हङकङ, मंसिर २२ - विश्वप्रसिद्ध फोर्ब्स म्यागजिनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई यो वर्ष पनि संसारकै शक्तिशाली बताएको छ । सन् २००९ देखि थालिएको सूचीमा ५१ वर्षीय ओबामाले तेस्रोपटक पहिलो स्थान ओगटेका हुन् । सन् २००९ र २०११ मा समेत उनी शीर्ष स्थानमै थिए ।
यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा भावी राष्ट्रपति सी जिनपिङ शक्तिशाली व्यक्तिको सूचीमा फड्को मारेर नवौं स्थान पुगेका छन् । गतवर्ष उनी ६९ औं स्थानमा थिए ।
फोब्र्सले सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीलाई प्रधानमन्त्री मनमोहन सिंहभन्दा शक्तिशाली बताएको छ । सूचीमा सोनिया १२ औं र सिंह १९ औं स्थानमा छन् । २०१० मा ९ औं स्थानमा रहेकी सोनिया अघिल्लो वर्ष १० र गतवर्ष ११ औं स्थानमा झरेकी थिइन् ।
उत्कृष्ट १० का अन्य शक्तिशालीमा चौथो माइक्रोसफ्टका अध्यक्ष विल गेट्स लगायत क्रमशः रोमन क्याथोलिक चर्चका पोप बेनेडिक्ट, फेडरल रिजर्व संयुक्त राज्य अमेरिकाका अध्यक्ष बेन बर्नान्के, सउदी अरबका राजा अबदुल्ला विन अब्दुज अजिज अबल साउद, युरोपियन सेन्ट्रल बैंकका अध्यक्ष मारियो ड्रागी छन् ।