मोदी भेट्ने पहिलो नेपाली जीतबहादुरको परिवार

0
नेपालको औपचारिक भ्रमणमा आइतबार काठमाडौं आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको औपचारिक सुरुवात उहाँले धर्मपुत्रका रुपमा संरक्षण दिनुभएका नेपाली युवक जीतबहादुर मगरको परिवारसँग भेटबाट भएको छ ।

नेपाल भ्रमणमा रहनुभएका मोदीले होटल हायात पुग्नेबित्तिकै मगरका आमा, दाजु, बहिनीसहित परिवारका अन्य सदस्यसँग भेट गर्नुभएको हो । मोदीसँगै जीतबहादुर पनि नेपालको भ्रमणमा आएका हुन् । प्रधानमन्त्री मोदीले मगरको परिवारसँग सामूहिक तस्बिर खिचाउनुभएको थियो ।

मोदीले शनिबार ट्वीटरमार्फत “मगरका परिवारसँग पुनर्मिलन गराउन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको” बताउनुभएको थियो । शनिबार नै नेपालस्थित भारतीय दूतावासले नवलपरासीबाट मगरका परिवारलाई काठमाडौँ बोलाएको थियो ।

दश वर्षकै उमेरमा नवलपरासीस्थित आफ्नो घर छाडेर हिँडेका जीतबहादुर बेवारिसे अवस्थामा अहमदावादबाट संयोगवश मोदीको सम्पर्कमा पुग्नुभएको थियो । मोदीले उहाँलाई आफ्नो परिवारको सदस्यका रुपमा पालनपोषण र रेखदेख गर्नुका साथै उच्च शिक्षासमेत उपलब्ध गराउँदैै आउनुभएको छ ।

आफ्नो परिवारसँग भेट गरेपछि जीतबहादुरले आफू केही समय आफ्नै घर बस्न चाहेको बताउनुभयो । आफ्नो परिवारसँग भेटेपछि पत्रकारसँग उहाँले भन्नुभयो, “म अहिले केही समय आफ्नै घरमा बस्न चाहन्छु ।”

मगरका परिवारसँग सम्पर्क भएपछि नेपाल भ्रमणकै अवसरमा परिवारसँग पुनर्मिलन गराइदिने घोषणा प्रधानमन्त्री मोदीले गर्नुभएको थियो ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top