युएईमा नेपाली संघ संस्था र आवश्यकता

0
लक्ष्मण खनाल / युएई,
नेपालीहरुलाई  बैदेशिक रोजगारीका लागि एक राम्रो गन्तव्य मानिएको देश हो संयुक्त अरब इमिरेट्स(युएई) । सन १९७७ मा नेपाल र युएई विचमा दौत्य सम्बन्ध भए पश्चात यहाँ नेपाली कामदार को लागि रोजगारको बाटो खुलेको हो । सन् १९८४ मा नेपाल बायु सेवा निगम (तत्कालीन शाही नेपाल बायु सेवा निगम) ले युएईमा ट्रान्जिट पाएको थियो । साथ साथै युएई मा विकासले गति लिन थाले पछि दिनानुदिन नेपाली हरुको संख्या वृद्धि हुन थाल्यो । यो ३० बर्षको अन्तरालमा युएई विकास को उचाइमा पुगेको छ । अहिले यहाँ विभिन्न पेशा, रोगजारमा रहेको नेपालीहरुको संख्या करिब ३ लाख ५० हजार रहेको अनुमान छ । 
युएईमा नेपालीहरुको संख्या वृद्धि संगै उनीहरुमा विविध समस्याहरु आउन थाल्यो । समस्या समाधानको लागि  तत्कालिन अवस्थामा कुनै पनि कुटनैतिक नियोग अथवा नेपाली दुतावास थिएन । युएईमा रहेका नेपाली विचमा आउने समस्यालाई राहत दिन र भातृत्वको विकास गर्ने उद्देश्यले सन् १९९० मा नेपाली समाजको स्थापना भएको थियो । पछि सन् २००४ अप्रिल ११ का दिन अबुधावीमा नेपाली राजदुतावास आएको र नेपाली समाजले दुतावासकै कर्मचारी सरह दुतावासको कार्य मा सहयोग गरेको नेपाली समाज युएईका भुतपुर्व अध्यक्ष कृष्ण ढकाल बताउनुहुन्छ ।

तत्पश्चात नेपाली कामदारहरुको चाप संगै विभिन्न संघ संस्थाहरुको स्थापना हुन थाल्यो । सन् २००३ मा  अन्र्तराष्ट्रिय समन्वय परिषद गठन गरेको गैर आवासिय नेपाली संघ ले पनि युएई मा सन् २००५ मा राष्ट्रिय समन्वय परिषद गठन भएको थियो । साथ साथै विभिन्न  जाति, धमर्, लिंग, क्षेत्रियता, पेशा, वर्ग र विचारका आधारमा संघ संस्थाहरुको स्थापना हुन थाल्यो । अहिले युएईमा  विभिन्न जिल्लागत, गाविस, हुदै गाउँ लाई केन्द्रित गरिएका संघ संस्थाहरु, नेपालमा वर्चश्वमा रहेका राजनैतिक दलका भातृसंगठनहरु, व्यवसाय गरेर वसेका नेपालीहरुको संस्था नेपाल विजनेस काउन्सिल  गरेर लगभग ९० को हाराहारीमा नेपाली संघ संस्था क्रियाशिल रहेको पाइन्छ ।

सामाजिक संघ संस्था स्थापना हुनु आफैमा राम्रो कुरा हो । युएईमा हुने समस्याहरु को पहिचान, न्युनीकरण र राहत मा यहाँका संघ संस्थाले खेलेको भुमीका सम्माननीय छ । नेपालमा हुने दैबी प्रकोप, प्राकृतिक प्रकोप जस्ता घट्नाहरुमा पनि राहत प्रदान गर्ने कार्य पनि निरन्तर भइ नै रहेको छ । त्यती हुदा हुदै पनि नेपाली धार्मिक , साँस्कृतिक महत्वका चाडहरुमा हुने कार्यक्रमहरु मा धेरै संघ संस्थाहरुले कार्यक्रम आयोजना गर्ने हुँदा दर्शकहरु र अतिथिहरुमा तानातान हुने अवस्था नरहेको भन्न मिल्दैन । कहिले काही नेपाल वा युएईमा हुने समस्याको राहत संकलनको लागि समिति बनाउने कुरामा पनि विभिन्न समस्याहरु, विवादहरु र ईश्या आन्तरिक रुपमा देखिदै आएका छन । हेर्दा हेर्दै समाजहरु सेवा मुलक भन्दा पनि फेसन बन्न पनि सक्छ यो कुरामा ध्यान दिनु जरुरी  देखिन्छ ।

युएईको कानुनले संघ संस्थाहरुलाई मान्यता दिएको हुदैन । संस्था अवैधानिक वा भुमिगत रुपमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । अहिले आएर नेपाल विजनेस काउन्सिल दर्ता हुन सक्ने प्रवल सम्भावना का साथ अगाडी बढेको छ । यदी नेपाल विजनेस काउन्सिल युएईमा दर्ता भयो भने नेपाली सामाजिक क्रियाकलापमा ठुलो सहयोग र स्वतन्त्रता मिल्नेमा आशावादी हुन सकिन्छ ।

यसरी हेर्दा युएईमा एउटा परिपक्क  छाता संगठनको आवश्यकता छ । हुनत यस्को लागि पहिलने नै पहल नभएको होइन । जिल्लागत संस्थाहरुलाई समेटेर छाता संगठनको रुपमा काम गर्ने कार्य नेपाली समाज युएईले गरिरहेको छ । हो बास्तवमा यो अभियान मा नेपाली समाज जुन गतिमा जानु पर्ने थियो जान सकिरहेको छैन । यसो भन्दा पनि फरक नपर्ला नेपाली समाज बर्चस्व जोगाउन लागि परेको अवस्था छ । यही अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्रिया प्रतिक्रिया हरु पनि नभएका होइनन । भर्खरै नेपाल जिल्ला परिषद युएई तदर्थ समिति गठन भएको छ ।

संयोगले सो तदर्थ समिति निर्माणको लागि भनेर आयोजना गरिएको भेलामा स्याङ्गजा सहयोग समाज युएई का अध्यक्ष राजु पाण्डे सँगै म पनि उपस्थित भएको थिए ।  बोल्ने क्रम मा मैले,  नेपाली समाज युएई गतिवान हुन नसकेको कुरा सर्ब विदितै भएको र छाता संगठनको आवश्यकता महशुस भएर त्यो भेला बोलाउनु सह्रानिय भन्दै त्यती धेरै इतिहास र विरासत बोकेको नेपाली समाजलाई नै छाता संगठनको रुपमा अगाडी बढाउन पहल गरौ,  आवश्यक परे बरु नेपाली समाजको कार्यसमिति नै परिवर्तन गरौ भन्ने कुरा राखेको थिए । साथीहरुले त्यसको प्रतिवाद गर्नु भो । घुमाउरो पारामा भन्नु भो “नेपाली समाज आफ्नो ठाउँमा छ । यो समितिले  जिल्लागत संस्थाहरुको मात्र छाता संगठनको काम गर्छ ।” एउटा परिपत्र थमाइदिए साथीहरुले । त्यो परिपत्रलाई राम्रो संग पढे अनि जति बुझे, मन मनै केही प्रश्नहरु उव्जिए र  यो लेख को लागि तयार भएँ ।

परिपत्रमा सामाजिक तथा जिल्लाबासी संघ संस्थाहरुको सञ्जाल भनेर लेखिएको थियो र भन्दा जिल्लागत लाई मात्र समेट्ने भनियो । संस्था पनि जिल्ला गत कै नामबाट नामाकरण भएको छ । परिपत्रमा  युएईमा सामाजिक संघ संस्थाहरु जति भए पनि  तिनीहरुले  गर्ने सामाजिक कार्यको खासै उपलब्धी नभएको र भए पनि ढिलो भएको भनेर भनिएको छ यसलाई कसरी बुझ्न सकिन्छ?  एउटा प्रश्न उठ्छ, के आजसम्म युएईमा नेपाली संघ संस्थाहरुले गरेका सामाजिक कार्य उपलब्धी मुलक भएका छैनन ?  ६ ओटा सर्तहरु  समेटिएको छ परिपत्रमा । त्यसो त ७ ओटा उद्देश्यहरु पनि छन । उद्देश्यहरु लगभग अन्य संघ संस्थाहरुका संग मिल्दो जुल्दो देखिन्छ तर उद्देश्यकोे  ४ नं. मा भनिएको छ  “नेपाल र नेपालीहरुको पहिचान झल्कने कार्यक्रम हरु तथा राष्ट्रिय पर्वहरु सके सम्म सामुहिक रुपमा गर्ने र अन्यथा एक अर्को संस्था संग नजुधाएर गर्ने  अर्थात कार्य तालिका बनाएर गर्ने ।”  अनि सर्त नं. १  मा लेखिएको छ “संजाल भित्र कुनै पनि राजनीतिक तथा जातिय नारा बोकेका  संस्था तथा एनआरएनए जस्ता संस्थाहरु सहभागी हुने छैन ।” विषय बस्तु बाझिएको छ  । उद्देश्यका बुँदा लाई सर्तले परिबन्ध लगाएको छ । कार्यक्रम हरुलाई नजुधाउने उद्देश्य र राजनैतिक अनि जातिय संघ संस्थाहरुलाई सञ्जालमा समेट्न नसकिने कुराले स्थितीलाई जहाँको त्यही उभ्याएको देखिन्छ । युएई मा रहेका संस्थाहरुको आंकडा हेर्ने हो भने पनि जिल्लागत संस्थाहरु भन्दा  राजनैतिक, जातिय, पेशा, लैङ्गिक, सम्प्रदाय, साहित्यीक र गाँउ स्तरिय संस्थाहरु धेरै देखिन्छन । अनि जिल्लागत केही संस्थाहरु नेपाली समाजमा सहभागी पनि भएका छन् । अनि प्रश्न उठ्दैन  कसरी सञ्जालले कार्यक्रमहरु नजुधाउने अभियान सफल बनाउन सक्छ ? शंका लाग्छ यो सर्त बाट युएईमा रहेको नेपाली संघसंस्था विचमा बैर भाव उत्पन्न हुने  त होइन ?

सवाल यो छ । के हामी युएईमा रहेका सम्पुर्ण जाति, धमर्, लिंग, क्षेत्रियता, पेशा, वर्ग र विचारका संस्थाहरुलाई समेटेर भैपरी आउने समस्यामा लड्ने  समाज निर्माण गर्न सक्दैनौ ? अथवा हामी चाहदैनौ । हामी पृथकतामा रमाउछौ । पदिय लडाँइ र कुर्सीमा हाम्रो मोह छ ।  हो, हामी सक्छौ । हामीलाई पृथकता भन्दा सम्पुर्णता चाहिएको छ । सामाजिक सद्भाव र सामाजिक कार्य चाहिएको छ भने किन हामी त्यती ठुलो विरासत बोकेको नेपाली समाजलाई अगाडी बढाउन चाहन्नौ ?  किन नेपाली समाजको अस्तित्व समाप्त हुन लाग्यो भन्दै ताली पिट्दै बस्छौ ? प्रश्न अनुत्तरित हुन्छ ।

संस्था जन्माउनु महान कार्य हो । त्यो भन्दा पनि संस्थालाई जिवन्त र गतिशिल राख्न झन महत्वपुर्ण  कार्य हो । समाज रुपान्तरण र सामाजिक समस्याहरु समाधानको लागि आग्रह, पुर्वाग्रह भन्दा पनि माथी उठ्नु जरुरी छ । हामी समस्या को बास्तविक समाधान तर्फ कहिल्यै जान चाहदैनौ । परिस्थितीलाई सामसुम पार्न विभिन्न वाहानामा अर्को परिस्थिती सृजना गर्छौ । समस्या संग भाग्छौ त कसरी समाधान हुन सक्छ  । वास्तविकता पहिचान गरौ , उचित विकल्प को विश्लेषण गरौ र युएईमा रहेको नेपाली समुदाय लाई एक बनाउन मन, वचन र कर्मले लागि परौ ।
जदौ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top