बर्दिया, भदौ १७ – कञ्चनपुरदेखि चितवनसम्म थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग गर्दै गएको २४ दिनदेखि आन्दोलनमा उत्रेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनको कार्यक्रम थप गरेको छ ।
आफूहरुको मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै समितिले भदौ ३१ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम लम्ब्याएको हो । केन्द्रको निर्णय अनुसार भदौ १७ देखि ३१ गतेसम्म आमहड्तालको घोषणा गरिएकाले आन्दोलन झनै सशक्त बनाइने थारु संर्घष समिति बर्दिया अध्यक्ष गोविन्द थारुले जानकारी दिनुभयो ।
‘२३ दिनसम्म आन्दोलनमा उत्रिँदा पनि हाम्रो मागबारे सरकारले कुनै सुनुवाई गरेन, बाध्य भएर आम हड्ताल घोषण गर्नुप¥यो, अब कार्यकर्ता चौविसै घण्टा सडक हुनेछन्’ अध्यक्ष थारुले भन्नुभयो ।
लगातार २४ दिनको बन्दका कारण पेट्रोलियम पदार्थ र बजारमा दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । शिक्षण संस्था, बजार, उद्योग कलकारखाना, यातायात समेत ठप्प छन् । बन्दका कारण बर्दियाको जनजीवन कष्टकर बनेको छ । साउन २६ गतेदेखि आन्दोलनमा उत्रिएका थरुहटले यसअघि भदौ १६ सम्मका लागि बन्द घोषण गरेको थियो ।