काठमाण्डौ, २०७१ असार ४ गते
बाल श्रम शोषण र घरेलु हिंसा गरेको भन्दै कास्कीको लेखनाथकी एक महिलालाई ५० हजार रुपैया क्षतिपूर्ति तिराइृएको छ । पाल्पा घर भै लेखनाथ कालिका चोकको एक घरमा वस्दै आएकी बालिकालाई घरभेटीले श्रम शोषण तथा हिंसा गरेको भन्दै क्षतिपूर्ति वापत ५० हजार रुपैया तिराईएको हो ।
लेखनाथ कालिका चोककी गिता रानाभाटले पाल्पाकी एक बालिकालाई घरमा काम गर्न राखेको र बेला बेलामा हिंसा गर्ने गरेको भन्दै उनिविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
भवानी कालिका उच्च मा.वि कक्षा नौ मा अध्ययन गर्ने आफ्नै सहपाठीलाई ति महिलाले बारम्वार यातना दिएको भन्दै बालबालिकाले नै प्रहरीमा उजुरी दिएका थिए । बालबालिकाको उजुरी पछि प्रहरीले ति बालिकालाई उद्धार गरी पिडक रानाभाटलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकी रानाभाटका पक्ष र बालबालिकाहरुका विच पिडितलाई ५० हजार रुपैया क्षतिपूर्ति दिने सहमति भएपछि रानाभाट हिरासतमुक्त भएकी छन् ।
पाल्पा घर भएकी उनिहरुकी सहपाठी विद्यालयमा लगातार ढिलो आउने, आफु वसेको घर मालिक्नीले कुटपिट गरेको भन्दै साथीहरुसँग रुने गरेपछि डाँडाको नाक प्रहरी चौकीमा बालबालिकाहरु कारवाहीका लागि निवेदन सहित पुगेका थिए । प्रहरीले बालबालिकाको उजुरी पछि पिडक रानाभाटलाई पक्राउ गरेको थियो । बालबालिकाले उजुरी लिएर आएकाले संवेदनशिल विषय भएको भन्दै कारवाहीका लागि आफुले जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा बालबालिका सेलमा पठाईदिएको इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाकका इन्चार्ज गंगावहादुर थापाले जानकारी दिनु भयो ।
बालबालिकाले आफ्नी सहकर्मीका पक्षमा आवाज उठाउँदै पिडितलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत पुगेका थिए ।
१४ बर्ष भन्दा मुनिकी आफ्नी सहपाठीलाई रानाभाटले बालश्रमका रुपमा राख्दै आएको र वेला बेलामा यातना दिने गरेकाले कारवाहीका लागि आफुहरु एकजुट भएको सन्तोषी गौतमले वताईन ।
उनले भनिन्—“ कानूनमा समेत १४ बर्ष भन्दा मुनिका बालबालिकालाई श्रममा लगाउनले प्रहरीकोमा उजुरी लिएर गएका हौ । ” उनले नगरका थुप्रै घरमा यसरी नै बालबालिकालाई घरेलु श्रमिकका रुपमा प्रयोग गरिएको हुन सक्ने भन्दै सम्वन्धीत निकायले ध्यान दिनु पर्नेमा जोड दिईन् ।
प्रहरी र विभिन्न संघसंस्थाको सहयोगमा आफ्नी सहकर्मीलाई उद्धार गरेपछि उनिहरुले संघर्ष नामक बाल क्लवको समेत स्थापना गरेका छन् । अवका दिनमा यस्ता घट्ना दोहोरिए सम्वन्धीत क्लवले न्यायका लागि लड्ने उनले उल्लेख गरीन ।
क्लवमा गौतम अध्यक्ष रहेकी छन् भने उपाध्यक्षमा प्रतिमा गुरुङ, सचिवमा प्रिति रानाभाट र कोषाध्यक्षमा अनु थापा रहेकी छन् । यस्तै सदस्यहरुमा रोजी परियार, विनिता अधिकारी र रोजिना कोइराला रहेका छन् । उनिहरुले सचिन लामालाई सल्लाहकारमा राखेका छन् ।
