
मकैसिङ (गोरखा)- मकैसिङ–२, रातमाटेका वीरबहादुर चेपाङका नौ सन्तान छन्। चार छोरी, पाँच छोरा। सबैभन्दा जेठो छोरा २४ वर्षका। ४८ वर्षे वीरबहादुरकी कान्छी छोरी एक वर्षकी छन्। अहिलेका सन्तानलाई तीन महिना खान पुग्ने उब्जनी उनीसँग हुँदैन। तैपनि फेरि अर्को बच्चा जन्माउने तर्खरमा छन् दम्पती।
वीरबहादुरलाई बच्चा नजन्माउन के गर्नुपर्छ, थाहा छैन। सरकारले स्वास्थ्यसंस्था, स्वयंसेविकामार्फत निःशुल्क उपलब्ध गराउँदै आएको गर्भनिरोधक स्थायी र अस्थायी सामग्रीबारे पूरै अनभिज्ञ छन्। भन्छन्, 'जन्माउने रहर त होइन। के गर्नु, कसरी–कसरी भइहाल्छ।' धेरै सन्तान भएपछि उनले छोरीलाई पढाउन सकेनन्। भाइबहिनीको स्याहारसुसारमा अल्भि्कनुपरेपछि १८ वर्षीया सरिताले पढ्न नपाएकी हुन्।
गर्भनिरोधक सामग्री धेरै महँगो पर्ने र खर्चले धान्न नसक्ने अन्धविश्वास व्याप्त छ, चेपाङ समुदायमा। व्यवस्थित परिवार नियोजन र त्यसका फाइदाबारे उनीहरूलाई कुनै चासै छैन। त्यसमाथि अगुवा बूढापाका आफूहरूको जनसंख्या थोरै रहेकाले धेरैभन्दा धेरै सन्तान जन्माउन उक्साउँथे। 'पहिलेका पुस्ता हाम्रो जनसंख्या थोरै छ, धेरै बच्चा जन्माउनुपर्छ भन्थे। त्यही भएर पनि वर्षैपिच्छे पाइँदै गइयो,' वीरबहादुर सुनाउँछन्, 'रोक्ने उपायतिर त सोचाइ नै थिएन।'
भुम्लीचोक–८ थुम्काकी लालमाया चेपाङको १४ वर्षको उमेरमा बिहे भयो। उनले ११ सन्तान जन्माइन्। पाँच शिशु अवस्थामै मरे। ६ जना बाँकी छन्। उनले गर्भनिरोधक साधन कहिल्यै प्रयोग गरिनन्। 'अहिले त गर्भ बस्नै छाड्यो,' उनी भन्छिन्। पतिपत्नीको निमेकका भरमा यी सन्तान पालिएका छन्। गर्भनिरोधका साधनबारे सुने पनि प्रयोगबारे उनीहरूलाई थाहा छैन। पैसा धेरै खर्चनुपर्छ भन्ने बुझाइले चेपाङ समुदायलाई सहजै पाइने सुविधाबाट टाढा पुर्या एको छ। 'बढी खर्च गर्नुभन्दा बच्चा जन्माउनै सजिलो,' उनीहरू ठान्छन्।
घ्याल्चोकका जितबहादुरका ८ सन्तान छन्। पहिलो पत्नीबाट हरेक दुई वर्षका दरले ६ छोरी जन्मिए। उनको मृत्यु भएपछि चार वर्षअघि पुनर्विवाह गरेका जितबहादुरले फेरि दुई छोरा जन्माएका छन्। सक्दो धेरै सन्तान जन्माउनुपर्नेमा विश्वास गर्छन् उनी।
भुम्लीचोक, ताङ्लीचोक, घ्याल्चोक, मकैसिङलगायत गोरखाका आधा दर्जन गाविसमा ६ सय चेपाङ परिवारको बसोबास छ। समुदायका अगुवा सहजकर्ता चित्रबहादुर चेपाङ भन्छन्, '७५ प्रतिशतले अहिले पनि गर्भनिरोधक साधन प्रयोग गर्दैन, उनीहरू यसबारे अनभिज्ञ छन्।' धेरै बच्चा जन्माउनुलाई ईश्वरको वरदान ठान्ने परम्परागत सोचका कारण पनि अस्थायी साधन प्रयोग गर्ने निकै कम रहेको उनी बताउँछन्। भन्छन्, 'अहिले हामीजस्ता नयाँ पुस्ताले अस्थायी साधन प्रयोग गर्न थालेका छौं। अघिल्लो पुस्तालाई यसबारै ज्ञानै थिएन। थाहा पाएका भए पक्कै प्रयोग गर्थे।'
चेपाङहरू शैक्षिक स्तरमा पनि अन्य समुदायभन्दा निकै पछाडि छन्। चेपाङ संघका केन्द्रीय सचिव आइतसिंङ चेपाङ भन्छन्, 'चेपाङ समुदायलाई छुट्टै किसिमले शिक्षा दिने प्रणाली नहुँदासम्म शैक्षिक स्तर उठ्न सक्दैन।' अशिक्षाकै कारण स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा चेपाङ समुदाय पछि परेको र सधैं भोकमरीको समस्या झेल्नुपरेको उनको भनाइ छ। करिब ९० प्रतिशतभन्दा बढी किशोरी १२/१३ वर्षमै बिहे गरी १६ वर्ष नपुग्दै आमा बन्छन्। यो परम्पराले पनि एउटै परिवारमा थुप्रै सन्तान हुने गरेका हुन्। धेरै बच्चा जन्माउँदा हुने आर्थिक भार र स्वास्थ्यसमस्याबारे बुझाउन भन्झट मान्ने, अस्थायी साधन प्रयोगबारे सिकाउन असहज मान्ने परिपाटीले पनि पारिवारिक भार थपिएको नयाँ पुस्ताका चेपाङ बताउँछन्।
चेपाङ समुदाय परम्परागत कुरामा बढी विश्वास गर्ने भएकाले उनीहरूलाई शिक्षा पनि त्यही तरिकाले दिनुपर्ने ठान्छन्, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठ। भन्छन्, 'चेपाङ परम्परामा विश्वास गर्छन्। त्यसैले उनीहरूकै धर्मगुरुमार्फत गर्भनिरोधका साधनबारे शिक्षा दिन सकियो भने मात्रै उपयुक्त हुन्छ।' स्वास्थ्यकर्मीलाई भन्दा आफ्नै समुदायका धर्मगुरु, पुरोहितले भनेको विश्वास गर्ने भएकाले धर्मगुरुलाई नै यससम्बन्धी ज्ञान दिँदा समुदाय सचेत हुने उनी बताउँछन्। पहिलेभन्दा चेपाङको चेतनास्तर केही उकासिए पनि स्वास्थ्यक्षेत्रमा सोचेजति सुधार गर्न नसकिएको श्रेष्ठ स्विकारर्छन्। 'यस वर्ष चेपाङ समुदाय लक्षित स्वास्थ्यशिविर र कार्यक्रम गर्ने योजनामा स्वास्थ्य कार्यालयले बनाएको छ,' उनले भने।
