काठमाडौं : एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले दलहरुबीच संविधान निर्माणका लागि सहमति प्रयास जारी रहेको बताएका छन् । शनिबार विहान सिंहदरबारमा बसेको तीन दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेता नेपालले माघ ८ गते संविधान जारी गर्ने गरी सहमति कायम गर्ने पहल भइरहेको बताएका हुन् ।
‘तोकिएको मितिभित्रै संविधान जारी गर्न दलहरुबीच सहमति हुन्छ’, नेता नेपालले भने, ‘दुनियाँले खोजेजस्तो सहमतिका लागि अझै केही दिन लाग्न सक्छ ।’
ठूला नेतामा संविधान निर्माणको इच्छाशक्ति छैन : देवकोटा
एकीकृत माओवादीका नेता खिमलाल देवकोटाले संविधान निर्माणका लागि नीन ठूला दलका ठूला नेतामा इच्छाशक्ति नै नभएको आरोप लगाएका छन् ।
शनिबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवकोटाले विषयको टुंगो गरी समयको ख्याल गर्दै नेताहरुले इच्छाशक्ति देखाउन सकेमा माघ ८ मै संविधान जारी हुने दाबी गरे ।
‘नेताहरुको इच्छाशक्ति नहुँदा संविधानका विवादित विषयमा सहमति जुट्न ढिलाई भएको हो’, नेता देवकोटाले भने, ‘अब वार्तामा बस्नुअघि एजेन्डाको मोडालिटी तयार गर्नु जरुरी भइसक्यो, अनिमात्रै वार्तामा सहमति हुनसक्छ ।’
Source :- aanapurna post