कास्की जिल्लाको पश्चिम भागमा पर्ने लुम्ले गा.वि.स. को वार्ड न. ८ को नाउ ले तोल्का गाउँ समुद्रको सतह देखि १८०० मिटरको उचाईमा अवस्थित यो गाउँको उत्तर तर्फ मिर्दी अपभ्रंश भई मिदी भएको खोलाले लान्द्र्क गाउँ र पूर्वमा घिर्सुङ खोलाले भिचुक गाउँ जाने छुट्याएको छ । लगभग १०० कुरिया भएको यो गाउँ मोदी खोलाको ढाड र अन्नपुर्ण हिमालको काखमा ढालपारी फैलिएको छ ।
लगभग १६ औ शताव्दीको पुर्वाध्दमा कास्कीका राजा कूलमण्डन शाहका गुरुपुरेत लिला पाध्य थिए । राजालाई आर्थिक संकट परेका कारण लिला पाध्यले तत्कालिन कास्किका राजालाई ऋण स्वरुप रु ९५००० रुपिया सापटी दिएका थिए । पछी आएर त्यो थैलि राजाले खिर्ता गर्न नसकेको कारण कास्कीको विभिन्न ठाउमा लिला पाध्यलाई बिर्ताका रुपमा उक्त झोला वरावरको जग्गा प्रदान गरे । त्यही बिर्ता मध्येको रु ५०० को थैली यही तोक्ला गाउँलाई पनि परेको थियो । वि. सं. को २००० मा तत्कालिन राणा सरकारले मोदि गंगा देखि पूर्व ल्वाङको पुरानो रैकर देखि पश्चिम मिर्दि खोला देखि दक्षिण र घिर्सि खोला देखी उत्तर यती चार किल्लउ भित्रको जग्गा वापत ४९८ रुपिया बन्धकि थैलि तिनै लिलापाध्यका सन्तानलाई बुझाई जस्को भोग छ उसैका नाममा नाम सारी गरिदिनु भन्ने आदेश दिएको थियो । सोही आदेश वमोजिम लिलापाध्यका सन्तानहरु पौडल व्रहाणहरु नै त्यही वसोवास गरेकाले उनीहरुकै नाममा जग्गा दर्ता भइ नाम सारी भयो । त्यो समयमा यो जग्गा पुर्णरुपमा जंगलले भरिएको र फराकिलो चरन योग्य भूमि भएकाले त्यहाँ गाई भैँसीको गोठ राखी पौडेलहरूले आफ्नो गुजरा चलाएका थिए ।
खासमा ति पौडेल व्राह्मण धिताल भनिने ठाउँका बासिन्दा थिए । उनिहरु त्यहाँको हावापानी, बनावट र चरन योग्य फराकिलो भूमिका कारण भैँसी पाल्ने उध्देश्यले त्यहाँ पुगेका थिए । तर सरकार वाट जग्गा आफ्नो नाममा नामसारी भएपछी उनीहरुले आफ्नो जग्गा वेची आफ्नो पुरानो स्थानमा फर्किएका हुन भने कति त्यहि नै वसे । तर अहिले ति पौडेलका केवल चार परिवारको मात्र घर त्यहाँ छ ।
यो गाउँमा तामा खानिको प्रशस्त सम्भावना छ र वि. सं. १९९२ तिर प्रशस्त तामा समेत निकालिएको थियो । अझै पनि यहाँका प्राय पहराहरुमा तामा चम्किएको देखिन्छ । यहि तामा भएको कारणले सुरुमा यहाँ म्याग्दिको मल्कामान खानि भन्ने ठाउँ बाट गुमानसिंह छन्तेल नाम को व्यक्ति वि. सं. १९९४ तिर यहाँ बसाइ सरेको थिए । उने वि. सं. १९६० मा तत्कालिन सरकारलाई प्रति वर्ष ५२ धार्निका दरले तामा बझाउने छु १७ कुरिया (घर) राख्न दिनुहोस भनि निवेदन चढाएको थिए । उक्त निवेदनमाथि कारवाही हुदाहुदै उक्त छन्तेलको मृत्यु भएका कारण त्यो कारबही त्यतिकै रोकियो र तामा पनि निकाल्न छाडियो । त्यसपछि झन्डै २०१० साल तिर बाग्लुङको थन्थाप (भिरकटेरि) भन्ने ठाउँ वाट चन्द्रसिंह थपामगर (किलम्दे मगर) यहाँ सरेका थिए । वास्तममा उहाँ नै यहा बसाई सर्ने पहिलो आधिकारिक व्यक्ति हुन । त्सपछि यहाँ मगरहरु को बसाई सर्ने क्रम बढ्दै गयो । गुरुङ जातीमा सवै भन्दा पहिला तान्चोक बाट कृष्ण बहादुर गुरुङ यहाँ बसाई सरेका थिए ।
समयको अन्तराल संगै यो ठाउले आफैलाइ पूर्ण रुपमा परिवर्तन गरि सकेको छ । वि. सं. २०१३ सालमा यसै गाउँका एक प्रतिष्ठित समाजसेवी तथा शिक्षा प्रेमि श्री प्रमानन्द उपाध्याय (पौडेल) ले काठमाण्डौ वाट शिक्षक झिकाइ यहाँ शिक्षाको विजारोपण गर्नु भएको हो । उहाँले यहाँ निःशुल्क जग्गा प्रदान गरि आफ्नै तर्फवाट लगानि गरि र आफ्नै व्यक्तिगात तर्फवाट त्यस शिक्षकलाइ एक वर्ष सम्मको पारिश्रमिक पनि दिनु भएको थियो । त्यो समय यो मिचुक गा. पं अन्तर्गत पर्दथ्यो । पछि आएर २०२८ सालमा तत्कालिन श्री ५ को सरकार तर्फ वाट एउटा प्रा.वि. को स्थापना भएको थियो । र आधिकारिक शिक्षा प्रदान गर्न थालियो । पछि आएर २०३१ सालमा यहाँका अन्य प्रतिष्ठित समाजसेविहरुको सहयोगमा श्री हिमालय नि.मा.वि. को स्थपना भयो र हाल आएर यो माध्यमिक विध्यालयको रुपमा स्विकृत प्राप्त गरी संचालन भैरहेको छ ।
हावापानीका हिसावले यो गाउँमा समशितोष्ण हावापानीको प्रधानता छ । प्राय हिउद याममा हिमपात हुने यो ठाउँको शिरमा भने कोणधारी जङ्गल छ । यो जंगलमा प्रशस्त मात्रामा लोप हुनलागेका जडिवुटीहरु छन । निरमसी, ठुलो विख, सतुवा, पदम चाल्नु, झारमौरी, पखनबेद, मौरोमल, पाँचऔले, भुतकेश आदि यहाँ पाइने महत्वपुर्ण जडिबुटी हुन । गाउँको केहि माथि अल्ला चाल्ने सिस्नुको घारी टम्म रहेको छ । यसबाट गाउँलेहरुले भाङ्ग्रा बुन्ने, नाम्लो डोरि बाट्ने गर्छन । जंगलमा बाघ, मिर्ग, थार, भालु, स्याल, दुम्सि, वनविरालो जस्ता जनावरहरु प्रशस्त मात्रामा रहेका छन । विभिन्न किसिमका घास तथा निगालाहरु यो जंगलमा पाउन सकिन्छ । बिरिम निगालो, मालिङ्गो, घुडे, तिते, गोपिघाँस, चेकहार, आदि निगाला वाट यहाँका जनताहरुले भकारी, नाम्लो, दाम्लो, थुनु, डोको, बुन्ने गर्दछन । फिरफिरे, खर्सु, फलाँट, चोँपो, सहुर, दुधिलो, निवार, अर्खलो, काउलो आदि डाले घाँसका रुपमा यहाँका मानिसहरुले प्रयोग गर्दछन । ढुकुर, हलेसो, भ्याकुर(काँडे पनि) तित्रा, वनकुखुरा, लामपुछ्रे, चिल आदि यहाँ पाइने चरा हरु हुन ।
यसरी विभिन्न क्षेत्रबाट आएर यो गाउँमा मिश्रीत जनजातीहरुले अतिनै मिलेर वसोवास गरेको छन । यस गाउँको विकासमा विदेशी संस्था तथा व्यक्तिहरुको ठुलो हात छ । यस गाउँको शिक्षा, स्वास्थ्य र खानेपानी का लागि कोदारि प्रोजेक्ट अन्तरगतका (ल्याङ ल्याङ साहेव भनि चिनिने) ले ठुलो सहयोग पुरयाएका थिए । अहिले झण्डै ७,८ वर्ष अगाडि स्थापना भएको अन्नपुर्ण क्षेत्र संरक्षण आयोजना केन्द्रले यस गाऊँको विकासमा निकै अभिरुची लिइरहेको छ । गाउँहरु यस केन्द्र संग हातमा हात मिलाइ अफ्नो गाउँ विकासमा तम्सिएका छन ।
यस सानो गाउँको विकासका लागि छिमेकि गाउँ लान्द्रुक र मिचुकको पनि ठुलो हात छ । यि दुवै गाउँको विचमा यो गाउँ परेकाले पनि तोल्का गाउँले यो अवशर प्राप्त गरेको हो । यस गाउँमा स्थापना भएको इलाका स्वास्थ्य चौकि र हिमालय मा. वि. यि तिनै गाउँका गाउँलेको आशाको केन्द्र विन्दु भने अवश्य हुन ।
यि गाउँका वासिन्दाहरुको मुख्य पेसा भने कृषि र पशुपलन हो भने केहि वृटिस तथा भारतिय सेनामा भर्ति पनि भएका छन । तर पनि अन्नपुर्ण हिमालको अधार शिविरमा जाने मुख्य द्वार भएका कारण यस क्षेत्रमा विदिशि तथा श्वदेसी पर्यटकहरुको निकै आवतजावत हुने हुदा यहाँका केहि मानिसहरुको मुख्य पेशा पर्यटन व्यवसायह वनेको छ । यहो गाउँ आफैमा सुन्दर हुनु, उत्तरमा विहान सुर्य उदाउदाको दृश्य र वेलुकि दक्षिणमा गुएलि साँझको दृश्यले यो गाउँलाइ कहिल्यै पनि विर्सन सकिदैन । तल मोदी गंगा सुसाएको अगाडी भिमकाय धान्द्रुकको डाडैँ उभिएको उत्तरमा अन्नपुर्ण हिमाल उभिएको यो गाउँका लागि शिरमा हरियो जंगल अति नै सुहाएको छ । यति प्राकृतिक रमणियताले भरिपुर्ण यो गाउँलाइ वचाइराखेको भौतिक संस्कृति तथा रितिरिवाज ले अझ यसको सुन्दरतामा सुनमा सुगन्ध थप्ने काम गरेको छ ।
तर पनि धेरै थोरै यहाँको संस्कृतिमा पश्चिमी मुलुकको संस्कृति हावि हुन थलेको भने अवश्य अनुभव हुन्छ । अहिले विश्वमा भएको वन तथा वातावरणिय विनाशवाट यो गाउँ पनि अछुत रहन सकेको छैन । विश्ववाटै लोप हुन लागेका अर्खलो र धुर्से यो गाउँमा पाइन्छन । प्रायः विश्व बाटै लोप भेसकेको थार पनि यहाँ पाइन्छ । वातावरणिय संरक्षणका हिसावले तयो अति महत्वपुर्ण स्थान हो । यहाँ प्रशस्त मात्रामा तामा पाइन्छ । राम्रो संग तामा निकाल्न सकेमा यसले राष्टकै अर्थतन्त्रलाइ टेवा दिन सक्छ । तेस्तै चाल्ने सिस्नु बाट यहाँ भाङग्रा तथा झोला वनाउन सकिन्छ । यस बाट पनि प्रशस्त अमदानि हुनसक्छ । लुम्ले गा. वि. स. अफु पोखरा वाग्लुङ राजमार्गमा परेको कारण सुगम देखिएता पनि यो ठाउँ दुर्गम नै हो । तर पनि भर्खरै गाबिस, स्थानिय समुदायको पहलमा विजुलि वत्ति, फोन, इन्टरनेट तथा कच्चि मोटरबाटो ले यसको बिकास मा थप टेवा दिन खोजेको महसुस हुन्छ। तथापि यस क्षेत्रले क्षमता अनुसार आफ्नो बिकास गर्न सकेको छैन। हामि सबै ले यो सुन्दर गाउको बिकास गर्नको लागि आज देखि नै कुनै गुरु योजना तयार पार्ने कि?
(अनुसंधानकर्ता राजेन्द्र पौडेलको फेसबुक बाट )

Nice
ReplyDelete