
२ असार, काठमाण्डौ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको मिति पाँचौ पटक तोकिएको छ । माउ पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको नेविसंघको केन्द्रीय समिति बैठकले आगामी भदौ २९, ३० र ३१ मा ११ औँ महाधिवेशन गराउन पार्टीसमक्ष प्रस्ताव लैजाने निर्णय गरेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
पटक-पटक महाधिवेशनको मिति तोकिए पनि स्थगित हुँदै आएको नेविसंघको महाधिवेशनको पाँचौ पटक भदौँ २९, ३० र ३१ मा सम्पन्न गराउनका लागि माउ पार्टीसमक्ष प्रस्ताव लगिने भएको हो । नेविसंघको अध्यक्षबाट प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने जिम्मेवारीका साथ नेतृत्वमा आएका रञ्जित कर्णले ३० महिनापछि पाँचौँ पटक महाधिवेशनको मिति घोषणा गरेका हुन् ।
यस्तै बैठकले अधिवेशन हुन बाँकी क्याम्पस तथा जिल्लाको अधिवेशन असार भित्रमा गराउने र असार १५ भित्रमा महाधिवेशन प्रतिनिधी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।
विधानअनुसार महाधिवेशन प्रत्येक दुई-दुई बर्षमा हुनुपर्नेमा ७ वर्ष बित्दा पनि हुन सकेको छैन । यसअघि गएको जेठ २९, ३० र ३१ गतेका लागि तोकिएको महाधिवेशन अन्तिम समयमा आएर विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीले विशेष कारण भन्दै स्थगित गरेका थिए ।
