कति वर्ष वा दशक मिलेर ‘एरा’ बन्छ, म जान्दिन, तर हामी बाँचिरहेको अहिलेको समयलाई सूचना-प्रविधिका मर्मज्ञहरु ‘फेसबुक एरा’ भन्छन्। ठ्याक्कै कुन साललाई ‘डिमार्केसन लाइन’ मान्ने भन्नेमा मतैक्य नभएपनि सोसल मिडियाका अधिकांश चल्तापुर्जा इतिहासविद्हरु सन् २००८ पूर्वको समयलाई ‘प्रि-फेसबुक एरा’ एवं रीतले २००८ पछिको समयलाई ‘फेसबुक एरा’ का रुपमा वर्गीकरण गर्नुपर्ने बताउँछन्। हाल चालू ‘जुकर वर्कीयन फेसबुक एरा’ को विषय त सबैजनामा सर्वविदितै छ, जसले हामीलाई एकआपसमा जोड्ने र अन्तर्क्रिया गर्ने तरिकामै सधैंका निम्ति कसैले नसोचेको बदलाव ल्याइदियो ! तर फिल्मी हिरोइनहरुको फिल्मी-करिअरभन्दा पनि छोटो ‘अटेन्सन स्प्यान’ भएका हामीहरुको मानसपटलबाट ‘प्रि-फेसबुक एरा’ का धेरैजसो फोल्डरहरु चाँहि डिलिट भइसकेका छन्। यस हिसाबले त्यो स्वर्णिम एरालाई अर्काइभबाट उत्खनन गरेर भएपनि दुई मिनेटका लागि स्मरण गर्नु हाम्रो जिम्मेवारी हुन आउँछ।
त्यो स्वर्णिम प्रि-फेसबुक एरा
१. छुट्टी मनाउन कतै घुम्न गइन्थ्यो त आनन्दीमनले बिनाफिक्री घुमघाम गर्न पाइन्थ्यो ! कस्तो पोजमा फोटो खिच्दा बढी कमेन्ट आर्जन होला, कुन एंगलमा खिच्दा बढी लाइक आउला, कस्तो ब्याकग्राउण्ड राख्यो भने बढ्ता शेयर होला, कुनै टन्टा हुन्थेन। बस्, आत्मसन्तुष्टि नाउँको चीज थियो, त्यसैका लागि साथीभाइसँग दुई-चार राउण्ड क्यामेरा हल्लाइन्थ्यो, परिवारसँग तस्वीरहरु क्लिक-क्लिक पारिन्थ्यो ! पछि नोस्टाल्जिक हुन पाइने लोभले रङ्गीविरंगी एल्बम सजाइन्थ्यो तर दुनियाँका सामू आत्मप्रदर्शनका लागि फोटोसपका दोकान चाहरिरहनुपर्ने कुनै झन्झट थिएन।
२. ‘विद्युतीय कारोबार ऐन’अन्तर्गत जेल परिने एकरत्ति त्रासबिना कुनै पनि गृहमन्त्री वा त्यस्तै उच्च ओहोदाधारीका आचरणमा निस्फिक्री गफिन र ‘कमेन्ट’ मार्न सकिन्थ्यो, घन्टौं ! कुनै व्यक्ति-विशेषका बचाउ/विरोधमा वर्ल्डवार त लडिन्थ्यो, तर ल्यापटप र स्मार्ट फोनका स्क्रीनहरुमा होइन, चियापसल र पत्रिकापसलअगाडि तेर्सिएका बेन्चीमा ! त्यहाँ सबका सब सर्वज्ञाता हुन्थे- पृथ्वीलोकदेखि अन्तरीक्षसम्मका हरेक घटना-परिघटनाहरुमाथि घन्टौं भाषण छाँट्न सक्थे ! तर सबै गफाडीका स्पष्ट अनुहार हुन्थे, कुनै हुन्थेनन् नकाबपोस हुँडारहरु, ‘एनोनिमस युजर’ हरु !
३. दिमाग अलिकति उर्वर भयो र केही फुर्यो भने आइफोन होइन, सुटुक्क डायरी खोलिन्थ्यो, पहेंलपूर भइसकेका पाना पल्टाइन्थ्यो, अलिकति केही कोरिन्थ्यो अनि ‘स्वान्त: सुखाय’ को अनुभूति लिँदै डायरी थन्काइन्थ्यो, बस् ! प्रत्येक मिनेटजसो कुन केटीले त्यो कोरेको कुरामा ‘लाइक’ हानी र कुन महाशयले ‘कमेन्ट’ मार्यो भनेर कुनै छटपटी र हुटहुटी हुन्थेन ! यहाँसम्म कि कागजमा कोरिएका ती शब्दहरु अरुलाई देखाउनसम्म भयङ्कर लाज लागेर आउँथ्यो !
४. डायरीका पहेंलपूर पानाहरु सोध्दैनथे- ‘व्हाट्स इन योर माइन्ड ?’ भनेर ! त्यसैले दिमाग बाँझोको बाँझै रहेको खण्डमा जबर्जस्ती कतैबाट चोरी-चकारी गरिकन भएपनि डायरीको ‘स्टाटस अपडेट’ गर्नैपर्ने बाध्यताबाट पूर्ण मुक्त थियो- ‘प्रि-फेसबुक एरा’। गान्धी र अर्वेलका ‘कोट’ हरुलाई ‘अनकोट’ गरेर आफ्नै भनाइजस्तो भान पार्दै स्टाटस हालिरहनुपर्ने मजबुरी थिएन। प्लेगियारिजमले यति भुइँतहसम्म यति दह्रो गरी जरो गाडिसकेको थिएन।
५. निसन्देह, ‘प्रि-फेसबुक एरा’ मा फेसबुक थिएन, पेपरबुक मात्रै थियो। परिणाम- अहिलेका खुंखार फेसबुकरहरु पनि उबेला भयङ्कर पढन्ते थिए, पेपरबुकका ! र उनीहरुको पढ्नुको उद्देश्य एउटै हुन्थ्यो- पढ्नुको मजा लुट्ने र सकिन्छ भने केही ज्ञान पनि बटुलीहाल्ने ! ‘फलानो महान लेखकको चिलानो महान किताब पढ्दैछु म विद्वानले, तैले अहिलेसम्म के लछारिस्’ भन्दै संसारका सामू आफ्नो फेसबुके भित्ताबाट फलाक्दै हिंड्ने र बोक्रे ‘रिभ्यु’ पोस्ट गरेर महान समीक्षक बनिटोपल्ने स्थिति थिएन !
६. ‘मुभी’ हेर्न हल छिर्दा ‘म यो नाउँको हलभित्र छिर्दै..अब फिल्म शुरु हुन यति सेकेन्ड बाँकी…उत्साहित!’ भन्दै सार्वजनिक घोषणा गरिरहनुपर्ने कुनै जरुरत थिएन। न त ‘प्लट’ अपडेट गर्दै ‘बबाल’ वा ‘झुर’ को ट्याग झुन्डाउनु नै आवश्यक थियो। बिन्दास तालले एकचित्त भएर फिल्ममा एकोहोरिंदै हृदयानुभूति गर्ने अपूर्व सुविधा दिएको थियो- त्यो ‘एरा’ ले !
७. सयौंको संख्यामा ओइरिने ‘ह्याप्पी बर्थडे टू यु’ रुपी ‘बर्थडे विस’ हरु ‘प्रि-फेसबुक एरा’ मा सपनाको सपनामा पनि चिताउन नसकिने कुरा थिए। कसको ‘बर्थडे’ कुन दिन भनेर जोकोहीले डायरीमा लेखिरहने र ठ्याक्कै त्यही दिन त्यो डायरीले सम्झाइदिने अनि ‘ट्रीट’ माग्दै ‘विस’ गर्दिहाल्ने- उबेला यो सोच्न सकिने कुरा थिएन। आफ्ना सीमित ‘बेस्ट फ्रेन्ड’ हरुको बर्थडे मात्रै दिमागको मेमोरी कार्डमा सेभ रहन्थे। क्लासको पहिलो घन्टीमा सबै साथीहरुलाई एक रुपियाँ पर्ने चकलेट बाँडेर टर्ने उबेलाको ‘बर्थडे सेलिब्रेसन’ ले ‘फेसबुक एरा’ मा आइपुग्दा ‘महान अग्रगामी छलाङ’ हानिसकेको छ। गुरु दिवस, बुवा दिवस र मुवा दिवसका पार्टीहरु पनि त्यो बेला यति ग्ल्यामरस कहाँ थिए र ?
८. ‘गोपनियताको हक’ मौलिक हकका रुपमा स्थापित थियो। मामा-काका, आमा-बाबा सबैका सामू आफ्ना सबै गतिविधिहरु यति पारदर्शी रुपमा छरपष्ट हुन्थेनन्। हाम्रो आफ्नै निजी अफलाइन जिन्दगी थियो।
९. क्रिकेट वा फुटबललाई टीभीमा ‘लाइभ’ हेर्दा पूरै मजा लिएर हेरिन्थ्यो। ‘यो हेर्ने मै मात्र एक्लो माइकालाल हुँ, त्यैभएर मिनेटमिनेटको स्कोर बाँकी बिचराहरुलाई कृपा गरी बताइदिने गुरुत्तर दायित्व पनि मेरो र मेरोमात्रै हो’ भन्दै छिनछिनमा मोबाइलका किप्याड थिचिरहनुपर्ने विवशता थिएन।
१०. केटाहरु ग्राउण्डमा फुटबल खेल्न बोलाउँथे, क्रिकेट खेल्न निम्त्याउँथे तर ताईं न तुईंको क्यान्डीक्रसको इन्भिटेसन पठाएर कसैलाई सताउँदैनथे !
Source: My Sansar

