रिलयान्स इन्टर नेसनल एकाडेमीका विद्यार्थी संजोग कार्की २०७० सालको एलएलसी परिक्षामा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी बनेका छन् । उनीसँगै दृष्टि गिरीले पनि समान ९४.१२ प्रतिशत अंक ल्याएकी छिन् । भविश्यमा एस्ट्रोफिजिसिस्ट बन्ने रहर राख्ने कार्कीलाई यतिबेला बधाईको ओइरो लागको छ । कार्कीसँग उनको सफलताको रहस्य र अन्य समसामायिक विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादीत अंशः
एसएलसीमा सबैभन्दा बढी अंक ल्याउनुभयो । यसको श्रेय कसलाई दिनुहुन्छ ?
यसको श्रेय म मेरा गुरुबा, गुरुआमा तथा आमा–बुवालाई दिन चाहन्छु । वहाँहरुकै प्रेरणाले गर्दा आज मैले यो सफलता प्राप्त गर्न सके । यसमा मरो मिहिनेत पनि छ, तैपनि वहाँहरुको प्रेरणा र हौसलाले मलाई यो बाटोमा हिँड्न मद्दत गरेको हो ।
अहिले प्राप्त गर्नुभएको नतिजाबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट नै छु । तैपनि योभन्दा पनि धेरै ल्याउँछु भन्ने सोचेको थिएँ । खै के भयो, आफूले सोचे जति चाँही ल्याउन सकिन । एउटा विद्यार्थीलाई सफल बनाउन के–के कुराले प्रभाव पार्छ ? विद्यार्थी सफल वा असफल हुने भन्ने कुरा आमाको कोखबाटै नै निर्धारण हुने कुरा होइन । मेरो बारेमा भन्दा म अन्य विद्यार्थीभन्दा फरक छैन । उनीहरुभन्दा फरक त्यति धेरै केही पनि गर्दैन । उनीहरु जति पढ्छन्, म पनि त्यति नै पढ्छु । फरक यति मात्र हो, म जति पढ्छु, त्यो बुझेर पढ्छु । जहिले पनि पढ्दा मैले अंकको लागि भन्दा पनि ज्ञानको लागि पढें । एउटा कागजले मात्र मानिसको पूरा जीवन निर्धारण गर्न सक्दैन । त्यही भएर घोकेर पढ्नुभन्दा पनि बुझेर पढ्यो भने विद्यार्थी सफल हुन्छ जस्तो मलाई लाग्छ ।
कति घण्टा पढ्नु हुन्थ्यो ?
स्कूलभन्दा बाहेक म त्यही ४–५ घण्टा पढ्थे । कक्षा दशको सुरुवातदेखि नै यही अनुपातमा पढें । कहिले कम वा धेरै पढिँन । एउटा तालिका बनाएको थिएँ पढ्न, त्यही अनुसार पढ्थे ।
अब के बन्ने लक्ष्य लिनुभएको छ ?
यसमा एउटा सानो कथा सुनाउन चाहन्छु । हामी पाँच जना साथीहरु थियौं, म, सुजन नेपाल, विज्ञ आचार्य, केशव चालिसे र प्रताप श्रेष्ठ । हामी यहाँ सानै देखि सँगै पढ्थ्यौं । त्यतिबेलामा हामी मान्छे चन्द्रमा गएको भन्ने बारे पढ्थ्यौं । त्यति बेला हामीलाई हामी पनि त्यस्तै हुनुपर्छ भन्ने सोच्यौं । हामीलाई पनि भुगोलविद् हुनुपर्छ भन्ने लाग्यो । यसबाट रकेट इन्जिनियरिङतर्फ जाने सोँच बनायौं । अब हामी यही अनुसारले पढ्नुपर्छ भनेर प्रण पनि ग¥यौं । त्यति बेला हामी सायद कक्षा १ मा पढ्थ्यौं होला । तर विस्तारै हामी साथीहरु छुटिदै गयौं, कतिले त्यो सपना पनि बिर्से । अरु साथीहरु मध्ये विज्ञ आचार्य नेपाली राजदूतका छोरा थिए । ऊ आफ्नो बाबासँगै विदेश गयो । तर, अहिले ऊ नेपाल आएको छ । अरु साथीहरु मध्ये ऊ अहिले पनि नासामा काम गर्छु भन्दै छ । त्यसपछि केशव चालिसे पनि यही नै गर्छु भन्दैछ । म पनि त्यही सपनामा नै अडिग छु, म नासामा नै काम गर्न चाहन्छु । पाँच जनामध्ये हामी तीन जना अझै हाम्रो सपनामा अडेका छौं । हेरौं कहाँसम्म लान्छ यो सपनाले ।
तपाईंले त यत्रो अंक ल्याउनुभयो तर अहिले एसएलसी दिने लगभग आधा विद्यार्थीहरु फेल भएका छन् । तपाईंको विचारमा हाम्रो शिक्षा प्रणाली कस्तो छ ?
नेपालमा व्यावहारिक शिक्षा नै छैन । विद्यार्थीहरुलाई साँचिक्कै ज्ञान दिने भन्दा पनि किताबमा लेखेको मात्र जबरजस्ती कोच्ने रहेका छौं । अझ, शिक्षामा राजनीतिकरण गर्ने प्रवृत्तिले शिक्षा क्षेत्रलाई अझ धरायसी बनाइरहेको छै । यसले विद्यार्थीको मानसिकतामा एक प्रकारको त्रास फैलाउँछ । अब यस्ता कृयाकलापहरु बन्द गरेर अविलम्ब शिक्षा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ । राजनीतिक दलहरुले गर्ने बन्द, हड्ताल आदि बाट विद्यालयलाई मुक्त राख्नुपर्छ । ‘नेपाल बन्द छ भन्दा पनि नेपाल बन्दै छ’ भन्ने नारालाई अघि बढाउनुपर्छ ।
के–के परिवर्तन गर्नुपर्छ हाम्रो शिक्षा नीतिमा ?
पूरै शिक्षा नीति बदल्नुपर्ने देख्छु । निजी र सरकारी स्कूलहरुको नतिजामा अन्तर हेर्नुहोस् । निजी विद्यालयमा सबै सुविधाहरु छन् विद्यार्थीका लागि । तर, सरकारी विद्यालयमा एउटा दक्ष शिक्षक छान्ने सही प्रक्रिया पनि छैन । सबैतिर दक्ष शिक्षक र व्यावहारिक शिक्षा लागु गराउने नीतिको आवश्यकता छ ।
तपाईंको स्कूल रिलायन्स इन्टरनेसनल एकाडेमीको पढाउने तरिका चाहीँ कस्तो छ ?
यहाँ त सकेसम्म सरहरुले व्यावहारिक रुपमा नै पढाउने प्रयास गर्नु भएको छ । हामीलाई अतिरिक्त कृयाकलापहरुमा पनि सहभागी गराउनुहुन्छ । यसले हामीले सँधै नयाँ कुरा सिक्न र जान्न मद्दत गरिराखेको थियो ।
नेपाल अहिले नयाँ संविधान लेख्ने प्रक्रियामा छ । के तपाईंहरुलाई पनि यसबारे चासो हुन्छ ?
संविधान नहुँदा सबैभन्दा मारमा हामी विद्यार्थीहरु परेका छौं । ला, नेपालमा त संविधाननै छैन भनेर टेन्सन पनि हुन्छ । संविधान बनाउन त्यत्रो रकम खर्च गरिसकेका छन् । पहिलो संविधानसभाको सबै पैसा खेर गयो । त्यो पैसा अहिले शिक्षा क्षेत्रमा लगानी गरेको भए, कति राम्रो प्रतिफल आउँथ्यो । यसबाट बरु दक्ष सभासद् नै जन्मिन्थे । अहिलेका सभासद्हरुको शैक्षिक योग्यता हेर्नुहोस् । यस्ता कुराले पनि हाम्रो शिक्षा क्षेत्रलाई अझ पछि धकेली राखेको छ ।

