काठमाडौं ९ असार ।
इराकमा सुन्नी लडाकुहरुले मुलुकको पश्चिमी सीमा पनि आफ्नो नियन्त्रणमा लिएका छन् । सिरिया र जोर्डनसंगको सीमाबाट सरकारी सेना पछि हटेपछि ती क्षेत्र लडाकुको नियन्त्रणमा आएको बताइएको छ । यसअघि उनीहरुले पश्चिमी अन्बर प्रान्त पनि नियन्त्रणमा लिएका थिए ।
पछिल्ला दुई दिनमा उनीहरुले नियन्त्रणमा लिएको यो चौथोशहर हो । इस्लामिक स्टेट इन इराक एण्ड दि लेभान्त (आईसीआईसी) का लडाकुले शनिवार मात्र रावा, अनाह र इयुफ्रेट नदी नियन्त्रणमा लिएको दावी गरेका थिए ।
अलकायदासँग सम्बन्ध रहेको भनिएको आईसीआईसीका लडाकुले ३० जना सरकारी सेनाको हत्या गर्दै क्वाइम शहर नियन्त्रणमा लिएको इराकी सरकारले स्वीकारेको छ । इराक र सिरियामा गरी उनीहरुका १० हजार लडाकु रहेको अनुमान गरिन्छ ।
सुन्नी लडाकुहरु केही समय यता विभिन्न शहर नियन्त्रणमा लिंदै बग्दादतर्फ अगाडि बढिरहेका छन् । सन् २०११ मा इराकबाट आफ्ना सेना फिर्ता गरेको अमेरिकाले सैन्य परिचालनबाट मात्रै इराकको संकट समाधान नहुनेमा जोड दिएको छ । इराकमा चर्किएको साम्प्रदायिक संघर्षका कारण १० लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ ।
