बारा, असोज २० -बाराको जितपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच झडप भएको छ । सर्वसाधारणले मोटरसाइकलमा विरगञ्जबाट जर्किनमा भरेर सिमरातर्फ लैजादै गरेको पेट्रोलियम पदार्थ मोर्चाका कार्यकर्ताले खोसेर बालेपछि पुगेको प्रहरीसँग झडप भएको हो ।
मोर्चाका कार्यकर्ताले पेट्रोल पोखेर आगो लगाएपछि न्यसलाई निभाउने क्रममा प्रहरी जवान बच्चालाल चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रदर्शनकारीहरुले सर्वसाधरणहरुबाट खोसेको पेट्रोल, डिजल जलाउने क्रममा आगो उछिट्टिएर प्रहरी जवान चौधरी घाईते हुनु भएको हो । चौधरीको दुईवटै तिघ्रा जलेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताउनुभयो । चौधरीको उपचार वीरगञ्जमा भैरहेको बारा प्रहरीले जनाएको छ ।
त्यसक्रममा स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले लाठी चार्ज गर्नुका साथै ८ सेल अश्रुग्यास प्राहार गरेको छ । प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी जवान पनि घाइते भएका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । प्रहरीको लाठी चार्जबाट आन्दोलनकारीतर्फ ६–७ जना घाइते भएको तमलोपाका युवा नेता रमेश सर्राफले जानकारी दिनुभयो ।