अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा छापा मारेर चार जना कर्मचारी र कार्यालय वरपर फोटोकपी व्यवसाय गर्दै आएका आठ जनालाई पक्राउ गरेको छ ।
अख्तियारले निमित्त कार्यालय प्रमुख रामदत्त भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, लेखा अधिकृत तीर्थराज गौतमलाई हिरासतमा लिएको हो ।
कार्यालय परिसर वरिपरि रहेका फोटोकपी व्यवसायी टेकबहादुर महर्जन, विष्णुबहादुर थापा, अनिलकुमार पाण्डेका साथै लेखापढी व्यवसायीहरु विक्रम बिसी, विष्णुबहादुर थिङ र देवराज लामिछाने पक्राउ गरिएको हो । यसैगरी सेवाग्राहीबाट कागजात सङ्कलनकर्ता सानुकाजी देशार र विष्णु बस्नेतलाई पनि अख्तियारले पक्राउ गरेको छ ।
सवारी चालक अनुमतिपत्र बनाउने, नवीकरण गर्ने, रुट इजाजत प्रदान गर्नेलगायतका कार्यमा व्यापकरुपमा अनिमियतता तथा भ्रष्टाचार भइरहेको भन्ने उजुरीका आधारमा छापा मार्ने काम भएको आयोगका सहायक प्रवक्ता केशव घिमिरेले बताउनुभयो ।
यसैबीच विराटनगर उपमहानगरपालिका–५ कञ्चनवारीको एक सार्वजनिक उपभोगको जग्गा बिक्री भएकामा स्थानीयवासीले विरोध जनाएका छन् ।
सार्वजनिक बाटोका लागि स्थानीय राधादेवी लामिछानेले १६७० कित्ता नं. को १३ धुर जग्गा दिएकै जग्गाबाट साढे चार धुर जग्गा रेणुका परियारले दातालाई झुक्याई आफ्नो नाममा दर्ता गराएको देखिएको श्रीराम जानकी टोल विकास समितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।
बाटोको नाममा जग्गा दर्ता गराउने भनी लगेको परियारले आफ्नो नाममा दर्ता गराएकाले यस्तो कपटी मानिसलाई कारबाही गरी पुन. जग्गा सार्वजनिक भोग चलनमा ल्याइनुपर्ने माग दाता राधादेवी लामिछानेले गर्नुभयो ।
उता पर्सा प्रहरीले कीर्ते अभियोगमा फरार एकजना महिलालाई पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले जिल्लाको झौवागुठी गाविस–२ बस्ने जसोदिया चमइनलाई आज पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।
चमइन घरमा नै लुकिछिपी बसिरहेको भन्ने कुरा थाहा पाएपछि प्रहरीको गस्ती टोलीले घरमै पुगेर पक्राउ गरेको हो ।
जिल्ला अदालत पर्साले २०६६ जेठ २२ गते कीर्ते अभियोगमा १० हजार ८ जरिवाना असुल गर्न फैसला गरेको थियो । उनलाई आवश्यक कानुनी प्रक्रियाका लागि आजै जिल्ला अदालत पर्सामा पेस गरिने पनि पर्सा प्रहरीले जानकारी दिएको छ ।
