एमालेमा सिद्धान्तका कुरा र व्यवहार

Ganapati Manufacturing Company Pvt. Ltd.
0

बिनोद ढकाल 
एमालेमा २०६/२६३ सालको परिवर्तन के हो र नेपाली समाजको मूल चरित्रका सन्दर्भमा  लामै समय बहस चल्यो । २०६२/६३ को घटनालाई राजनीतिक क्रान्ति र समाज  पुँजीवादीमा सङ्क्रमण गरिसकेको भन्ने सहमतिमा पुगेर थिगि्रएको छ । सिद्धान्त केही होइन, व्यवहार ठीक भए पुग्छ भन्ने सतही हावा बगिरहेका बेला एमालेमा सैद्धान्तिक छलफल चल्यो, यो सकारात्मक पक्ष हो । तर सिद्धान्तलाई व्यवहारसंँग जोड्दामात्र यसले सार्थकता पाउनेछ ।  मानव समाजमा घटित घटनाहरूलाई संगठित, व्यवस्थित र विधिसम्मत प्रक्रियाबाट सामान्यीकरण गरेर बनाइने समग्र दृष्टिकोण हो, सिद्धान्त । समाज र राजनीतिलाई एकरूपतासाथ हेर्ने, बुझ्ने अनि सोही अनुरूपको व्यवहार गर्ने वैचारिक आधार पनि हो । राजनीतिका लागिमात्र होइन, व्यक्तिको जीवनमा पनि घटना र सम्बन्धहरू बुझ्न र व्यवहारमा एकरूपता ल्याउन सिद्धान्तकै सहारा चाहिन्छ । सिद्धान्तले व्यवहारको निर्धारण गर्छ र त्यही व्यवहारका आधारमा नयाँ सिद्धान्तको निर्माण  हुन्छ । माक्र्सवादीहरूका लागि सिद्धान्त र व्यवहार बीचको अन्तरसम्बन्ध प्रगतिशील प्रक्रिया हो, जसमा सिद्धान्तले त्यो अनुरूपको व्यवहारको अपेक्षा गर्छ भने व्यवहारले त्यसको सैद्धान्तीकरण खोज्छ ।  राजनीतिमा मौलाउँदै गएका गैरराजनीतिक, गैरजिम्मेवार र अपारदर्शी प्रवृत्तिहरूले सिद्धान्त र व्यवहारमा विरोधाभाष देखिन्छ । एमालेले यो अन्तरविरोधको विषयमा बहसको थालनी गर्न जरुरी छ । अन्यथा व्यवहारबाट अलग्याएर गरिएको सिद्धान्तको कुरा केवल बुद्धिविलासिता मात्र हुनेछ ।  श्रमजीवी, मजदुर, किसानहरूको प्रतिनिधित्वको दाबा गर्ने एमालेलेे किसानहरू मध्य-असारको रोपाइँमा व्यस्त रहने बेला महाधिवेशन तोकेको छ । केही नेताहरूले प्रतिनिधि छनोटको प्रक्रिया जेठमै हुनेहँुदा त्यसले महाधिवेशन प्रभावित नहुने तर्क गरिरहेका छन् । जसले महाधिवेशनलाई निश्चित व्यक्तिहरू नेता बन्ने अवसरका रूपमा मात्रै बुझेको देखिन्छ । यसले महाधिवेशनका अवसरमा गरिने राजनीतिक बहस र जनपरिचालनले पार्टी निर्माणमा पुर्‍याउने योगदानलाई समेत नजरन्दाज गरेको छ । नेतृत्वले अघिल्लो संविधानसभाको निर्वाचनबाट गुमाएको आत्मविश्वासलाई बुटवलमा सम्पन्न आठौं महाधिवेशनको भव्य जनपरिचालनले तत्कालीन समयमा गरेको आसाको पुनर्ताजगीलाई पनि बिर्सेको देखिन्छ । यो निर्णयले एमाले नेतृत्वमा भरिएको अव्यावहारिक र आत्मकेन्दि्रत प्रवृत्तिलाई उजागर गरेको छ । एमाओवादीभित्र देखिएको यस्तै प्रवृत्तिले उसलाई विघटनको संघारमा पुर्‍याएको घटनाक्रमलाई एमाले नेता-कार्यकर्ताहरूले मनन गर्न जरुरी छ । सिद्धान्ततः श्रमजीवी किसानको पार्टीले मध्य-असारमा गर्ने भनिएको एमालेकोे महाधिवेशन सिद्धान्त र व्यवहारमा देखिएको बेमेलको नमुना हो ।  एमालेले माओवादी उग्रवामपन्थी अराजकताको विरुद्ध सुरु गरेको अभियानले धेरथोर सफलता त प्राप्त गर्‍यो, तर उनीहरूसँग रहेका गलत प्रवृत्तिबाट भने आफूलाई बचाउन सकेन । फलस्वरुप उद्दण्डता, राज्यलाई चुनौती दिने, कानुनी शासनको अवहेलना गर्ने जस्ता अराजकता र अलोकतान्त्रिक प्रवृत्तिहरू हावी बन्दै गए । एमाले र सम्बद्ध जनसंगठनहरूमा मौलाएको आर्थिक अराजकता, अपारदर्शिता, राजनीतिको आवरणमा हुने तस्करीदेखि ठेक्कापट्टा कब्जा गर्नेसम्मका अपराधहरूले राजनीतिलाई अपराधीकरणतर्फ उन्मुख गराउँदैछ । यतिमात्र होइन, राज्यको फरार सूचीमा रहेका, जघन्य अपराधमा संलग्न अपराधीहरूलाई पार्टी र जनसंगठनका महत्त्वपूर्ण जिम्मेवारीहरूसहित सुरक्षित गरिँदैछ । आज अपराधीहरूले आफू सुरक्षित हुने सबैभन्दा भरपर्दो ठाउँ पार्टीहरूलाई बनाउँदैछन् । अझ डरलाग्दो त पार्टी र जनसंगठनका आन्तरिक प्रतिस्पर्धाहरूमा समेत पैसा र बाहुबल हावी हुँदैछ । यो प्रवृत्तिलाई पार्टीको उच्च तहको नेतृत्वबाटै संगठित प्रयोग र संरक्षण हुँदै आएको छ । यो राजनीतिलाई अपराधीकरण गर्ने डरलाग्दो प्रवृत्ति हो, जसले लोकतन्त्रलाई बाहुबली माफियातन्त्रमा परिणत गर्छ । सिद्धान्ततः समाजवादको कुरा गर्ने एमालेभित्र यस्ता गलत प्रवृत्तिहरूलाई प्रयोग र संरक्षण गर्न जनताको बहुदलीय जनवादको रक्षाको आवरण प्रयोग गरिएको देखिन्छ । यसले जबजको सिर्जनात्मक प्रयोग र रक्षा गर्न त सक्दैन नै, बरु सिङ्गो पार्टीलाई दक्षिणपन्थतर्फ अग्रसर गराउनेछ ।  काठमाडौंबाट तीन घन्टाको सडक यात्राबाट पुग्न सकिने धादिङको सल्यानटारमा पार्टीको क्षेत्रीय अधिवेशनको उद्घाटनमा पार्टीका उपाध्यक्ष एवं गृहमन्त्रीसहित एउटा होइन, तीन—तीनवटा हेलिकप्टर पुगे । यसले एमालेमाथि  गम्भीर प्रश्न खडा गरेको छ । सर्वहारा मजदुर, किसानहरूको भनिएको पार्टीमा अस्वाभाविक र अशोभनीय गतिविधिहरू हावी बन्दै गएको एउटामात्र उदाहरण हो यो ।  कुनै पेसा र आम्दानीको स्रोत नभएका नेताहरूको सम्भ्रान्त जीवनशैली र स्रोत खुलाउन नसक्ने आफ्नै वा निकटवर्तीहरूका नाममा रहेकोे अकुत सम्पत्तिले एमाले कुन वर्गको पार्टी हो भन्ने प्रश्न उठेको छ । एमालेकै कुनै अमूक नेताको संरक्षणको आडमा पार्टीको नाममा विभिन्न राजनीतिक नियुक्ति पाएकाहरू बारेमा उठ्ने गरेको आर्थिक चलखेल र अपारदर्शिताको प्रश्नले आम कार्यकर्ता पंक्तिमा पनि जे गरेर भए पनि वैध-अवैध अकुत सम्पत्ति जोड्ने प्रवृत्ति बढेको छ ।  गणतन्त्रको आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेका इमानदार नेता-कार्यकर्ताहरू प्राथमिकतामा नपरेका दृष्टान्तहरू थुप्रै छन्, एमालेमा । संविधानसभाको उम्मेदवारी चयनदेखि समानुपातिकतर्फ सांसद बन्नेहरूको सूची हेर्ने हो भने जेसुकै गरेर भए पनि पैसा कमाएकाहरूले प्राथमिकता पाएको देखिन्छ । यो प्रवृत्तिलाई सामान्य रूपमा लिन सकिँदैन । किनभने यसले सर्वहाराहरूको प्रतिनिधित्वको दाबी गर्ने एमालेलाई क्रमशः पैसावालहरूको नियन्त्रणमा पुर्‍याउनेछ । जसले इमानदार नेता तथा कार्यकर्ताहरू विस्थापित हुनेे खतराको संकेतमात्र गर्दैन, राजनीतिलाई नै सामान्य जनताका पहुँचभन्दा बाहिर पुर्‍याउँछ ।  आर्थिक मामिलामा मात्र होइन, चारित्रिक सवालमा समेत पार्टीका महत्त्वपूर्ण नेताहरूको कमजोर अनुशासन र विवादास्पद छविले पार्टीको साख गिरेका धेरै घटनाहरू छन्, एमालेभित्र । यसले कम्युनिष्ट आचरण र नैतिकता सिद्धान्तको गफमा सीमित हुँदै गएको देखिन्छ ।  पार्टीलाई रचनात्मक नेतृत्व प्रदान गर्न नसक्ने, व्यावहारिक रूपमा रिटायर हुनुपर्नेहरू 'ग्याङ—अप' गरेर एकजना नयाँका नाममा शासन गर्ने कुरालाई नेतृत्व हस्तान्तरणका रूपमा प्रचारित गरिएको छ । वर्षौंदेखि जो नेतृत्वमा हँुदा पनि स्थायी समितिमा रहनेहरू नै दोहोरिने र नयाँ पुस्तालाई अगाडि आउन अवरोध गर्ने कुरा नेतृत्व हस्तान्तरण कसरी हुन्छ ? यो एमालेमा चलेको नेतृत्व हस्तान्तरणको प्रसङ्गमा देखिएको सिद्धान्त र व्यवहार बीचको विरोधाभाष हो ।  एमाले र सम्बद्ध जनसंगठनहरू भित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ बनाउन नसक्दा बढेको तीव्र आन्तरिक गुटबन्दीका कारणले यस्ता प्रवृत्तिहरू दिनानुदिन संगठित हुँदै गइरहेका छन् । कमजोरहरू मिलेर क्षमतावानलाई किनारा लगाउँदा राजनीति कमजोरहरूको बर्चस्व र अवसरवादीहरूको अखडा बन्दैछ । गुटगत स्वार्थका लागि सांगठनिक अराजकता र अनुशासनहीनतालाई नजरअन्दाज गर्दा योग्य र इमानदारहरूभन्दा कमजोर र चाकडीबाजहरू हावी हुँदै गइरहेका छन् ।  आम जनताले बुझ्ने भनेको सिद्धान्तका चर्का कुरा होइन, व्यवहारको पक्ष हो । जनताले क्रान्तिकारी भाषणमात्रै अब पत्याउँदैन, उसको जीवनशैली र व्यवहार नियाल्छ, प्रगतिका कुरामात्र होइन, सरकारमा रहँदा गरेका कामको मूल्यांकन गर्छ । चर्का कम्युष्टि सिद्धान्तका कुरा गर्न एमाओवादीलाई कसैले जित्न सक्दैनथ्यो । तर व्यवहारमा उसको  दम्भी, असहिष्णु, गैरजिम्मेवार, अपारदर्शी र भडकिलो जीवनशैलीलाई जनताले अस्वीकार गरेकोबाट एमालेले शिक्षा लिन जरुरी छ । झन्डै विश्वकै आधाजसो भूभागमा सत्ता चलाएका कम्युनिष्ट पार्टीहरू रूपान्तरणकारी सिद्धान्तका बाबजुद पार्टी नेतृत्व र कार्यकर्ताहरूको कम्युनिष्ट र आचरण जनतासँंग टाढिएका व्यवहारलेे त्यहाँका शासनहरूको पतनमात्र भएन, विश्व कम्युनिष्ट आन्दोलनलाई नै रक्षात्मक बनाएको तथ्यलाई बिर्सनु हुँदैन, एमाले पंक्तिले ।  'फेसन—सो' र सुन्दरी प्रतियोगिता महिलालाई 'कमोडिफिकेसन' गरेर शोषण गरेको अर्थमा सैद्धान्तिक व्याख्या गर्ने एमालेको महिला संगठनले त्यसको विरोधमा आन्दोलन गर्ने गरेको एक दशक पनि बितेको छैन । तर एमालेको कार्यकर्ता उत्पादनको क्रेन्द्र मानिएको अनेरास्ववियुको पछिल्लो केन्द्रीय कमिटीको बैठकबाट 'फेसन—सो' गर्ने निर्णय गर्‍यो । माक्र्सवादी फेमिनिजमको पक्षपाती एमाले जनसंगठनमा यात वैचारिक सिफ्ट आाएको मान्नुपर्‍यो या उसको नीति विपरीतको निर्णय । तर पार्टीले यो निर्णयप्रति कुनै प्रतिक्रिया नै दिएन । यस्ता सन्दर्भहरूले एमालेमा पनि व्यवहार अनुरूपको सैद्धान्तीकरणको स्वाभाविक प्रक्रिया सुरु भएको देखिन्छ ।  गैरप्रगतिशील व्यवहार हावी हुँदै जाँदा सोही अनुरूपको सिद्धान्तको माग गर्छ । जसले एमालेमा देखिएका व्यावहारिक भड्कावहरूको सैद्धान्तीकरण गर्ने प्रक्रियालाई तीव्र बनाउँछ । यही दिशामा अगाडि बढ्ने हो भने एमाले कम्युनिष्ट पार्टीको रूपमा रहने त कुरै छाडौं, लोकतान्त्रिक समाजवादी पार्टी पनि रहने छैन र यो बुर्जुवा पार्टीको रूपमा रूपान्तरण हुनेछ । त्यसैले एमालेमा सिद्धान्तका कुरामात्र होइन, सिद्धान्त अनुरूपको व्यवहारको विषयमा पनि बहस उठ्न जरुरी छ । अन्यथा एमाले आफ्नो रूपान्तरणकारी कार्यभार पुरा गर्न असमर्थ रहनेछ ।  एमालेले मुलुक पुँजीवादमा संक्रमण गरेको र राजनीतिक क्रान्ति सम्पन्न भएको निष्कर्ष निकालेको छ । मुलुकमा विकसित दलाल पुँजीवादलाई विस्थापित गर्दै जबजले मार्गनिर्देश गरेको स्वाधीन राष्ट्रिय अर्थतन्त्रको निर्माण, समतामूलक विकास र जनसमृद्धिलाई एमालेले अबको कार्यभारका रूपमा लिएको छ । सिद्धान्ततः मुलुकमा सम्पूर्ण शोषणको अन्त्य गर्दै सुशासन, आर्थिक-सामाजिक रूपान्तरणमार्फत समाजवादमा संक्रमण गर्ने आधार तयार गर्नु जबजको सार हो । यो समाजवादी चेतना र प्रगतिशील व्यवहार भएको नेतृत्व तथा कार्यकर्ता पंक्तिबाट मात्र सम्भव छ, बाहुबली र अपारदर्शीहरूबाट होइन । त्यसैले एमालेलाई दक्षिणपन्थी भड्कावबाट जोगाउन सन्निकट नवौं 
महाधिवेशनबाट आउने नेतृत्व महत्त्वपूर्ण हुनेछ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top