ। गाजा क्षेत्रमा रहेका इजरायली सेना फिर्ता नभएसम्म आक्रमण जारी रहने हमासले बताएको छ। त्यहाँबाट विस्थापित परिवारलाई फर्काइनुपर्ने सर्तसमेत हमासको छ।

'रमदानको समापनको तयारी, राष्ट्रसंघीय मध्यस्थताको सम्मान र गाजावासीको नाजुक स्थितिलाई मध्यनजर गर्दै २४ घन्टाको मानवीय युद्धविरामका लागि सबै प्यालिस्टिनी समूह सहमत भएका छौं,' हमासका प्रवक्ता समी अबु जुहरीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ।

पछिल्लो घोषणापछि पनि आइतबार गाजाका विभिन्न जिल्लामा विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। इजरायली आक्रमणमा परी आइतबार ८ प्यालेस्टिनीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। गाजा क्षेत्रबाट आइतबार २८ वटा रकेट आक्रमण भएको इजरायली सेनाले जनाएको छ। 

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top