पोखरा, ९ असार /गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशनको नवनिर्मित भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । पोखरा उपमहानगरपालिका वडा नंं १४ मा निर्माण गरिएको दुईतले नयाँ भवनको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रधानले उद्घाटन गरेका हुन ।
भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दै, अध्यक्ष प्रधानले राज्यले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई सरकारले गंभिर रुपमा नलिएको आरोप लगाए । उनले उपभोक्ताले पैसा तिरेर समेत भनेजति पेट्रोलियम पदार्थको खरिद गर्न नपाएको गुनासो गरे । एशोसियशनको २२ औं साधारण सभालाई समेत सम्वोधन गर्दै, अध्यक्ष प्रधानले उपभोक्तालाई गुणस्तरिय सेवा दिन आफ्ना सदस्यहरुलाई आग्रह गरे । चाउथे स्वागत नगरमा करिव पाँच आनाको जग्गामा झण्डै ४० लाखको लागतमा एशोसियशनको भवन निर्माण गरिएको हो ।
एशोसियशनका अध्यक्ष शुशिल गौचनको अध्यक्षतामा भएको भवन उद्घाटन तथा साधारण सभामा नेपाल आयल निगम गगनगौंडा डिपोका प्रमुख खिलेन्द्र कार्की, गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रमुख मनोज पोखरेल, नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव विश्व अर्याल लगायतले इन्धन आपूर्ति र वितरणमा देखिएका समस्याका बारेमा चर्चा गरेका थिए । यस्तै एशोसियशनका द्धितिय उपाध्यक्ष कपिल अधिकारी, केन्द्रिय सदस्य शुनिल गुरुङ्ग, गण्डकी टयांकरका अध्यक्ष सुरेन्द्ररमण पराजुली, जगत बराल लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

