क्यालिर्फोनिया(एजेन्सी), भाद्र २६ - एप्पलले मंगलबार आफ्नो स्मार्ट फोन शृंखलामा आइफोन ६, ६ प्लससहित स्मार्ट वाचलाई थपेको छ। प्रमुख कार्यकारीका रूपमा एप्पल प्रवेश गरेपछि टिमुथी डोनाल्ड कुकले आफ्नो योजना नयाँ उत्पादनमार्फत देखाएका छन्।
नयाँ आइफोनले बजार हिस्सा बढाउन मद्दत गर्ने र ब्रान्ड क्रेज यथावत् राख्ने विश्वास कम्पनीले गरेको छ। एप्पलले गर्ने कारोबारको ५३ र नाफाको करिब ७० प्रतिशत रकम आइफोनले उत्पादन गर्छ। त्यसैले पनि पछिल्लो आइफोन संस्करणमा कम्पनीले विशेष ध्यान दिएको देखिन्छ।
मंगलबार आयोजना भएको कार्यक्रममा एप्पलले हालसम्मकै ठूलो आइफोन सार्वजनिक गरेको छ। यसअघि नछिरेको स्मार्ट वाच बजारमा पनि उसले पाइला टेकेको छ। एप्पल वाच ब्रान्ड नामसहित सार्वजनिक गरिएको घडीले स्वास्थ्य र त्यससम्बन्धी अन्य विषयलाई हेर्न मिल्ने गरी बनाइएको छ। कुकको नेतृत्वमा सार्वजनिक भएको यो घडी एप्पलको पहिलो वेयरेबल टेक्नोलोजी उत्पादन हो। यही क्षेत्रमा सामसङ, पिबल र सोनीका उत्पादनबीच तीव्र प्रतिस्पर्धा छ। २०१४ भित्र १ करोड ९० लाख स्मार्ट वाचको बिक्री हुने बजार अनुमान छ।
एप्पलले यसअघि पनि बजारमा
आफ्ना उत्पादन अन्यभन्दा पछि ल्याएर समेत बजारमा पकड जमाएको थियो। आइपोड र आइफोन दुवै बजारमा नयाँ खाले उत्पादन थिएनन् तर स्टिभ जब्सको जादुले दुवैलाई बजारको सबैभन्दा ठूलो खेलाडी बनाएको थियो। यस्तै अनुमान एप्पल वाचमा पनि गर्न थालिएको छ। तीन संस्करणमा उपलब्ध हुने एप्पल वाचको मूल्य ३ सय ५० अमेरिकी डलरबाट सुरु हुने कम्पनीले जनाएको छ।
सेप्टेम्बर १९ देखि बिक्री सुरु हुने आइफोन ६ र ६ प्लस दुवैको स्त्रिmन यसअघिका संस्करणभन्दा ठूला छन्। बजार प्रतिस्पर्धी सामसङ ग्यालेक्सी एस ५ भन्दा आइफोन ६ केही सानो र ६ प्लस केही ठूलो छ।
आइफोन ६ को स्त्रिmन आकार ४ दशमलव ७ इन्च र ६ प्लसको आकार ५ दशमलव ५ इन्चको छ। रेटिना एचडी डिस्प्लेसहित आउने नयाँ आइफोनमा ब्याट्रीको आयु बढी हुने कम्पनीले जनाएको छ। क्यामेरा, नेभिगेसन र गतिमा पनि कम्पनीले सुधार गरेको छ।

