‘जात’ खोज्दै कालीकोटका कालीबहादुर - बविता बस्नेत

0
‘दुइटा बिहा गर्ने पुरुषकी जेठी श्रीमतीलाई सरकारले पैसा दिँदैछ रे भन्ने सुनेँ, गाउँमा धेरैले दुइटा बिहे गरेका छन्, मेरी त एउटी मात्र जोइ छिन्, दुई बिहा गर्नेले पैसा पाउने भए मेरो घरमा मात्रै पैसा नआउने भो, मलाई दुई बिहा नगरेकोमा ठुलो पछुतो छ ।’ यही असार १७ गते मंगलबार कालीकोट थिर्पु गाविसका कालीबहादुर विटालुले यस पङ्क्तिकारसँग भने । कसले सुनायो तपाईंलाई यस्तो कुरा ? भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘खै, गाउँमा त्यस्तै हल्ला छ, अस्तिभर्खरै गाउँका केही महिलालाई सदरमुकाम बोलाइएको थियो ।’ पछि बुझ्दा कुनै एउटा गैरसरकारी संस्थाले जिल्लामा बहुविवाहको तथ्याङ्क राख्नका लागि काम सुरु गरेको रहेछ, त्यसै क्रममा केही महिलालाई गाउँबाट बोलाएर कुराकानी गरिएको रहेछ । त्यसपछि गाउँभरी हल्ला फैलिएछ, दोश्रो विवाह गरेका जेठी श्रीमतीले त अब पैसा पाउँछन् रे, सरकारले नै पैसा दिने भो रे ।

यस प्रकारको हल्ला फैलिएको दिनदेखि सो गाउँमा एक मात्र विवाह गर्ने पुरुषहरूको निन्द्रा हराएछ । हेर ! दुई वटा बिहे गरेको भए अहिले जेठी श्रीमतीले पैसा पाउने रै’छ भनेर पछुतो मानिएछ । तिनै पछुतो मान्नेमध्येका एक थिए कालीबहादुर । ‘त्यस्तो होइन, क्षतिपुर्ति, पैसा या अंश जे दिलाउनु परे पनि लोग्नेबाटै दिलाउँछ, सरकारले दिँदैन’ भन्ने जवाफ पाएपछि अलि ढुक्क झैँ देखिएका उनले भोलिपल्टको भेटमा भने– ‘धेरै दिनपछि हिजो मज्जाले निदाएँ । कुरा सुनेको दिनदेखि मैले किन अर्को बिहे गरिनछु भनेर पछुतो भएको थियो ।’ यसरी जसले जे भन्यो त्यही पत्याइदिनेको सङ्ख्या ठुलो छ कालीकोटमा । एकातिर हरेक कुरामा च्याँखे थापेर जताबाट पनि आफ्नो फाइदा मात्र लिनेहरूको जमात छ भने अर्कोतिर यस प्रकारका जे पायो त्यही कुराले बेला–बेलामा गाउँघरमा सनसनी फैलाइदिन्छन् । त्यसो त, जहाँ पनि राम्राभन्दा नराम्रा कुरा छिटो फैलिन्छ, त्यसमा पनि कालीकोटमा यस प्रकारको चलन बढि नै रहेछ । छुवाछुत, छाउपडीलगायतका कुरामा त झन् अनेक प्रकारका कुरा व्याप्त भइ नै रहन्छन् । ‘माइण्ड सेट’ यस्तो छ कि होइन भनेर भन्नेहरूलाई नै एक्लो झैँ बनाइन्छ । जसले गर्दा परिवर्तनका लागि कार्यरत विकासे कार्यकर्ताहरूलाई गाउँ–गाउँमा ठुलो चुनौति छ । 

अन्तरजातीय विवाह गर्दा जात घटेर ठकुरी रातारात दलित भएका घटनादेखि अनेक घटना–सन्दर्भहरू कालिकोटमा सुन्न पाइन्छ । कालीबहादुरकै जीवन पनि जात खोज्दाखोज्दै बित्न लागि सक्यो, तर उनले अहिलेसम्म पाएका छैनन् । पचासआसपासका उनले जातका लागि अड्डा अदालत धाए, आफन्त गुहारे तर केही लागेन । कालीबहादुरका हजुरबुबा धनपति बम ठकुरी थिए । गाउँमा उनको ठुलो मान–सम्मान थियो । त्यतिबेला ठकुरी भएपछि खासै विज्ञता चाहिँदैनथ्यो, जातकै आधारमा उनीहरू ‘ठुलाबडा’ मानिन्थे । अहिले पनि ठकुरी र अन्य जातको बोलीचाली फरक छ । तिनै ठुलाबडा धनपति बमले कान्छी श्रीमतीको रूपमा दलितसँग बिहे गरेछन् । दलित महिलासँग विवाह गरेपछि प्रचलनअनुसार उनको मान–सम्मान स्वाट्टै घट्ने त भयो नै, दलिततर्फबाट जन्मिएका छोराछोरीलाई जात पनि दिइएनछ । तिनका बच्चा जन्मिएपछि गाउँले ‘भलाद्मी’ले ‘बिटालु’ थर राखि दिएछन् । दलितसँग बिहे गरी आफु बिटुलो भएर बच्चा जन्माएकाले थरै बिटालु ! ठकुरी खलकले जात नदिएपछि सम्पत्ति पनि दिनु परेन । पाखोबारीमा सानो घर बनाएर उनकी हजुरआमाले छोराछोरी हुर्काइन् । छरछिमेक, नातागोता, आफन्त सबै ठकुरी भएर पनि उनको परिवार दलित बन्यो ।

नाता–सम्बन्ध कसैले फर्किएर हेरेनन् र जन्म–मृत्यु कुनै पनि संस्कारमा सहभागी बनाइएन । कालान्तरमा कालीबहादुरका बाबु जुन ब्यवहार खपेर हुर्किए उनका छोराछोरीमा पनि उही कुरा दोहोरियो । धनपति बमका अन्य सन्तान ठकुरी बने, तर दलित महिला तर्फकालाई भने दलित बनाइयो । कालीबहादुरका बाबुले बिवाह गर्नका लागि ठकुरी या क्षेत्रीकी छोरी भेट्ने कुरै भएन । हजुरआमाकै नाताकुटुम्ब पहिलाउँदै बिहे गरे । कालीबहादुर र उनका दाजुभाइ दिदीबैनी पनि त्यसैगरी हुर्किए, उसैगरी धार्मिक, सांस्कृतिक कार्यहरू गर्दै गए । आफु बम ठकुरीको छोरा भएकाले बम लेख्न पाउनुपर्ने भनी उनी अड्डा–अदालत धाए, आफन्त गुहारे, तर कसैले साथ दिएन । अन्तत: उनको पनि नागरिकतामा थर लेख्दा बिटालु नै लोखियो । जिल्लामा बिटालु थर भएका न त कोही छन् न त बिटालु थर नै नेपालमा कायम छ । उनका बाबुको नागरिकता बनाउँदा गाउँमा सर्जमिन गरेर बिटालु थर दिइयो, त्यही लोखियो नागरिकतामा । त्यसपछि बाबुको नागरिकताको आधारमा छोराछोरीले सोही थरबाट नागरिकता पाए ।

अहिले उनका छोराहरू आफ्नो पुस्ता खोज्न थालेका छन् । हामीलाई सम्पत्ति चाहिँदैन थर मात्रै देउ भन्न थालेका छन् । तर बाबुबाजेहरूले वास्ता गरेका छैनन् । कालीबहादुर भन्छन्– ‘मेरा त न नाता भए न आफन्त नै । आफुलाई दलित भनौँ मावलीबाहेक कोही छैनन् आफ्ना, ठकुरी भनौँ आफन्तहरूसँग कुनै साइनो छैन । चाडबाड टिकाटालो आफ्ना बाउबाजेका सन्तानसँग मिसिन पाईंदैन । दलितमा पनि धेरै थरी दलित छन्, म कुन दलित त ? हजुरबुबाले गरेको गल्तीको सजाय म र मेरा सन्तानले किन भोग्ने ? मैले त यही लडाइँमा जीवन बिताउन लागिसकेँ, मेरा सन्तानले कहिलेसम्म सङ्घर्ष गर्ने ?’ हुन पनि थिर्पु गाविस वडा नंबर ३ मा (जहाँ उनको परिवार बस्छ) मात्र नभएर जिल्लामा अन्यत्र कतै बिटालु भेटिँदैनन् । उनका लागि न त दलित नै आफ्ना भए न त ठकुरी । वरिपरी ठकुरीको बस्तीमा उनको परिवार बिटालुको रूपमा बस्छ । अहिले उनका छोराले क्षत्रीकी छोरी विवाह गरेका छन् । कालीबहादुर भन्छन्– ‘मलाई धेरै अप्ठ्यारो छ, हलो जोतेर खाउँ ठकुरीको नाती भएर बाबुबाजेले कहिल्यै नगरेको काम हलो जोत्न मिलेन, (उनको बस्तीमा ठकुरीले हलो जोत्ने चलन रहेनछ) आफ्नै काम गरौँ प्रसस्त जग्गाजमिन छैन ।

दलित भएर केही काम गरौँ कुनै सीप जानेकै छैन । अरू दलितको पो बाउबाजेले सिकाउँछन् र जान्दछन्, मेरो त कसले सिकाउने ?’ हुन पनि उनको परिस्थिति तमाम कालीकाटवासीभन्दा अलि फरक नै छ । भातको खोजीमा त हामी जो कोही हिँडिरहेकै छौँ, तर यसरी जातको खोजीमै हिँड्ने या हिँड्नुपर्ने मानिस भने कमै भेटिन्छन् । बिटालु भनेपछि मान्छेहरूले सोध्दारहेछन्– ‘के हो यो बिटालु भनेको ?’ यस्तो बेलामा हेरकपल्ट उनले हजुर’बाको प्रेम र विभेदको कहानी बताउनु पर्छ । गणतन्त्रले ल्याएको जातजातिको पहिचानको कुरा उनको पहुँचभन्दा टाढा छ । भन्छन्– ‘मेरो जिन्दगी त यसै बित्न लाग्यो नै, सन्तानलाई आफ्नै थरको नागरिकता दिलाउन पाए मनले शान्ति पाउँथ्यो ।’
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top