नन्दप्रसाद अधिकारीको मृत्यु निश्चित थियो । किनकी वृद्ध नन्दलालका भुजाहरुमा एकआपसमा अन्तरसम्बन्धित अपराधिहरुको किल्ला तोड्ने सार्मथ्य थिएन । अझ भनौ नन्दप्रसादका वृद्ध आँखाले कुन हाँस र को बकुल्ला हो पहिचान गर्न असमर्थ भए । न्याय त्यो समाजमा सम्भव हुन्छ जहाँ एकापट्टी अपराधी र अर्कोपट्टी न्यायपालकहरुबीच स्पष्ट विभेदीकरण हुन्छ । अफशोच नन्दप्रसाद त्यो समाजमा थिए जहाँ मुसा मार्न विरालो पाल्दा विरालो मुसासँग घाटी जोडेर आफ्नो पेट भर्दछ । नन्दलाल कोसँग न्याय मागिरहेका थिए, वालुवाटार, वल्खु, पेरिस डाँडा, सिंहदरवार वा सैन्य हेडक्वार्टर ? अथवा नन्दप्रसाद अमूर्त राज्यसँग न्याय मागिरहेका थिए, जसको भौतिक उपस्थिति नै छैन तर यसको सञ्चालन रक्तरंजित हातहरुले आलो पालो गरेका थिए ।
ईतिहास साक्षी छ किलो शेरा टु अपरेशन, अपरेशन रोमियो वा साँस्कृतिक कारवाही, वर्ग शत्रु सफाया, ढाडमा टेकेर टाउकोमा हान्ने यि सबै नेपाली समाजलाई छिया छिया पार्ने डरलाग्दा अणुबमहरु थिए जसको चपेटामा बागलुङका सुरेश विक, थिरनाथ शर्मा, भद्र खड्का, नेपालभरि मैना सुनुवार, कृष्णबहादुर अधिकारीहरुलगायतका अनगिन्ती नेपालीहरु परेका थिए । हिजो गाउँगाउँमा राती माओवादीलाई वास नदिए आफ्नै वास उठ्ने विहान माओवादी उठेर गएपछि सेनाले वास उठाउने वाध्यतामा कैयौ घरहरु पिल्सिएका थिए । कालिकोट एअरपोर्टमा काम गर्न गएका धादिङका चेपाङहरुको शरीर भारत वा अमेरिकाका सहयोगबाट प्राप्त वुलेटले प्वाल पारेको थियो भने भारत वा अमेरिकाकै हितविपरित डेग नचल्ने लिखितम दिएर प्रभुको आर्शिवादवाट आफ्नो र सन्तानको टाउको सुरक्षित गर्ने तर जनताका छोराछोरीलाई सुरुङ खन्न लगाएर माडीमा वसलाई एम्बुस पारी सर्वसाधारणको शरीरमा सकेट वमका छर्राहरु जीवनभरको लागि उपहार दिइएको थियो । निकै नै त्रासद, संगीन र खतरनाक दुस्वप्नसरी नेपाली द्वन्द्वकालिन कालखण्डमा प्रत्यक्ष वा परोक्षरुपमा निमुखा जनताको रगतले पोतिएका हातहरुले आलोपालो सिंहदरवारमा बसेर मृगको सुकुटी र विदेशी ककटेल उचालेका छन् तिनै हातका मालिक र तिनलाई कठपुतली बनाउने महाप्रभुहरुसँग नन्दलाल न्याय मागिरहेका थिए । अनि उनका सारथी थिए विश्वको श्रोत र साधनदोहन र आफ्नो सामरिक स्वार्थको लागि क्षणमै विन लादेन र सद्दाम हुसेन जन्माउने, अफगानिस्तान, प्यालेस्टाईन, लिविया, सिरियामा कठपुतली संयन्त्र तयार पार्न हिंसा, द्वन्द्व, आमसंहार, अराजकता थोपर्न नहिच्किचाउने वा श्रीलंकाका सेनासँग गस्तीमा सँगै बुट बजार्ने तर तामिल टाईगर्सहरुलाई सैन्य तालिम दिने भारत अमेरिकाजस्ता विश्वशान्तिका खलनायकहरुबाट प्रशिक्षित, निर्देशित र संरक्षित मानवअधिकारवादीहरु । जव रोगी धामी र बोक्सी एकै भएको व्यक्तिसँग उपचार खोज्न जान्छ तब रोगीको मृत्यु निश्चित छ । दुभाग्र्य नन्दप्रसादको नियती उपचार खोज्न धामी र बोक्सी एकै भएको व्यक्तिसँग गए जस्तो भयो परिणाम उनको दुखद मृत्यु हुन पुग्यो । उनको छोराको मृत्यु द्वन्द्वले भयो भने उनको मृत्यु गलत उक्साहट र प्रभावले भयो ।
वास्तवमा नन्दप्रसादको पीडा सिर्फ नन्दलाललाई थाहा थियो, जसरी मैना सुनुवारको आमालाई पीडा छ, सेनाको यातनाबाट कालान्तरमा अशक्त भई मृत्यु भएका बागलुङका थिरनाथको श्रीमतीको पीडा सिर्फ उनलाई थाहा छ जसरी माओवादीद्वारा सुराकीको आरोपमा मारिएका बागलुङ धम्जाका भद्र खड्काकी छोरीलाई पीडा छ । समग्रमा द्वन्द्वको घाउले नेपाली समाजका हरेक अवयव चहराएको थियो तर नन्दलाल प्रकरणमा न्यायको खोजीको प्रक्रिया नै शुद्ध र पवित्र भएन । निश्चित वर्गिय उद्देश्य र पक्षधरताको रंगले नन्दलाल प्रकरण रंगियो । जब नेपाली जनताको रगतको आहालबाट रक्तविजझै बनेका माओवादी नेतृत्व वा माओवादीलाई रगतको मात दिलाईराख्दा दक्षिण एसियामा भारतको एकछत्र दादागिरिमा फिरंगीहरुको घुसपैठ हुन सक्ने सम्भावना भएकोले नेपाली माओवादी भष्मासुर जस्तै घातक हुने ठानेको भारत, गाउँबाट खुम्चेर सिर्फ शहरमा सिमित भएका निरिह कांग्रेस एमालेलगायतका दलहरु, प्रभुको दयामायामा कमी हुना वित्तिकै टाउको जोगाउन आफैले खन्न लगाएको सुरुङले पनि साथ नदिने निस्कर्षमा पुगेका माओवादीहरुको सुरक्षित अवतरणलगायत थुप्रै प्रकट र अप्रकट रहस्य र उद्देश्यका साथ दिल्लीमा १२ बुँदे समझदारी हुन पुग्यो । युद्धको विभिसिकाबाट पीडित नेपाली जनताहरु तत्काल राहतको लागि १२ बुँदे समझदारी पछाडिका लुकेका स्वार्थ, राजनैतिक दावपेच छक्कापञ्जाको मतलव नराखी अनुमोदन गरिदिए । १२ बुँदे समझदारीसँगै शान्त र उन्नत नेपालको कल्पनामा थुप्रै नेपालीहरु शरीरमा रहेको छर्रालाई विर्सन तयार थिए । आज एउटा एउटा गरेर नन्दप्रसादरुपी द्वन्द्वका घाउँहरु उप्काएर फेरी शरीर क्षतविक्षत बनाउने धृस्टता गर्ने कनकमणीहरुले पनि १२ बुँदे सहमतिलाई अनुमोदन गरेकै हुन् । द्वन्द्वपछिको समाजमा पीडितहरुमा विद्यमान निराशा, कुण्ठा र विद्रोहलाई सत्य निरुपण आयोग र मेलमिलापको सिद्धान्तबाट समग्र प्याकेजमा समाधान खोजिने विन्दुमा सबै सहमत भएकै हुन् । तर मानवअधिकारवादीहरु सत्य निरुपणमा मात्र बढि केन्द्रीत हुन खोजे तर मेलमिलापजस्तो महत्वपूर्ण पाटोलाई वाईपास गर्न खोजिएको जस्तो देखियो नन्दप्रसाद प्रकरणमा । कनकमणीहरु यही नेर चुक्न पुगे वा विवेकलाई बन्द गरेर सिर्फ निर्देशित बनि रहे ।
न्यायको खोजीमा ज्याननै गुमाउने तरिकाले न्यायविधि व्यवस्थित हुँदैन बरु न्याय माग्दै थिरनाथकी श्रीमति र भद्र खड्काकी छोरीलाई आत्महत्या गर्न उक्साउँछ आमरण अनसनको नाममा । समाजलाई गतिशिलता दिन कतिपय सवालमा पीडालाई नचाहेर पनि विर्सन पर्ने हुन्छ जसरी प्रसव पीडालाई सन्तानसुखको लागि आमाले विर्सने गर्छिन् । जापानमा परमाणु बम खसेपछि जापानीहरुले अमेरिकालाई र युद्धमा झोसिदिएको आफ्नो नेतृत्वलाई गालीमात्र गरेर बसेनन् बरु रातदिन मेहनत गरेर अमेरिकासँगै हातमिलाएर जापानलाई समृद्ध बनाउन उर्जाको लगानी गरे । थुप्रै आमाहरु, बाबाहरु छोराछोरीको कंकाल र अस्तु बोकेर विकसित जापानको निर्माणमा योगदान दिए । गह्रौ मन लिएर थुप्रै गुनासाका बावजुद बम खसाल्ने अमेरिकीहरुसँग विकासको सवालमा हात मिलाउने अदम्य साहस देखाए । राज्य र माओवादी पीडित जो भए पनि एकअर्काको पीडावोध र सम्मान गर्दै चिहानमा गाडिएको लाश उखेल्ने कार्य गर्नु भन्दा दुस्वप्नसरि विगतलाई विर्सेर सुनौलो भविष्यको परिकल्पनासँगै आगामी पुस्ताको लागि समुन्नत नेपाल बनाउन लाग्नु पर्दछ त्यसैमा नेपाली समाज, सरोकारवाला र मानवअधिकारकर्मीहरुले योगदान दिनु द्वन्द्व पछिको वर्तमान नेपालको ऐतिहासिक आवश्यकता हो । नेपाल वर्तमान अराजक र संक्रमणकालिन अवस्थामा रहि रहे संगीन मानवअधिकारको उल्लंघनमा बढोत्तरी हुनेछ, वा फेरी कहिल्यै पुर्ननिर्माण हुन नसक्ने गरेर ध्वस्त हुनेछ । नेपाल नै नरहे को नेपाली र नेपालीको मानवअधिकार गम्भिर प्रश्न खडा हुन्छ ।
कम्बोडियामा खमरेजले गरेको आमसंहारमा मृत्यु भएका नागरिकहरुको खप्परको संग्राहलय बनाइएको छ । हरेक कम्बोडियन उक्त संग्राहलयमा आज पनि चासोका साथ अवलोकन गर्न जाने गर्दछन् । विगतको त्रासदपुर्ण ईतिहासलाई स्मरण गरेर भविष्यमा त्यस्तो कहालीलाग्दो दिन नआयोस र त्यस्तो कुनै गल्ती गर्न नपरोस भनेर प्राथना गरेर आउँछन् । बरु कनकमणीहरु वक्तव्यवाजी, प्रचारवाजी र प्रोक्सीवार तर्फमात्र नलागेर त्यस्तै कुनै संग्राहलय बनाउ जहाँ द्वन्द्वकालमा सबैपक्षबाट पीडित भएकाहरुको पीडा समावेश होस् । नेपाली पाठयक्रममा द्वन्द्वको विभिषिका नामक पाठ समावेश गराएर आगामी पुस्तालाई द्वन्द्व र हिंसाको परिणाम र मारको बारेमा अवगत गराऔं । १२ वर्षे द्वन्द्वका घाउका टाटाहरु सुक्न पाएका छैनन्, जातिय र धार्मिक द्वन्द्वले तलवार तिखारेर बसेको वर्तमान संगीन घडीमा समग्र नेपालीबीच आपसी मेलमिलाप र ऐक्यवद्धताका साथ जुट्नु पर्ने सन्देश छरौं ।
वास्तवमा नन्दप्रसादको न्यायको माग जायज छ तर यसलाई व्यक्तिगत युनिटको आधारमा समाधान खोज्दा हजार नन्दप्रसाद खडा हुनेछन् । आरोप प्रत्यारोप र लहरो र पहरो खोज्दै जाँदा किलो शेरा टु अपरेशन वा वर्ग शत्रु सफायाको निर्देशककर्ताहरुसम्म पुग्न पर्दछ अनि भैरव गण र मिसन मुस्ताङमार्फत मानिस मार्न प्रशिक्षित गर्ने वेलायती गुप्तचरी संयन्त्रका निर्देशकहरुसम्म पुग्न सक्नु पर्दछ । तब प्रश्न उठ्नेछ कनकमणीहरु को कोलाई हेगमा पठाउँलान् । दिल्लीमा बसेर सत्तामा पुग्न रगतको होली खेल्ने माओवादी नेतृत्वलाई, वा सकटकाल लगाएर सेना परिचालन गर्ने र त्यसलाई अनुमोदन गर्ने संसदीय दल, सेनाका जनरलहरु वा माओवादीलाई शक्तिशाली बन्ने मौका दिएर संसदवादलाई कमजोर बनाउने अनि आफ्नो प्रत्यक्ष सहभागितामा सत्ता चलाउने सपना र मिसन बोकेको तत्कालिन राजतन्त्रलाई ? अथवा कर्णेल लामालाई पक्राउ गरेर पाखण्ड देखाउने तर नेपालमा मान्छे मार्न प्रशिक्षित गर्ने वेलायत, वा माओवादीलाई शरण दिएर नेपालमा अराजकता फैलन दिन सहयोग पु¥याउने भारतलाई ? नेपालमा अतिजातिवादी नारा घुसाएर एकीकृत समाजलाई साम्प्रदायिक विभक्त गर्ने, अराजक बनाउने सो मार्फत आफ्नो सामरिक स्वार्थपूर्ति गर्ने मौका पर्खेर बसेका पश्चिमाहरुलाई ? सबै कुस्वार्थहरुको टकराव र मिलानको परिणितीले गर्दा नन्दलालले द्वन्द्वमा छोरा गुमाउन प¥यो भने उत्तरद्वन्द्वकालिन संक्रमणमा स्वयमं नन्दलालले आफ्नो ज्यान गुमाउन प¥यो । कनकमणीहरुले अब नन्दप्रसादको मृत्युको जिम्मेवार को हो स्पष्ट किटान गरिदिनु पर्दछ, अमुर्त राज्यलाई दोष देखाएर अमृत वाचाल वक्तव्य जारी गरेर मात्र कनकमणीहरुको जिम्मेवारी पुर्ण हुँदैन । नेपाल राज्य हामी नेपाली जनता हौं, हामीले चुनेर पठाउने नेता, हामीले निर्माण गर्ने न्यायविधि र शासनपद्दति संस्कार समग्रमा राज्य हो विडम्बना कनकमणीहरु अमूर्त राज्यलाई समग्र दोष देखाएर आफ्नो सहभागिता, उपस्थिति र भूमिका नै नभए झैं गरेर पानीमाथिको ओभानो बन्ने अवेविवेकशिल तर्क गर्दछन् । कनकमणीहरु विर्सन्छन् उनीहरु मानवअधिकारकर्मी हुन् सँगसँगै उनी नेपाल राज्य पनि हुन् । आज सिके राउतहरुले खुलेआम राज्यविखण्डन र सम्भाव्य द्वन्द्वको संकेत दिँदा कनकमणीहरु राउतको व्यक्तिगत स्वतन्त्रताको अधिकारको दुहाई दिन्छन् तर यो विर्सन्छन् कि भोलि सिके राउतहरु हावी भए भने नेपालमा मानवअधिकारको उल्लंघन कनकमणीहरुले लेख्ने प्रतिवेदनमा नअट्ने मात्रामा हुनेछन् । के मानवअधिकारकर्मीको दायित्व भविष्यमा विनाश निम्त्याउने दुर्योधनको भ्रुणलाई रोक्नतर्फ हुँदैन या दुर्योधनलाई जन्म दिएर कुरुक्षेत्रमा सारा विनाश पछि युद्धमा कस कसले नियम तोड्यो र को बढी निर्दयी भयो भनेर हिसावकिताव मात्र गर्ने हो ?
हिजाकोे द्वन्द्व नेपालको लागि अभिसापयुक्त कालखण्ड थियो । जसमा सबै आफ्नो आफ्नो कुत्सित स्वार्थ र योजनाको रोटी नेपाललाई जलाएर सेक्न चाहन्थे । विडम्बना निमुखा नेपाली जनताको शरीर त्यो आगोमा खरानी भयो । अब मृत लाशलाई चिहानमा गाडेर समाजलाई गतिशिलता दिनेबेला हो सतिको लाशलाई काँधमा बोकेर शिव झै संसार विचरण गर्न खोज्दा समाजको गतिशिलता रोकिन्छ । तसर्थ कनकमणीहरु हेगको दुहाई दिन बन्द गरौं । किनकी वास्तवमा हेग भ्रम हो यो शुद्ध छैन । ग्वाटेमालामा गुप्त यातनागृह सँचालन गर्नेहरु, सेप्टेम्बर ११ पछि अमेरिकाका मुस्लिम धर्मावलम्वीहरुलाई एन्टी टेरोरिज्म डिटेन्सनको नाममा वेपत्ता पार्नेहरु, आफै विनलादेन तयार गर्नेहरु, ईराकमा बन्दीलाई नाङगै बनाएर अण्डकोशमा लाईटर बाल्नेहरु, आर्थिक र सामरिक स्वार्थको लागि छिमेकी देशमा अराजकता र हिंसाको आगो दन्काउनेहरुले सञ्चालन गर्ने गरेको हेग कसरी विशद्ध हुन सक्छ । के कनकमणी बेलायतसँग प्रतिप्रश्न गर्न सक्छन् नेपालमा आतंककारीलाई कसरी यातना दिने भनेर सेनालाई तालिम दिन मिशन चलाएको वेलायतले त्यही सेनाको कर्णेललाई कुन नैतिकताको आधारमा पक्राउ ग¥यो ? वा किन हिजो आतंककारी घोषणा गरेको माओवादीलाई सत्तामा आएपछि राजनैतिक हैसियत दियो अमेरिकाले ? के कनकमणीहरु सिके राउतहरुलाई प्रशिक्षित र निर्देशित गर्ने दाताहरुलाई जातिय विभाजनको लागि डलर बाड्न बन्द गर अनि नेपाललाई सोमालिया बनाउने चलखेल बन्द गर भनेर भन्ने साहस गर्न सक्छन् ?
त्यसैले कनकमणीहरु वास्तविक मानवअधिकारकर्मी हुन भने सत्य निरुपण आयोग र मेलमिलापको लागि आफै आमरण अनसन बस्ने आँट गरौं, भारतमा अन्ना हजारेले भ्रष्टाचारको विरुद्धको आन्दोलनमा अरु कसैलाई अनसन बस्न लगाएनन् बरु उनी आफै अनसनमा बसेका थिए । थप नन्दप्रसादहरु नखोजौं, नजन्माउ द्वन्द्वको क्षतिलाई उत्तरद्वन्द्वपछि नचर्काउ ।
Source: Simapari
