सुनकोसी थुनियो, लामोसाँघुदेखि दोलालघाटसम्मका बासिन्दाले घर छोडे

0
चौतारा,  सिन्धुपाल्चोकको धुस्कुन गाविस जुरे भन्ने ठाउँमा भीषण पहिरो जाँदा सुनकोसी नदीका बाँध आज बिहान ३ बजेबाट थुनिएको छ ।

पहिरोमा परी स्थानीय बासिन्दाका ४० घरमा क्षति पुगिसकेको बताइए पनि आधिकारिक जानकारी आफूहरुलाई प्राप्त नभएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।
घटनामा मानवीय क्षति भए नभएको जानकारी प्राप्त हुन सकेको छैन । यो क्षेत्र सदरमुकाम चौताराबाट ८० किलेमिटर टाढा पर्छ । पहिरो जाने क्रम अहिले पनि रोकिएको छैन ।

पहिरोका कारण थुनिएको सुनकासीको बाँध फुट्ने त्रासले लामोसाँघुदेखि दोलालघाटसम्मका अरनिको राजमार्ग छेउछाउ र नदी आसपास बस्तीका बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् । घटनालगत्तै प्रहरीले माइकिङ गरी त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिसकेको छ । अहिले अरनिको राजमार्ग भने बन्द गरिएको छैन ।

पहिरोले बिजुलीको पोल ढलेका कारण उक्त क्षेत्रमा विद्युत् सेवा तथा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ ।

घटना भएको खबरलगत्तै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी नायब उपरीक्षक बोहोरा र नेपाली सेनाका प्रमुख सेनानी सुरेश कार्की त्यसतर्फ गइसक्नुभएको जानकारी प्राप्त भएको छ ।

अहिले सुनकोसीमा एकथोपा पनि पानी बगेको छैन भने स्थानीय बासिन्दा त्रासमा रहेको लामोसाँघुका वासुदेव कार्कीले बताउनुभयो । रासस

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top