अन्नपूर्णमा पहिलोपटक पाइला टेक्ने रहेनन्

0
Maurice
हङकङ, मंसिर ३० - प्रख्यात फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको शुक्रबार निधन भएको छ । उनी ९३ वर्षका थिए । सन् १९५० जुन ३ मा हर्जोगले संसारमै पहिलोपटक ८ हजार मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।
पेरिसस्थित राष्ट्रपतिय कार्यालयले एक विज्ञप्तिमार्फत उनको निधनको पुष्टि गरेपनि थप उल्लेख नगरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । हर्जोग साथी लुईस लेचेनलसँगै उत्तर पुर्वी मोहडा हुँदै विना अक्सिजन चुचुरोमा पुगेका थिए । आरोही लेचेनलको भने सन् १९५५ मा भएको स्की दुर्घटनामा मृत्यु भएको थियो । संसारको दसौं अग्लो हिमाल अन्नपूर्ण आरोहणका बेला दलको नेता रहेका हर्जोगले दुबै हात र खुट्टाका औंला गुमाएका थिए ।
उपचारका लागि भारत पुगेका यिनलाई तत्कालिन प्रधानमन्त्री मोहनशम्शेर जंगबहादुर राणाले नेपाल बोलाई विशेष पदकले सम्मान गरेका थिए । नेपाल सरकारका तर्फबाट फ्रान्सस्थित नेपाली दूतावासले समेत दुईवर्षअघि हर्जोगलाई सम्मान-पत्र प्रदान गरेको थियो । फ्रान्सेली जनताबाट 'नेशनल हिरो' को उपमा पाएका यिनको मृत्युलाई लिएर राष्ट्रपति फ्रान्कोइस होल्याडीले गहिरो दुःख व्यक्त गरेका छन् । अन्नपूर्ण आरोहणको करिब तीन वर्षपछि सन् १९५३ मे २९ मा सर एडमण्ड हिलारी र तेन्जिग नोर्गे शेर्पाले सगरमाथा (८,८४८ मिटर) को समेत सफल आरोहण गरेका हुन् ।
'छ दसक भन्दा अघिको त्यो सफलता जिवनकै अविस्मरणीय थियो', अन्नपूर्ण हिमाल आरोहणको ६२ औँ वर्षगाँठका अवसरमा हर्जोगले गत जुनमा कान्तिपुरसँग स्काइपमा प्रत्यक्ष कुराकानी गर्दै भनेका थिए, 'अन्नपूर्णको चुचुरो छाम्दा संसारै जितेजस्तो अनुभूति मिलेको थियो, खुशीको सिमै थिएन ।'
आरोहणको अनुभव समेटेर हर्जोगले लेखेको पुस्तक 'अन्नपूर्ण' साहसिक र खोजमुलक विधाहरूमध्ये अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको दाबी गरिएको छ । पुस्तक विश्वभर दुई करोड प्रति बिक्री भएको श्रीमती सिसीले बताएकी थिइन् । १९५१ मा फ्रेन्च र लगत्तै अर्का वर्ष अंग्रेजीमा पनि छापिएको उक्त पुस्तक विभिन्न पचास भाषामा प्रकाशित  छन् । नेशनल ज्योग्राफिकले एकसय साहसिक र अन्वेषक किताबहरूको सूचीमा 'अन्नपूर्ण' लाई उत्कृष्ट दसभित्र राखेको छ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top